२०१४ काे विश्वकप हेरेर हुर्कियाैँ, अहिले आफैँले खेल्न पाउँदा भाग्यमानी ठान्छु : कप्तान पाैडेल

 कात्तिक १७, २०८० शुक्रबार १८:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन् ।

आव शुक्रवार मूलपानी क्रिकेट मैदानमा यूएईलाई ८ विकेटले हराएर आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि कप्तान पाैडेलले यस्ताे प्रतिक्रिया दिएका हुन् । टिममा रहेका सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै २०१४ कै विश्वकप हेरेर हुर्किएको उल्लेख गर्दै उनले यस पटक आफैँ विश्वकप खेल्न पाउनु भाग्यमानी महसुस भएको बताए ।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको राेहितले बताए । यूएईका महत्त्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र त्यहीअनुसार सोमपालले उनलाई पभेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको उनले बताए । त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि यूएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको उल्लेख गरे ।

कप्तान राेहितले ब्याटिङमा कुशल भुर्तेलले राम्रो शुरुवात दिलाउँदा र आसिफ शेख अन्तिमसम्म बसेर इनिङ्स सम्हाल्दा सहज जित निकालेकाे बताए ।

दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यस पटक धेरै उत्साहित रहेको धारणा राख्नुभयो । जसरी पनि टी–२० विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको उनले बताए ।

ओपनर आसिफ शेखले पनि विश्वकप खेल्न लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । ठूलो खेलमा केही गर्छु भन्ने रहेको र अन्तिमसम्म खेल्छु भन्ने योजना अनुरूप सफल भएको उनले बताए । प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिए ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया