सीपयुक्त जनशक्तिलाई मात्रै विदेश पठाउने सरकारको तयारी

 भदौ ७, २०७५ बिहीबार १३:२०:४८ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले सीपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने अनिवार्य व्यवस्था गर्न लागिएको जानकारी गराउनु भएको हो ।

बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीप सिक्न सरकारले आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री विष्टले सरकारले वैदेशिक रोजगारलाई प्रवद्र्धन नगर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले बाध्यकारी अवस्था रहँदासम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार प्रवर्दन बोर्डलाई संशोधन गरी वैदेशिक रोजगार व्यवस्थापन बोर्ड स्थापना गर्ने कामलाई अघि बढाइएको पनि समितिलाई जानकारी दिनुभयो ।

सरकारले स्वदेश भित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई पहिलो प्राथमिकता दिएको मन्त्री विष्टको भनाई छ । नेपालले १ सय १० वटा मुलुकलाई वैदेशिक रोजगारीमा जान खुला गरेको छ । मन्त्री विष्टले ती देशहरुमा नेपाली कामदारको सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले उनीहरुलाई अनिवार्य सीप सिक्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएकाहरु मध्ये १ दशमलव ५ प्रतिशतमात्रै दक्ष कामदार रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया