परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ का देवबहादुर गुरुङ अघिल्लो हप्ता अतिथि बनेर गाउँपालिका कार्यालय पुग्दा अचम्ममा पर्नुभयो । पहिलेपहिले यसैगरी जाँदा पानी या चिसो पेय पदार्थले स्वागत गरिन्थ्यो । यसपटक भने स्वागतमा उहाँले मोही पाउनुभयो । ‘पहिले पानी वा चिसो पेय पदार्थ दिनुहुन्थ्यो । अहिले गाउँपालिकाले निर्णय नै गरेर सेवाग्राहीलाई मोही दिन थालेछ,’ उहाँले भन्नुभयो, ‘स्वागतमा चिसो पेय पदार्थभन्दा मोही दिने हाम्रो मौलिक संस्कार ठीक लाग्यो । स्वास्थ्यलाई पनि फाइदा, किसानलाई पनि प्रोत्साहन मिल्ने ।’
इच्छाकामना गाउँपालिकाले कार्यालयमा कोल्ड ड्रिंक्स अर्थात् चिसो पेय पदार्थको प्रयोगमा रोक लगाएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ किसानले उत्पादन गर्ने मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो निर्णय गरेको बताउनुहुन्छ । ‘गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको प्रयोग गर्न भनेका छौं,’ उहाँले भन्नुभयो, ‘किसानलाई फाइदा पुगोस् भनेर सबै वडा कार्यालयमा यही प्रकारको सर्कुलर गरेका छौं ।’
अध्यक्ष गुरुङ गाउँपालिकामा आउने सेवाग्राहीलाई मोही दिने व्यवस्था संस्कृति मात्रै नभएर किसानको प्रोत्साहनसँग पनि जोडिएको बताउनुहुन्छ । ‘किसानलाई उत्पादनमा प्रेरित गर्न यो निर्णय गरेका हौं’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाले विभिन्न पशुपालन गर्ने किसानलाई अनुदान दिँदै आएको छ ।’ अहिले पालिकाको कार्यक्रम हुँदा एकपटकमा १० लिटरसम्म मोही प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।
यस्तै बाराको निजगढ नगरपालिका र जीतपुर सिमरा उपमहानगरले पनि पाहुनालाई चिया तथा चिसो पेय पदार्थको सट्टा मोही दिने गरेको छ । चर्को घाम र गर्मीमा काम विशेषले आएका अतिथिलाई पालिकाले मोही खुवाउन शुरु गरेको हो ।
पहिले गाउँघरतिर पाहुनालाई गर्मीको बेला मोहीले स्वागत गर्ने चलन थियो । अहिले गाउँघरमासमेत चिसो पेय पदार्थको प्रयोग बढ्न थालेको बेला फेरि केही पालिका र संघसंस्थाले मोही संस्कृतिको शुरुवात गरेका छन् ।
मोहीप्रतिको मोह बढ्न थालेपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले वैशाख पहिलो हप्तादेखि व्यावसायिक मोही उत्पादन शुरु गरेको छ । शुरुमा दैनिक एक हजार लिटर मोही उत्पादन गरेर बिक्री गरेको उद्योगले अहिले दैनिक तीन हजार लिटरसम्म मोही उत्पादन गरेर बिक्री गरिरहेको छ ।
उद्योगका अध्यक्ष थानेश्वर न्यौपाने मोही बनाउन स्वच्छ दुध र पानीको प्रयोग हुने भएकाले उपभोक्ताको रोजाइमा परेको बताउनुहुन्छ । ‘स्वच्छ दुध सङ्कलन हुन्छ, फ्याट परीक्षण गरिन्छ, व्यवस्थित तरिकाले प्रशोधन गरेर शुरुमा दही बनाउँछौं । त्यसपछि सफा पानीको प्रयोग गरी मोही बन्छ,’ उहाँले भन्नुभयो, ‘सस्तो, मिठो र स्वस्थकर भएकाले माग बढीरहेको छ ।’
आवश्यकताअनुसार जनशक्ति र प्रविधि नहुँदा माग बढी भए पनि पुर्याउन नसकिएको न्यौपानेले बताउनुभयो । ‘मोही छिटो बिग्रने भएकाले हामीले प्याकेजिङ र व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘उपभोक्ताले मन पराएको चिज भएकाले मोहीको बजार दिगोपन हुने देखिन्छ ।’
अहिले गर्मीको बेला शहरबजारमा पनि मोही खोज्ने धेरै भेटिन्छन् । ललितपुरको च्यासल चोकमा दिपक दाहालको लक्ष्मी डेरी पसल छ । पहिले उहाँको पसलमा ६० देखि ८० जना मोही लिन आउने गरेकोमा हिजोआज एक सयदेखि डेढसय जनासम्म मोही लिन आउने गरेका छन् । ‘पछिल्लो समय मानिसको रोजाइमा चिसो पेय पदार्थभन्दा मोहीमा आकर्षण बढेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘अरू पेय पदार्थमा गुलियोको मात्रा बढी, रङ्ग, रसायन मिसाएर बनाइन्छ भने मोही स्वच्छ विधिबाट बनाइने भएकाले माग बढ्दो छ ।’ मोहीको मूल्य सामान्यतया लिटरको ६० देखि ८० रुपैयाँ पर्छ ।
कृषि अभियन्ता उद्धव अधिकारी मोहीको माग बजारमाभन्दा पनि मानिसको मनमा बढेको बताउनुहुन्छ । पछिल्लो समय मोहीले सांस्कृतिक रूप लिएको उहाँको भनाइ छ । ‘साथीभाइ इष्टमित्र भेट्न जाँदा पेय पदार्थ लिएर जाने र पाहुना आउँदा पनि यसैको प्रयोग व्याप्त देखिन्छ, तर मानिसको मनले भने मोही नै खोजिरहेको हुन्छ,’ उहाँले भन्नुभयो ।
मोहीको बजारीकरण राम्रो भयो भने किसानको दूध बिक्री नहुने समस्या समाधान हुने कृषि अभियन्ता उद्धव अधिकारी बताउनुहुन्छ । ‘स्वास्थ्यमा मात्र होइन समग्र सांस्कृतिक, आर्थिक सबै पाटोमा मोहीले फाइदा पुर्याउँछ,’ उहाँ भन्नुहुन्छ, ‘अब चिसो पेय पदार्थ जस्तै मोहीको गुणस्तरीयता परीक्षण गरेर वर्षैभरि उत्पादन गर्नुपर्ने देखिन्छ ।’
मोहीले स्वास्थ्यमा गर्ने फाइदा
पोषणविद्का अनुसार मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छ । मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नलाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ । मोहीले खासगरी पाचन प्रणालीलाई राम्रो बनाउँछ ।
मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन अर्थात् सूक्ष्म पोषण तत्व र प्रोबायोटिक अर्थात् सूक्ष्म जीवाणु पाइन्छ । मोहीमा क्याल्सियम अधिक मात्रामा पाइने भएका कारण हड्डीको विकासमा सहायता गर्छ । साथै यसमा माइक्रो प्रोटिन अर्थात् सूक्ष्म पोषण तत्वले शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ । मोही बेलुकाभन्दा पनि बिहान र दिउँसो खाँदा प्रभावकारी मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विकाश चापागाईँ उज्यालाेमा कार्यरत हुनुहुन्छ।