परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
मे २ तारिख । यूएईको स्थानीय समय अनुसार दिउँसोको साढे चार बज्नै लागेको थियो । आबुधाबी एयरपोर्ट कार्गो टर्मिनलबाट ड्युटी सकेर फर्किंदै गर्दा मजाईद मल अगाडिको सिग्नलमा म लगायत अन्य केही साथीहरु चढेको गाडी रोकिएको थियो।
अचानक नयाँ नम्बरबाट फोन आयो र आफ्नो परिचयसहित मेरो स्वास्थ्यको बारेमा, काम गर्ने साथीहरुको बारेमा, मेरो ट्राभल हिस्ट्री लगायत आवासको बारेमा जानकारी लिन थालियो ।
जब मैले कारण सोधेँ, तब पो थाहा भयो मलाई फोन गर्ने महिला एभियसन नर्स रहिछन्, मेरो १२ दिन अगाडि गरिएको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको रहेछ ।
एक्कासी सुन्नु परेको खबरले म अलिकति भयभित भएँ । एकछिन त दिमाग शून्य भयो, निधारमा चिटचिट पसिना निस्कियो, शरीर आगो खन्याएजस्तो रन्किएर आयो ।
नर्सले भनेको कुरा सुनेर मात्र बसें । केही बोल्न सकिनँ । एक्कासी उताबाट के तपाईंलाई ठिकै त छ ?, मलाई सुनिरहनु त भएको छ नि ? भनेर अंग्रेजीमा सोधेको प्रश्नले मलाई फेरि पहिलेकै हालतमा ल्याइपुर्यायो ।
हत्तपत्त मैले पनि ‘मलाई ठिक छ, म अहिले आफ्नो आवास क्षेत्रतिर गइरहेको भन्नुस् न’ भन्दै अंग्रेजीमै जवाफ फर्काएँ । मेरो यो जवाफपछि ती नर्सले धेरै कुरा सम्झाइन् ।
‘तपाईं मात्र होइन, विश्वमा लाखौं मान्छेलाई कोरोना सङ्क्रमण भएको छ, यसलाई सामान्य रुपमा लिनुहोला । आफूमा आत्मबल बनाइराख्नुस् र शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नुस् । यदि अहिले कुनै लक्षण देखिरहेको छ अर्थात कुनै समस्या भएको छ भने हामीलाई जानकारी गराउनुहोस्, हामी आवश्यक उपचार गर्नेछौं ।
यदि त्यस्तो छैन भने पनि आफू काम गर्ने ठाउँको म्यानेजरलाई फोन गरेर ड्युटी बन्द गर्नुहोस् र आफूलाई आफ्ना अरु सहकर्मीबाट टाढा राख्दै आइसोलेसनमा बस्नको लागि म्यानेजरसँग कुरा गर्नुहोस् ।
जतिसक्दो चाँडो हामी तपाईंको पुनः परीक्षण गर्न गइरहेका छौं, त्यसैले भोलि बिहान ठिक ११ बजे इतिहाद मेडिकल सेन्टरमा पुग्नुहोला । सामान्य अवस्थामा फर्किन तथा काममा फर्कनको लागि निरन्तर दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनुपर्ने हुन्छ ।’
उनको यो हौसलापूर्ण सम्झाईले ममा एक प्रकारको उर्जा नै प्राप्त भयो । सँगै सिटमा बसेको पाकिस्तानी र घानाको साथीले मैले बोल्दै गरेको कुराको केही अंश बुझेछ्न् क्यारे । त्रसित मुद्रामा के भयो भनेर सोधे । मैले केही हैन भनेर टारिदिएँ । किनकी म पोजेटिभ रहेछु भनौं भने त्यहाँ अर्कै अवस्था सिर्जना हुन सक्थ्यो । हातमा पञ्जा अनि अनुहारमा मास्क लगाएकै थिएँ । गाडीमा बस्दा पनि एक आपसमा दूरी कायम गरेर नै बसेका थियौं ।
केही समयपछि आफ्नै कोठामा पुगेँ । के गर्ने के नगर्ने सोच्नै सकिनँ । मेरो लाइन म्यानेजरलाई फोन लगाएर उनलाई सबै कुरा बेलिबिस्तार सुनाएँ । उताबाट पनि सकारात्मक प्रतिक्रिया नै आयो ।
मलाई बस्नको लागि अलग्गै अपार्टमेन्टको व्यवस्था गरियो । त्यसको लगत्तै आफ्नो एकसरो लगाउने कपडा, ब्लाङ्केट अनि पकाउने भाँडाकुँडा पोको पारेर म अर्को अपार्टमेन्टमा सरें । खाना नास्ता लगायत सफाईमा प्रयोग हुने स्यानिटाइजर, मास्कहरु कम्पनीले नै दियो ।
यति हुँदासम्म मैले यो कुरा घरमा सुनाउने हिम्मत गर्न सकिनँ । जब अर्को अपार्टमेन्टमा पुगें, तब मलाई संक्रमणको केही लक्षणहरु देखा परेको हो कि भन्ने भान हुन थाल्यो । त्यो रातभरी ज्वरो आयो, लगातार खोकी पनि लागेर सुत्नै सकिनँ । पानी तताउने साधन केही बोकेकै थिइनँ । तर अचानक दिमागमा जुक्ति फुर्यो, मैले सानो प्रेसर कुकर बोकेको थिएँ, त्यसैमा पानी तताएँ । तातो पानी पिएपछि खोकी अलि कम भयोे ।
गुगल तथा यूट्युबमा सङ्क्रमितहरुका अनुभवहरु पढेँ र सुनेँ त्यसपछि झन् आत्मविश्वास बढ्दै गयो । मे ३ तारिख । बिहानको साढे दस बजे म स्टिम बाफ लिने तयारी गर्दै थिएँ, अचानक नयाँ नम्बरबाट फोन आयो । ‘भाइसाब मे इधर आपको पिकअप करने के लिए आया हुँ, आपका ११ बजेका अपोईन्मेट हे हस्पिटल मे’ उसले फोनमा भन्यो ।
ओहो ! मैले त हिजोको नर्ससँगको कुरा बिर्सेछु । हतारहतार कपडा बदलेर मास्क र पञ्जा लगाएँ । अनि मलाई लिन आएको कारको पछिल्लो सिटमा गएर बसें ।
सङ्क्रमित हुनबाट जोगिनलाई होला त्यो कारलाई विशेष तरिकाले ड्राइभरको सिटको पछाडि पट्टिबाट पुरै प्लास्टिक कभर गरिएको थियो । केहीछिनमा मेडिकल टिम भएको ठाउँमा पुगियो ।
आवश्यक परामर्श लिईयो । उनीहरुले सकेसम्म उमालेको पानीमा अदुवा, लसुन, बेसार लगायत मिलाएर पिउन सल्लाह दिए ।
यस्तै ज्वरो आयो भने पारासिटामोल खानु, बिहान बेलुका भिटामिन सी क्याप्सुल, त्यो नभए भिटामिन सी प्रचुर मात्रामा पाइने अनि रोगसँग प्रतिरोध गर्ने क्षमता भएका फलफूलहरु खानु भनेर सम्झाए ।
त्यसपछि पीसीआर परीक्षणको लागि एनएएस १ स्वाब दिएर त्यही कारमा कम्पनीले प्रबन्ध गरिदिएको आइसोलेसन रुममा फर्किएँ । रुममा आएलगत्तै केही साथीहरुलाई फोन लगाएँ । अनि आवश्यक पर्ने अदुवा, लसुन, बेसार, कागती तथा अन्य फलफूल ल्याईदिन आग्रह गरेँ । मलाई यो परिस्थितिमा साथ दिने साथीहरुप्रति सदैव आभारी रहनेछु ।
अदुवा, लसुन अनि बेसार अलग–अलग उमालेर पिउँदा पिउँदा त्यही कुरामा बानी बस्यो ।
अहिले पनि म नियतित रुपमा यसैगरी तातोपानी पिउने गर्छु । त्योबाहेक मुख्य कुरा मैले आफूलाई बिरामी हुँ भनेर कहिल्यै सोचिनँ । कोठाभित्रै बसेर गर्न सकिने सामान्य व्यायामहरु नियमित गरिरहें । साथसाथै खानपानमा पनि विशेष ध्यान दिएँ । गीतसंगीमा रमाएँ । पुस्तक पढें । मोबाइलमा गेम खेलें, अनि आफन्त साथी भाइहरुसँग गफगाफ गरेर समय बिताएँ ।
मे ९ तारिखको दिन एएलएचओएसएन एपमार्फत पहिलो रिटेस्टको रिपोर्ट थाहा पाएँ । जुन एप यूएईले कोभिडका बिरामीहरुको ट्र्याकिङ गर्न तथा रिपोर्ट सजिलोसँग थाहा पाउनको लागि प्रयोगमा ल्याएको हो ।
यो कुरा मैले मेरो लाइन म्यानेजर लगायत केही साथीहरुलाई सुनाएँ । साथै घरमा पनि बुबालाई फोन गरेर, ‘मलाई यस्तो भएको थियो, अहिले नेगेटिभ आएको छ, नआत्तिनुहोला मलाई केही हुँदैन’ भनेर सम्झाएँ ।
यता आफू सेल्फ आइसोलेसनमा भए पनि नियमित रुपमा म मेडिकल टिमको सम्पर्कमा नै थिएँ । दुई–चार दिनसम्म लगातार ज्वरो, खोकी बाहेक मैले अरु समस्या भोग्नुपरेन । मेरो विश्वास र आत्मबलले मैले कोरोनालाई जितिसकें भन्ने मलाई थाहा थियो ।
दोस्रो तथा अन्तिम पटकको रिपोर्ट पनि नेगेटिभ नै आयो । यो कुराको जानकारी म्यानेजमेन्टलाई गराएँ । अब केही दिनमा नै म नियमित काममा फर्किने छु भनें ।
सबैसँग मेरो आग्रह छ, कोरोनासँग नडराउनुहोस् । कोरोना लाग्यो भने पनि आत्तिन हुँदैन ।
यो एक प्रकारको फ्लू जस्तै हो । केही मान्छेले लक्षण नै नदेखिइकन पनि पोजेटिभ भएर नेगेटिभ भैसकेको हुन्छ । कसैलाई लक्षण नै देखिएर पनि नेगेटिभ भैसकेको हुन्छ । आफ्नो सरसफाईमा ध्यान दिनुस्, भीडभाडमा नजानुस् ।
यदि कसैलाई यस्तो केही लक्षण देखिएमा सकभर कोही कसैको सम्पर्कमा नगएर अलग्गै बस्नुहोस् । केही दिनको लागि सेल्फ आइसोलेसनमा बस्नुस् ।
कोरोना लाग्दैमा मरिन्न । घरमै बस्नुस्, आफूलाई सकारात्मक काममा लगाउनुस् ।
आफूलाई व्यस्त राख्नुस् । विशेषगरी सरसफाईमा ध्यान दिनुहोस्, रोगसँग लड्ने तथा रोगप्रतिरोध क्षमता बढाउने भिटामिनयुक्त खाना खानुहोस् । मैले यसैगरी कोरोनालाई जितें ।