उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – पालिका उपचुनावको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
४२ पदमध्ये समग्रमा कांग्रेसले १७, माओवादीले ११ र एमालेले आठ पद जितेका छन् । एउटा मेयर पदको उपचुनाव अर्थात काठमाण्डौको कीर्तिपुरमा कांग्रेसले जितेको छ । एउटा उपमेयरको लागि भएको चुनाव अर्थात जाजरकोटको नलगाडमा माओवादीले जितेको छ ।
गाउँपालिकाका दुई अध्यक्षको लागि भएको उपचुनावमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ ।
चार उपाध्यक्षमध्ये हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगामा माओवादी तथा बाजुराको स्वामीकार्तिक र दोलखाको गौरीशंकरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
यस्तै, रिक्त रहेका ३४ वडाध्यक्षमध्ये कांग्रेसले १६, माओवादी केन्द्रले निर्विरोधसहित सात, एमालेले पाँच, जसपा नेपालले दुई, रास्वपाले एक, एकीकृत समाजवादीले एक, नेमकिपाले एक र स्वतन्त्र उम्मेदवारले एक ठाउँमा जितेका छन् । रुकुमको पुथा उत्तरगंगा २ को वडाअध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध भएका थिए ।
अहिले उपचुनाव भएका पालिका प्रमुख र उपप्रमुखका आठ पदमध्ये २०७९ को चुनावमा कांग्रेसले छ र माओवादीले दुई ठाउँमा जितेका थिए । अहिलेको उपचुनावबाट माओवादीले दुई पदाधिकारी र एमालेले तीन पदाधिकारी थपेका छन् ।
कांग्रेसले यसअघि जितेका छ मध्ये काठमाण्डौको कीर्तिपुर नगरपालिकाको मेयर मात्रै जितेको छ । कांग्रेसले अघिल्लो चुनावमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन नयाँ पदाधिकारी एमालेले जितेको छ ।
माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।
यस्तै, उपचुनाव भएका ३४ वटा वडामध्ये यसअघिको चुनावमा कांग्रेसले १९, एमालेले एमालेले आठ, माओवादीले छ, जसपा नेपालले एक पद जितेका थिए । यस पटक कांग्रेसले तीन वडा गुमाएर १६ र एमालेले तीन वडा गुमाएर पाँच मात्र जितेका छन ।
माओवादीले भने एउटा थप गरी ७ वटा वडामा जितेको छ । जसपा नेपालले पनि एउटा वडा थपेको छ । नेकपा एकिकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक/एक पदमा जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।