यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रभातकुमार वर्मा/बारा ।
न परदेश गएका छोरा जीवितै घर फर्के न उपचार गर्न भारत गएका श्रीमान् । वर्षदिन बिराएर जीवनमा आइपरेका यी बज्रपातले बाराको महागढीमाई नगरपालिका–११ की सविना खातुनको ओठको मुस्कान हराएको वर्षौँ भयो ।
अढाइ वर्ष पहिले उपचारकै क्रममा भारत पुग्नुभएका उहाँका श्रीमान् निको भएर घर फर्केको केही दिनमै ज्यान गयो । बुवाको उपचारमा लागेको ऋण तिर्न एक वर्ष पहिले साउदी गएका सविनाका छोरा पनि नफर्किने गरी उतै अस्ताए । शव मात्र नपाल आइपुग्यो ।
जीन्दगीका यी पीडादायी क्षण बिर्सिन खोज्दा पनि सविनाको मानसपटलमा छाइरहन्छन् । उमेरले ६० पुग्नुभएकी खातुन पुर्पुरोमा हात लाउँदै भन्नुहुन्छ, ‘यो बुढियालाई सधैँको दुःख ।’
१२ वर्षको उमेरमै उहाँको मागी विवाह भएको थियो । बिहे भएको १५ वर्षपछि छोरा जन्मियो । तर जन्मेको केही दिनमै ज्यान गयो । एक वर्षपछि फेरि अर्को छोराको जन्म भयो । तर उनी पनि चार वर्षकै उमेरमा भगवानको प्यारो हुन पुगे ।
सविनासँग दुःखका अनगिन्ती नालिबेली छन् । उहाँका सात सन्तानमा दुई छोरा बालखैमा बिते । बाँकी ५ मध्ये जेठी छोरीको बिहे भइसक्यो । जेठो छोरा मानसिक बिरामी छन् । यस्तै माइलो छोरा लाटो छन् भने कान्छो छोरा २३ वर्षका भए । अहिले बेरोजगार छन् ।
सविनाको आशा, भरोसा थिए, साइलो छोरा । घरपरिवारको दुःख टार्न, आर्थिक अवस्था सुधार गर्न भन्दै १८ वर्षकै उमेरमा वैदेशिक रोजगारीमा मलेसिया गए ।
घरको कमजोर आर्थिक अवस्था, बाँकी दाजुभाइको हेरचाहको जिम्मेवारी । यही समस्यामा मल्हम लगाउन साइलो छोरा समिमलाई परदेश पठाउनुभएको थियो सविनाले ।
समिमले मलेसियामा राम्रो कमाइ गर्नुभयो । पाँच कठ्ठा खेत र ११ धुर घडेरी किन्नुभयो । आफ्नो पुख्र्यौलीसमेत गरेर लगभग २५ कठ्ठा जति खेत थियो ।
अढाइ वर्ष पहिले सविनाका श्रीमान् खेतमा काम गरेर आउँदा जिउभरि नै ठुलठूला बिमिरा देखिए । सुरुमा उहाँलाई लिएर समिम उपचारको लागि वीरगञ्जमा जानुभयो । त्यहाँबाट फेरि डाक्टरको सल्लाह अनुसार भरतपुर अस्पताल लगियो । उहाँको उपचारको लागि छिमेकीसँग सयकडा तीन रुपैयाँका दरले लिएको २ लाख रुपैयाँ भरतपुर अस्पतालमै खर्च भयो ।
समस्या त्यहीँ सकिएन । त्यहाँबाट फेरि रेफर गरेर वीरगञ्जको नेशनल मेडिकलमा उपचार गराउन थालियो । मेडिकलमा उपचार गराउँदा एकैचोटी १४ हजार रुपैयाँको औषधि चढाइन्थ्यो ।
जसले गर्दा एक वर्षमा २५ लाख रुपैयाँ ऋण थपिन गयो । यो सबै खर्च जोर्न समिमले वैदेशिक रोजगारीमा हुँदा किनेको जग्गा र पुख्र्यौली सम्पत्ति गरी १५ कठ्ठा बेच्नु परेको थियो ।
सञ्चो भयो भनेर घर बस्नुभएका सविनाका श्रीमान् फेरि बिरामी पर्नुभयो । नेपालको उपचारले निको भएन भन्दै उहाँलाई नजिकै रक्सौल, इन्डिया मा गएर डंकन अस्पतालमा ६ महिनासम्म उपचार गरियो । यसपटक फेरि उपचारमा १५ लाख रुपैयाँ खर्च लाग्यो । ब्याजमा ऋण लिएर उपचार गर्नुपर्याे । त्यहाँबाट पनि निको भयो भनेर घर फर्काए । तर घर आएको हप्तादिनमै ज्यान गयो । श्रीमानलाई के बिरामी थियो भन्न सक्नुहुन्न सविना ।
उहाँको जिब्रोमा एउटै कुरा मन्त्र झैं उच्चारण भइरहन्छ, ‘मेरो श्रीमानलाई नलगेर मलाई किन लगेनौ हे अल्लाह ।’ भन्छन्, दुःखको पनि सीमा हुन्छ । तर सविनाको जीवनमा दुःखको कुनै सीमा छैन ।
पटक पटक गरेर ६ वर्ष रोजगारीको क्रममा मलेसियामा बस्नुभएका समिम बाआमा र घरपरिवारको साथमा बस्ने सपना बुनेर घर फर्किनुभएको थियो । तर बुवाको उपचारमा समिमले कमाएको सबै पैसा सकियो । उल्टै धान्नै नसकिनेगरी ऋण पर्याे ।
त्यसपछि फेरि विदेश गएर पैसा कमाउने र सामान्य जीवन जिउने सोचेर एक वर्ष पहिला समीम वैदेशिक रोजगारीको यात्रामा साउदी हानिनुभयो । समिमलाई दुःखले विदेशमा पठाइरह्यो । उहाँ पनि आशाको झोला बोकेर गइरहनुभयो ।
योपटक उहाँले म्यानपावरलाई तीन लाख रुपैयाँ बुझाउनुभयो । त्यसैमा पनि भनेअनुसारको काम र कम्पनी दुवै मिलेन । तर बाध्यता यस्तो थियो कि, न नाइँ भन्न सक्नुहुन्थ्यो, न त काम गर्न नै मन लाग्थ्यो । समिम विदेशमा थिए तर मन घरमा । आमा र श्रीमतीसँग दिनहुँ फोनमा घण्टौ कुराकानी हुन्थ्यो । त्यो दिन पनि परिवारको सबै सदस्यसँग कुराकानी गर्दै आफ्नो ख्याल गर्नु है भनेर फोन राख्नुभएको थियो । तर त्यही फोन अन्तिम फोन भइदियो ।
पछिल्लो दिन बिहानै सविनालाई साउदीबाट फोन आयो, ‘समीम अब यो दुनियाँमा रहेनन्’ भनेर ।
सविनाका अनुसार समिम राति आफ्नो डेरामा सुतेकै अवस्थामा अचानक शरीरमा कम्पन भएर ज्यान गएको हो ।
सात जन्म सँगै बिताउने कसम खाएका श्रीमान् त रहेनन् रहेनन् । जीउने एक आशा साइलो छोरा समिम पनि दुनियाँमा नरहेपछि सविना बिरक्तिनुभयो । न जीउने हौसला बँच्यो न त आशाको त्यान्द्रो नै बाँकी रह्यो । श्रीमानको उपचार गर्दा लागेको ऋणको ब्याज दिनदिनै बढ्दै गयो । कमाउन गएको घरखर्च चलाउनै धौ धौ बन्न थाल्यो ।
सविनाको जिन्दगीमा यति दुःख कहिल्यै आइपरेको थिएन । तर पनि बाँकी छोराहरुको लागि भनेर सविनाले आफूलाई दह्रो बनाउँदै लिनुभयो ।
परदेशमा ज्यान गुमाएको छोराको शव नेपाल झिकाउन एक आमाको पर्खाइ ! कुनै आमाको लागि यो जति पीडा अरु के होला ? साउदीबाट छोराको शव आउने दिनको प्रतिक्षा सविनाको लागि जिन्दगीकै कठोर क्षण बन्यो । यो समयमा उहाँले आफूलाई सम्हाल्नुभयो, बुहारी र छोराहरुलाई पनि ढाडस दिइरहनुभयो ।
तर उहाँलाई साउदीबाट छोराको शव कसरी ल्याउने केही थाहा थिएन । यो काममा आप्रवासी स्रोत केन्द्रले सविनालाई सघायो । कलैया उपमहानगरपालिकाले आफै सञ्चालन गरिरहेको आप्रवासी स्रोत केन्द्रले निवेदन लेख्नेदेखि अन्य सबै प्रक्रियामा सम्बन्धित निकायहरुसँग समन्वय गरिदियो । आप्रवासी केन्द्रको समन्वय र वैदेशिक रोजगार बोर्डको सहयोगमा समिमको शव घरसम्म आइपुग्यो । परिवार र छिमेकीमा रुवाबासी चल्यो । सविना र समिमकी श्रीमतीको चित्कारले घर छेउ रुखमाथिका काग भुर्र उडे र आकासभरि फैलिए । र समिमको आफ्नै परम्पराअनुसार अन्तिम संस्कार गरियो ।
आप्रवासी स्रोत केन्द्रले शव नेपालमा ल्याउन मात्रै होइन समिम कार्यरत कम्पनी, वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाइने राहतको लागि पनि वैदेशिक रोजगार बोर्डदेखि दूतावाससम्म समन्वय गरेर सहयोग गरिदियो । समिम कार्यरत कम्पनीबाट १ लाख रुपैयाँ र वैदेशिक रोजगार बोर्डबाट ७ लाख तथा बिमा कम्पनीबाट १३ लाख रुपैयाँ गरी २१ लाख रुपैयाँ समिमको परिवारले पायो ।
(प्रभातकुमार वर्मा समृद्धि आयोजनाको आर्थिक र प्राविधिक सहयोगले कलैया उपमहानगरपालिकाद्वारा सञ्चालित आप्रवासी स्राेत केन्द्रका सूचना अधिकृत हुनुहुन्छ | हाल कलैया उपमहानगरपालिकाले आफ्नै श्रोत साधनले आप्रवासी श्रोत केन्द्र सञ्चालन गर्दै आएको छ ।)