पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी

 मंसिर ४, २०८० सोमबार १९:३५:५० | रासस
unn.prixa.net

काठमाण्डाै – गएकाे शुक्रवार र शनिवार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍याे । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक पुगेपछि उनीहरूलाई सुताउन र खाना खुवाउन व्यवसायीहरू २४ सैँ घण्टा व्यस्त भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सुनाउनुभयो ।

अन्नपूर्ण क्षेत्र पनि यतिबेला चलायमान बनेको छ । त्यस क्षेत्रमा कात्तिकयता २४ हजार पर्यटक पुगेका छन् । पर्यटकको सङ्ख्या अत्यधिक हुँदा लामो समयपछि पदमार्गमा आश्रित पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ । यसरी घुम्न आउनेमा दक्षिण एसियाली देशका सात हजार चार सय ७९ र अन्य देशका १६ हजार नौ सय ३० जना पर्यटक छन् । अन्नपूर्ण संरक्षण क्षेत्र 'एक्याप' का प्रमुख डा. रविन कडरियाका अनुसार २०८० साल शुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक 'एक्याप' पुगेका छन् ।

दशैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरूको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । कुनै समय अधिक मात्रामा विदेशी पर्यटकहरू 'ब्यागप्याक' बोकेर हिमाल हेर्न पुग्ने गरेको भए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरूको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ । तिहारलगत्तै पर्यटकीय नगरी पोखरा पनि पर्यटकले भरिएको छ । काठमाण्डाै–पोखरा रुटमा एअरलाइन्सको टिकट पाउन मुस्किल छ ।

बङ्गलादेश, भियतनाम, चीन र भारतलगायत देशबाट विमान चार्टर्ड गरी पर्यटक आउने क्रम बढेकाले कोरोना महामारीपछि देशको पर्यटन क्षेत्रमा उत्साह थपिएको जानकारहरू बताउँछन् । नेपालको पर्यटन क्षेत्रबारे पछिल्लो समय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा हुन थालेको, विशिष्ट पाहुनाको नेपाल भ्रमण, अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनले पनि नेपालको पर्यटन क्षेत्रमा थप टेवा पुगेको छ ।

तनहुँको मानुङकोट र बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्दा त्यस क्षेत्रको आर्थिक गतिविधि बढेको छ भने यसले व्यवसायीको सक्रियता पनि बढाएको छ । मानुङकोटमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटक पुगेका छन् भने बन्दीपुरमा पछिल्लो समय २६ वटा देशका पर्यटक भित्रिँदा होटल भरिभराउ भएका छन् ।

उसो त यो याम नेपालको पर्यटन क्षेत्रका लागि अनुकूल मानिन्छ । दशैँ, तिहार र छठ पर्वको माहोलले पर्यटकीय गतिविधि पनि बढाएको छ । यसबाट देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने व्यवसायीको बुझाइ छ ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्ररूपमा पर्यटन क्षेत्र उत्साहजनक रहेको बताउनुभयो । ‘पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । पर्यटक आगमनको आँकडा पनि उत्साहवर्द्धक छ, योभन्दा धेरै पर्यटकलाई सेवा दिन पूर्वाधार तयार भइसकेको छ’, उहाँले भन्नुभयो ।

पछिल्लो समय होटलका काेठाकाे सङ्ख्या बढेका छन् । तारे होटल, केबलकारलगायतका पूर्वाधारमा खर्बाैँ लगानी भएकाे छ । यद्यपि 'सप्लाई' को तुलनामा माग कम भएकाले यो क्षेत्रलाई थप गतिशील बनाउन नसकिएको अध्यक्ष शाहको भनाइ छ । उहाँले भन्नुभयो, ‘पर्यटकीय पूर्वाधारमा लगानी धेरै भइसक्यो । लगानीको प्रतिफलका लागि व्यापार चाहिन्छ, छिमेकी देश भारत र चीनबाट बढीभन्दा बढी पर्यटक ल्याउन नीतिगत र संरचनागत सुधार जरुरी छ ।’

अध्यक्ष शाहले अहिले आइरहेका पर्यटकभन्दा तीन गुणा सङ्ख्यालाई सेवा दिन सकिने गरी पूर्वाधार तयार भइसकेका छन् । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका छन् भने चिनियाँ र भारतीय पर्यटक बढाउन नीतिगत र योजनागत कार्यक्रम आवश्यक भएको उहाँको भनाइ छ । उहाँले पर्यटकीय याममा तारे होटलमा चहलपहल बढे पनि साना होटलको व्यवसाय भने अझै फस्टाउन नसकेको उल्लेख गर्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भइसकेको र अबका दिनमा धेरैभन्दा धेरै विदेशी पर्यटक आकर्षण गर्न थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन हुनुपर्ने, गन्तव्य पुग्ने सडक स्तरोन्नति गरिनुपर्नेमा व्यवसायीको जोड छ ।

बढे पर्यटक, बढ्यो आम्दानी

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ जनवरीदेखि अक्टोबरसम्म आठ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाईमार्ग भएर एक लाख १७ हजार तीन सय छ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को यही अवधिमा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०१९ को यही अवधिमा एक लाख १३ हजार आठ सय १६ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्लो पर्यटक तथ्याङ्क हेर्दा देशको पर्यटन पुरानै लयमा फर्किएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा सकारात्मक बढोत्तरीले आउँदा दिनमा यो क्षेत्रमा उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहाल कोभिड महामारीपछि पर्यटन क्षेत्र झन्डै पुरानै लयमा फर्किएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘समग्रमा पर्यटन क्षेत्र सुधारोन्मुख छ । खड्किएको विषय भनेको गन्तव्य पुग्ने सडक बाटोको दूरावस्था, पदयात्रा क्षेत्रमा देखिएको बेथितिजन्य गतिविधिले पर्यटकको बसाइँ सन्तोषजनक बनाउन सकिएको छैन ।’

पर्यटन व्यवसायी दाहालले आउँदा दिनमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्न पूर्वाधार विकास, सडक स्तरोन्नति, नीतिगत सुधार, एकद्वार प्रणालीबाट सेवा प्रवाहजस्ता कामलाई प्राथमिकता दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले देशको पर्यटन क्षेत्र चलायमान बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले पर्यटक आगमन बढाउन र सेवा सहजीकरणका लागि नीतिगत सुधारका काम जरुरी भएको उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विदेशी पर्यटक आगमनबाट हुने आम्दानी बढेको छ । गएकाे आर्थिक वर्षकाे पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षकाे यही अवधिमा आम्दानी ५१ दशमलव तीन प्रतिशतले बढेर १७ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रुपैयाँ थियो ।

आर्थिक समृद्धिको आधार पर्यटन

एसियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले नेपालको पर्यटन क्षेत्र आर्थिक समृद्धिका लागि दरिलो आधार रहेको भन्दै आउँदा दिनमा पर्यटन क्षेत्रमा प्रशस्त लगानी र अवसरको सम्भावना औँल्याउनुभयो ।

गएकाे कात्तिक २३ र २४ गते काठमाण्डाैमा आयोजित एसियन बैंकर सङ्घको सम्मेलनमा उहाँले पर्यटन नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभएको थियो । एसियाका १८ देशका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधि सम्मिलित सम्मेलनका क्रममा भएका विभिन्न छलफलमा सहभागी विदेशी बैंकलगायत क्षेत्रका विज्ञहरूले नेपालको पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभएको थियो ।

त्यसैगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाण्डाैमा भर्खरै आयोजित एक कार्यक्रममा पछिल्ला दिनमा पर्यटनको सङ्ख्या उल्लेख्य वृद्धि भएकाले यसले आर्थिक वृद्धिमा टेवा पुग्ने धारणा राख्नुभएको थियो । उहाँले बिस्तारै अर्थतन्त्रले सकारात्मक बाटो लिएको, बाह्य सूचकाङ्क बढेको, रेमिट्यान्स, घरजग्गा कारोबार बढेको, पर्यटकको सङ्ख्या ऐतिहासिकरूपमा वृद्धि भएकाले यसबाट अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यही कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पनि एक महिनामै एक लाख बढी विदेशी पर्यटक नेपाल भित्रिनु समग्र अर्थतन्त्रका लागि सकारात्मक रहेको र यसले अर्थतन्त्रको सबलीकरण हुने उल्लेख गर्नुभएको थियो । ‘समग्र अर्थतन्त्रका सूचक सकारात्मक छन्’, उहाँले भन्नुभयो, ‘विदेशी पर्यटक आगमन ऐतिहासिकरूपमा बढेको छ । यसले भोलिका लागि बाटो खुलेको छ । पर्यटन क्षेत्रका लागि प्रशस्त पूर्वाधार बढिरहेकाले देशको समग्र अर्थतन्त्र राम्रो हुँदै जानेछ ।’

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भर्खरै गर्नुभएको नेपाल भ्रमणले विश्वबजारमा सकारात्मक सन्देश प्रवाह भएको छ । गुटेरेसकाे चारदिने नेपाल भ्रमणका क्रममा नेपालका प्रख्यात पर्यटकीय गन्तव्यको भ्रमणले नेपालको पर्यटन विश्वबजारमा प्रवर्द्धन भएको व्यवसायीको बुझाइ छ ।

महासचिव गुटेरेसले चर्चित सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पर्यटकीय नगरी पोखरा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वकाे सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्दै उत्सुकतापूर्वक जानकारी लिनुभएको थियो । महासचिव गुटेरेसको गतिविधि संसारभरका सञ्चारमाध्यमले सम्प्रेषण गर्ने भएकाले त्यस भ्रमणले नेपाल गन्तव्यको प्रभावकारी पर्यटन प्रवर्द्धन भएको र यसबाट बढीभन्दा बढी विदेशी पर्यटकको नेपाल आगमन हुने पर्यटन व्यवसायीको विश्वास छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया