तनहुँकाे शुक्लाफाँटामा विदेशबाट फर्किएकाहरुकाे तथ्याङ्क सङ्कलन

 मंसिर १०, २०८० आइतबार १३:४०:४८ | रासस
unn.prixa.net

कञ्चनपुर - वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम शुरु गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो । स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताउनुभयो ।

'तथ्याङ्क सङ्कलनका लागि नगरपालिकाका १२ वटै वडामा परिपत्र गरिसकेका छौँ', उहाँले भन्नुभयो, 'वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वडामा उपलब्ध गराइएको फारममा नाम, वैदेशिक रोजगारीमा गएको देश, सिकेको सीप, ठेगाना र सम्पर्क नम्बर, चाहिने सीपबारे विवरण भर्नुपर्ने छ ।'

उहाँका अनुसार विवरण सङ्कलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिने छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै व्यवस्थापकीय सीपमूलक तालिम प्रदान, परम्परागतरूपमा सञ्चालित पेसाको आधुनिकीकरण तथा बजारको माग, व्यक्तिको क्षमताअनुरुप रोजगारीको व्यवस्था गर्न सहजीकरण गरिने उहाँको भनाइ छ । 

 यससँगै रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीयरूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

गएकाेआवमा नगरपालिकामा  विदेशबाट फर्केका ९० जनाको विवरण सङ्कलन गरिएको थियो । जसमा भारत, मलेसिया, साउदी अरब, ओमान, बहराइन, कतार, दुबई, यूएई, रोमानियालगायतका देशबाट फर्केका व्यक्ति रहेका थिए । विवरणमा समेटिएका व्यक्तिले गार्मेन्ट, कृषि, गाडी चालक, सरसफाइ, डिजिटल मार्केटिङ, रेष्टुरेन्ट अपरेटर, डकर्मी, सिलाइकटाइ, फर्निचर मेकर, स्काफ फोल्डिङ, पेन्टिङ, प्लम्बिङ, मार्बल, फुड प्याकेजिङ, पीओपी, सेफ, पशुपालनसम्बन्धी तालिमको माग गरेका थिए । 

तथ्याङ्क सङ्कलन गरिएकामध्ये २० जनालाई सीपमूलक सिलाइकटाइ तालिम दिइ व्यवसाय उन्मुख गराइएको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । चालु आवमा पनि मागका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया