कतार – नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ ।
उक्त कार्यालयले अदक्ष कामदारलाई विभिन्न सीमपूलक तालिम दिनेछ । त्यसै गरी त्यस कार्यालयबाट नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्रदान गरिने छ ।
कतारको भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच सो विषयमा छलफल भएको छ ।
कतारमा ठूलो सङ्ख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
मन्त्री ज्ञवालीका अनुसार मंगलबार नै नेपाल र कतारका राष्ट्राध्यक्षहरूका बीचमा समेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमासकारात्मक छलफल भएको छ जसले गर्दा नेपाली श्रमिकका समस्या छिट्टै समाधान हुनेछन् ।
अहिले कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन् ।