परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
सानुकुमारी खड्का, रौतहट
मेरो कान्छो छोरा हो रुपेश खड्का । साढे ६ वर्ष पहिले मलेसिया गएको थियो । तर चार वर्ष भइसक्यो उसको फोन नआएको ।
मलेसिया गएको दुई वर्षसम्म त नियमित कुराकानी भइरहन्थ्यो । पैसा पठाइरहन्थ्यो । पैसा पठाउनेबित्तिकै पैसा पठाइदिएको छु है भनेर घरमा फोन गथ्र्यो । त्यो बेला पनि पैसा पठायो । तर फोन गरेन । यताबाट हामीले फोन गर्यौँ । तर उसको फोन उठेन । हामीले फोन गरिरह्यौँ । चार दिन भइसक्दा पनि फोन उठ्दै उठेन । उसले आफ्ना साथीभाइलाई फोन गरिरहन्थ्यो । कतै उनीहरुको फोन उठाउँछ कि भनेर उनीहरुको मोबाइलबाट फोन गर्न लगायौँ, कसैको फोन उठाएन । मसँग फोन नगरेर नसुत्ने मान्छे यसरी लामो समयसम्म फोन नउठाउँदा केही नराम्रो भयो कि कतै भनेर घरमा हामी सबै आत्तिएका थियौँ ।
पाँचौ दिनमा साँझतिर बल्ल फोन उठ्यो । त्यो पनि अरु कसैले उठाएको थियो । छोराले ‘मैले के गल्ती गरेँ र मेरो फोन दे’ भन्दै थियो । कसैले कुटेको आवाज आयो । त्यहाँ नबुझिने भाषामा कुरा गरिरहेका थिए । छोराले मैले के गल्ती गरेँ र भन्दै थियो , त्यतिकैमा फोन काटियो । त्यसपछि कहिल्यै फोन लागेन । चार वर्ष भइसक्यो छोराको हालत के छ, केही थाहा छैन । उसकै चिन्ताले पिरोलिरहन्छ ।
चाँडवाड आउँदा, गाउँबाट विदेश गएकाहरु फर्किँदा त्यही भिडमा छोरा पनि छ कि जस्तो लाग्छ । उसका साथीहरु देख्यो भने उसकै झझल्कोले पिरोल्न थाल्छ ।
रुपेश २४ वर्षको थियो मलेसिया जानेबेला । अर्काको कुरा गर्ने, अरुसँग झगडा गर्ने खालको पनि थिएन उ । सबैसँग मिलेर बस्थ्यो, सबैको माया मान्थ्यो । आफूले काम गर्ने कम्पनी छाडेर अर्कै कम्पनीमा काम गर्न लागेको छु भनेको थियो । सबै राम्रो छ, केही चिन्ता लिनुपर्दैन भन्थ्यो । मलेसिया गएको दुई वर्ष भइसकेको थियो । हामीले पनि अब घर फर्केउ भनेर सल्लाह दिएका थियौँ । उसले पनि दशैँमा फर्किन्छु भन्थ्यो । नेपाल फर्केर राम्रो देश जाने कुरा गथ्र्यो । तर एकाएक उसलाई के समस्या आइपर्यो, कस्तोखाले अप्ठेरोमा पर्यो, हामीले केही बुझ्न सकेका छैनौँ । अन्तिमपटक फोनमा कुराकानी हुँदा किन उसले त्यस्तो भनिरहेको थियो ? किन उसले कुटाइ खाएको होला, यस्तै कुरा सोच्दासोच्दै दिमाग थाकिसक्यो ।
हामीले उसको खोजीको लागि सक्नेजति सबै गरिसक्यौँ । काठमाण्डौ गएर विभाग, मन्त्रालयमा निवेदन दिएर दूतावासबाट खोज्न लगायौँ । त्यसरी पनि भेटिएन । पत्रपत्रिकामा फोटो छपायौँ, फेसबुकमा राख्यौँ । कतैबाट केही जानकारी मिलेन ।
धामीझाँक्रीदेखि ज्योतिषी केही छाडेनौँ । कसैले भन्छ केटीसँग लागेको छ, कसैले वन मान्छेले लगेको छ भन्छ । जुठो परिसक्यो पनि भन्छ, कोही जेलमा छ भन्छ ।
दुःख जति सबै मलाई नै आइपर्छ जस्तो लाग्छ । जेठो छोरो पनि बिरामी परेर अघिल्लो असारमा बित्यो । म आफै पनि बिरामी छु । अप्रेशन गरेको छ दुईदुईवटा । यस्तो सम्झ्यो भने त घरमै बस्न मन लाग्दैन । कतै गएर मरौँ जस्तो लाग्छ । तर पनि छाेरा फर्केर आउँछ कि भन्ने आशामा घर कुरेर बसिरहेकी छु । आमाकाे मनै त हाे नि । मेरो मनले मेरो छोरा एक दिन आइहाल्छ होला भन्छ । भेट भइहाल्ला जस्तो लाग्छ ।
Dhan Poudel
July 1, 2023, 6:18 p.m.मलेसिया मा हाम्रो यो दुर्दसा हामि आफैँले लेउने गर्छौँ किनकि हामिमा सहने सक्ति कम हुन्छ तर म आहावान गर्छु जाँडरक्सि नखाउँ जुन सोचेर आएको त्यो पुरा गरौँ घर फर्किउँ सबैलाइ यहि सुझाप दिन चाहान्छु।