मधेश प्रदेश सभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव

 मंसिर २०, २०८० बुधबार २०:३०:५ | रासस
unn.prixa.net

फाइल तस्बिर

जनकपुरधाम – मधेश प्रदेश सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार सङ्घीय सरकारबाट प्राप्तिका लागि यथाशीघ्र पहल गर्न निर्देशन दिइयोस् भनेर पेस भएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

आजको प्रदेश सभा बैठकमा नेकपा एमालेका तर्फबाट पार्टीको संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले यो प्रस्ताव सभासमक्ष पेस गर्नुभएको थियो । बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख बबिता राउत ईशरले यो प्रस्ताव निर्णयार्थ पेस गर्दा ध्वनी मतका आधारमा सर्वसम्मतिले पारित भएको प्रदेश सभामा घोषणा गर्नुभयो ।

त्यसअघि यो प्रस्तावमा नेपाली कांग्रेसका कुमरकान्त झा, जीवछी कुमारी यादव, जनता समाजवादी पार्टी (जसपा) का रामआशीष यादव, सरोजकुमार सिंह, जनमत पार्टीका सञ्जयकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रानी शर्मा तिवारी, नेकपा एकीकृत समाजवादीका रत्नेश्वर गोइत, नेकपा माओवादी केन्द्रका माला कर्ण, नेकपा एमालेका राजकुमार लेखी र स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्धप्रसाद सिंहसहितले समर्थन जनाउनुभएको थियो ।

त्यसैगरी सङ्कल्प प्रस्तावका विषयमा धारणा राख्दै मुख्यमन्त्री सरोजकुमार यादवले संविधानले प्रदान गरेको संवैधानिक अधिकार प्राप्त नहुँदा सङ्घीयताको पूर्ण कार्यान्वयनमा समस्या सिर्जना भइरहेको बताउनुभयो । त्यसैकारण सङ्घीयता र गणतन्त्र विरोधी आवाज उठिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री यादवले सङ्घीयता आएको आठ वर्ष र प्रदेश सरकार गठन भएको छ वर्ष बितिसक्दा पनि जनताले त्यसको अनुभूति गर्न नसकेको र प्रदेश सरकारसँग आफ्नो प्रहरी प्रशासन तथा निजामती कर्मचारी नभएकाले प्रभाकारी काम गर्न नसकिएको गुनासो गर्नुभयो । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया