सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
कञ्चनपुर – एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको भित्री मधेश क्षेत्र परशुराम नगरपालिका–६ चन्दनीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका निजी स्तरका शिक्षकले भोग्दै आएका छन् ।
विसं २०३१ मा स्थापना भएको विद्यालयले हजारौँ विद्यार्थी उत्पादन गरेर शिक्षा, स्वास्थ्य, कर्मचारी र राजनीतिक क्षेत्रमा दक्ष जनशक्ति दिएको भए पनि विद्यालयको आन्तरिक स्रोत नहुँदा समस्या छ । निजी स्रोतका शिक्षक एवम् कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताउनुभयो ।
‘स्थानीय सामुदायिक वनले विगतमा सहयोग गर्दा विद्यालय सञ्चालनमा अलि सहयोग पुगेको थियो’, प्रधानाध्यापक भट्टराईले भन्नुभयो, ‘केही वर्षयता वन पदाधिकारी मुद्दामा मुछिएपछि त्यो पनि बन्द भयो ।’ प्राविदेखि दश जोड दुईसम्म दुई सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २० जना शिक्षक कर्मचारी कार्यरत छन् ।
‘मैदानको घाँस बिक्रीबाट १५/२० हजार र अर्को स्कुलको एउटा घर प्रहरी चौकीलाई भाडामा दिँदा मासिक चार हजार रुपैयाँ आउँछ’, उहाँले भन्नुभयो, ‘त्योबाहेक विद्यार्थीको प्रमाणपत्र लिँदाको शुल्क र स्थानीयले दिएको चन्दा सहयोगले पनि जेनतेन निजी शिक्षकलाई तलब खुवाउनुपरेको छ ।’
विद्यालयमा कम्प्युटर सहायक, पुस्तकालय सहायक, परिचर र एक जना दश जोड दुई तहमा अध्यापनरत शिक्षक गरी चार जना निजी स्रोतका शिक्षक रहेका छन् । पालिका चुनावका बेला परशुराम नगरपालिकाले निजी स्रोतका शिक्षकलाई ३५ हजार रुपैयाँ मासिक दिने भनेर आश्वासन दिए पनि त्यो कार्यान्वयन नभएको प्रधानाध्यापक भट्टराईको गुनासो छ ।
‘नगरपालिकामै बोलाएर आश्वासन दिए पनि रकम प्राप्त भएको छैन’, उहाँले भन्नुभयो, ‘निजी स्रोतका शिक्षकलाई बिदाइ गर्दा पढाइ प्रभावित हुने चिन्ता छ ।’ उहाँले निजी स्रोतका शिक्षक कर्मचारीमा मासिक ८० हजार रुपैयाँ खर्च हुने गरेको जानकारी दिनुभयो ।
विद्यालयको मुद्दती खातामा रहेको रकमबाट मासिक ६० हजार रुपैयाँ ब्याज आउने भएकाले पनि केही राहत भएको उहाँको भनाइ थियो । विद्यालयमा सात जना शिक्षक स्थायी, चार जना निजी स्रोत र बाँकी नौ जना राहत र करारमा कार्यरत रहेका विद्यालय प्रशासनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।