काकीको पासपोर्ट चोर्दा तीन महिना जेल

 भदौ १०, २०७५ आइतबार १३:३३:११ | उज्यालो सहकर्मी

युएई – दुवईमा आफ्नै काकीको पासपोर्ट चोर्ने एक जना महिला पक्राउ परेकी छन्  ।

गएको मे महिनामा बिदाको बेला पासपोर्ट चोरेर ती महिला टर्की पुगेकी थिइन् । दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्की उड्न लागेकी २३ वर्षकी महिलाले पासपोर्ट बोकेकी थिइन् । तर परिचय खुल्ने कुनै पनि व्यक्तिगत कागजपत्र बोकेकी थिइनन् ।  

उनकी काकीले आफूले राखेको ठाउँमा पासपोर्ट नभेटेपछि दुवई प्रहरीमा पासपोर्ट हराएको उजुरी दिएकी थिइन । 

प्रहरीले रेकर्ड जाँच गर्दा उनको पासपोर्ट प्रयोग गरेर कोही टर्की उडेको पत्ता लागेको थियो । ती महिलाले फर्किंदा त्यही पासपोर्ट अध्यागमनका कर्मचारीलाई देखाएपछि उनी पक्राउ परेको गल्फ न्युजले जनाएको छ । 

‘मैले पासपोर्ट छोरीले चाेरेको थाहा पाएपछि उसको परिवारलाई पनि खबर गरेको हुँ, उनीहरुले साथीसँग बाहिर जान लागेका बताएको र त्यसपछि फोन लागेन भने,’ काकीले भनिन् । 

अरुको पासपोर्ट चाेरेर प्रयोग गरेकाले ती महिलालाई तीन महिनाको जेल सजाय हुने भएको छ । 


 

तपाईको प्रतिक्रिया