बाग्मती प्रदेशमा ५६ प्रतिशत परिवारलाई कृषिकाे आम्दानीले खानसमेत पुग्दैन

 कात्तिक २२, २०८० बुधबार १४:४६:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – बाग्मती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार बाग्मतीमा ५५ दशमलव नौ प्रतिशतलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने देखिएको हो । कृषि पेसा गर्ने र त्यसको आम्दानीले खान पुग्ने परिवार भने प्रदेशमा ४४ दशमलव एक प्रतिशतमात्र छन् । नेपालमा भने कृषिमै आश्रित भएर पनि यसको आम्दानीले खान नपुग्ने ५५ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले बताउनुभयो ।

बाग्मतीमा ७२ दशमलव छ प्रतिशत परिवारको आम्दानीको मुख्य स्रोत कृषि रहेको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पुराना प्रविधि हराउँदै गएको छ । फलामे हलोको प्रयोग घटेको छ भने ट्र्याक्टर र पावररट्रिलर प्रयोग गर्नेको सङ्ख्या बढेकाे छ । १४ दशमलव आठ प्रतिशत फलामे हलो, ३० दशमलव आठ प्रतिशत ट्र्याक्टर र १६ दशमलव सात प्रतिशत पावरट्रिलर प्रयोगकर्ता रहेको निर्देशक कार्कीले बताउनुभयो ।

तीन दशकमा नेपालमा कृषक परिवार सङ्ख्या र कृषकले भोगचलन गरेको जग्गामा वृद्धि भए पनि सरदर दुई पटकमात्र बाली लगाएको देखिन्छ । बाग्मती प्रदेशमा १५ लाख ७० हजारभन्दा बढी  घरपरिवार रहेकामा छ लाख ६८ हजार एक सय ७७ कृषक परिवार रहेको र दुई लाख ८२ हजार दुई सय ९२ हेक्टर जमिन कृषिमा  प्रयोग भएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा सरदर एक दशमलव ९१ प्रतिशत बाली सघनता रहे पनि प्रदेशमा भने दुई प्रतिशत अर्थात् दुई पटकसम्म बाली लगाएको पाइएको निर्देशक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा बगैँचाको रूपमा आँप पाँच सय ३२ हेक्टरमा, केरा एक हजार एक सय २० हेक्टरमा, सुन्तला छ सय ८८ हेक्टरमा, कागती चार सय ६० हेक्टरमा, स्याउ ८० हेक्टरमा लगाइएको छ ।

त्यस्तै प्रदेशमा गाईभैँसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै  यसको क्रम घट्दो देखिन्छ । गाईगोरु र राँगाभैँसीभन्दा खसीबाख्रा, सुँगुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बढेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा उत्पादन गरिएको वस्तु सबै घरायसी उपभोग गर्ने ६६ दशमलव चार प्रतिशत कृषक छन् भने केही वस्तु बिक्री गर्ने २५ प्रतिशत, केही घरायसीका लागि राखी सबै बिक्री गर्ने सात दशमलव चार प्रतिशत र सबै वस्तु बिक्री गर्ने शून्य दशमलव नौ प्रतिशत रहेका छन् ।

युवाहरू विदेशिने भएका कारण पनि नेपालमा पछिल्लो समय कृषिमा महिलाको सङख्या बढ्दो छ । विगत तीन दशकदेखिको नतिजा हेर्दा अहिले महिला कृषकको सङ्ख्या वृद्धि भएको निर्देशक कार्कीले बताउनुभयो । नेपालमा ३२ दशमलव चार प्रतिशत महिला कृषक छन् भने बाग्मती प्रदेशमा मुख्य कृषकको रूपमा महिला ३७ दशमलव दुई प्रतिशत र पुरुष ६५ दशमलव आठ प्रतिशत रहेका छन् । विसं २०५८ को गणनामा महिला आठ दशमलव एक प्रतिशत र पुरुष ९१ दशमलव नौ प्रतिशत कृषक थिए ।

किसानको मुख्य चिन्ता भने समयमै मल, बिउ उपलब्ध नहुनुमा छ । कृषि गणनामा सहभागीमध्ये ५७ प्रतिशतले समयमै मल, बिउ उपलब्ध भए उत्पादन बढाउन सकिने बताए । त्यस्तै ४८ प्रतिशतले सिँचाइको व्यवस्था, २७ प्रतिशतले कृषि कार्यका लागि तालिमको व्यवस्था, २७ प्रतिशतले कृषि प्राविधिक सेवा सहज, २२ प्रतिशतले कृषि औजार एवम् आधुनिक साधन, १८ प्रतिशतले उन्नत नश्ल सुधार र उन्नत बिउबीजन, १२ प्रतिशतले कृषि उत्पादनको उचित बजार व्यवस्था र ११ प्रतिशत कृषकले शून्य ब्याजदर वा सस्तोमा ऋण उपलब्ध गराउन सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया