यो वर्ष शतप्रतिशत काम गरेर देखाउने श्रम मन्त्री विष्टको दावी

 भदौ ६, २०७५ बुधबार १८:४७:७ | उज्यालो सहकर्मी

काठमाडौं – श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले गएको आर्थिक वर्षमा ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेको दावी गरेको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गएको आर्थिक वर्षमा ८० प्रतिशत काम भएपनि सन्तोषजनक नभएको भन्दै यो वर्ष शतप्रतिशत काम गरेर देखाउने बताउनुभएको छ । 

आर्थिक वर्ष २०७४/०७५ को वार्षिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्रालय, मातहतका विभाग, निकाय तथा परियोजनाको तर्फबाट वार्षिक प्रगति विवरण पेश गरिएको थियो । 

मन्त्री विष्टले सात दिन भित्र सबै विभाग तथा निकायले कार्यसम्पादनका क्रममा देखिएका समस्याको गहन अध्ययन गरि समाधानका उपाय सहित विवरण पेश निर्देशन पनि दिनुभएको छ । 

मन्त्रालयले गएको आर्थिक वर्षमा भौतिकतर्फ ८१.३१ प्रतिशत र वित्तीयतर्फ ८०.८१ प्रतिशत प्रगति हासिल गरेको विवरण सहसचिव प्रकाश दाहालले प्रस्तुत गर्नुभयो । 

बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल र प्रधानमन्त्री कार्यालयका प्रतिनिधिले मन्त्रालयको प्रगति विवरण समग्रमा ८० प्रतिशत माथि रहनुलाई सन्तोषजनक मान्नुपर्ने बताए । 

यद्यपी वर्तमान सरकार, प्रधानमन्त्री कार्यालय, सरकारको बजेट र नीति तथा कार्यक्रमले पनि मन्त्रालयबाट धेरै अपेक्षा राखेकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सहित अरु विषयमा समेत थप काम गर्न आवश्यक रहेकोमा सहभागीले जोड दिएका छन् ।

मन्त्री विष्टले बजेटमा भएका कामसँगै रचनात्मक, मौलिक, परिणाममुखी कामतर्फ ध्यान दिन उहाँले मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । 

तपाईको प्रतिक्रिया