अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी

 पुष ८, २०८० आइतबार १०:५:३९ | रासस
unn.prixa.net

सुनसरी - गएकाे वर्षको तुलनामा यस वर्ष अम्रिसाेको भाउ बढेपछि धनकुटाका किसान खुसी भएका छन् । धरानमा रहेकाे कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसाे प्रतिकेजी एक सय ५० रुपैयाँ मा किनबेच भइरहेको छ । 

गएकाे वर्ष यही समयमा प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका प्रायजसाे कृषक व्यावसायिक अम्रिसाे खेतीमा आकर्षित भएका छन् । अम्रिसाेको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्रिसाे तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताउनुभयो । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसाे बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । ओरालो र भिरालो ठाउँमा अम्रिसाेको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो । 

कुनै सयम बिक्री नभएर वस्तुचौपायालाई खुवाउने गरेकाेमा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसाे खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताउनुभयो । 'केही समय अगाडि प्रतिकेजी ९० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुने अम्रिसाे अहिले बढेर एक सय ५० रुपैयाँसम्म पुगेको छ', उहाँले भन्नुभयो, 'उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।'

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । 'जुन वर्ष अम्रिसाेबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छ', उहाँले भन्नुभयो । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उहाँले बताउनुभयो । 

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्यवृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्रिसाे निकालेर बेच्न शुरु गरिएको व्यापारी राईले बताउनुभयो । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उहाँको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसाे खेतीतर्फ आकर्षित हुन्।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्रिसाे खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसाेको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्रिसाेको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उहाँले बताउनु भयाे । 

'अम्रिसाेलाई प्रशाेधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छ', व्यवस्थापक भट्टराईले भन्नुभयो । यहाँ भारतीय व्यवसायी आफैँ आएर लैजाने गरेकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । 

वर्षमा ४५ देखि ५० मेट्रिकटनसम्म अम्रिसाे बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया