रुपन्देहीको रोहिणीमा बालिका बीमा कार्यक्रम : गाउँपालिकाले बालिकाकाे खातामा २० हजार राखिदिने

 पुष १७, २०८० मंगलबार १२:२३:१७ | रासस
unn.prixa.net

रुपन्देही - रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम शुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताउनु भयाे । 

बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिकरूपमा कमजोर परिवारलाई सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम शुरु गरिएको यादवले बताउनु भयाे। गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गर्ने भएकाे छ । यो कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास लिइएको यादवले बताउनु भयाे । 

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभइ बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताउनुभयो ।

'बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ', उहाँले भन्नुभयो,'अभियानअन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् ।' यसका लागि कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले २० हजार एकपटक राखिदिने  र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले आव २०७९/८० र २०८०/८१ मा एक सय ९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताउनुभयो ।

उहाँले आउँदाे वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया