नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा जङ्गली ब्वाँसोको आतङ्क बढेको छ । ब्वाँसोले गाउँ प्रवेश गरेर बालबालिकालाई आक्रमण गर्ने घटना निकै बढेपछि गाउँलेहरू चिन्तित भएका छन् ।
गएको अप्रिलयता मात्रै बहराइचमा नौ जना बालबालिकासहित १० जनालाई ब्वाँसोले मारेका छन् । पछिल्लो पटक गएको अगस्ट १७ तारिखमा चार वर्षकी सन्ध्यालाई ब्वाँसोले घरबाटै लगेर मारेका बीबीसीले जनाएको छ । आफ्नो माटोको गोठबाहिर सुतिरहेका बेला विद्युत् कटौती भएको र त्यसको दुई मिनेटमै ब्वाँसोले सन्ध्यालाई लगेको खबरमा उल्लेख छ ।
ब्वाँसोको आक्रमणमा परी ज्यान गुमाउनेमा एक वर्षका बालकदेखि ४५ वर्षका महिलासम्म रहेका छन् । कम्तीमा ३४ जना घाइते भएका छन् । धेरै घरमा तालासमेत नभएकाले बालबालिकालाई जोगाउनै मुस्किल भएको छ । पुरुषहरूले रातमा सडकमा गस्ती गर्ने गरेका छन् । सरकारले ब्वाँसो समात्नका लागि ठाउँठाउँमा जाली राखेको छ भने ड्रोन क्यामेराको पनि प्रयोग भएको छ । अहिलेसम्म तीन वटा ब्वाँसोलाई समातेर चिडियाखानामा सारिएको छ । बहराइचमा केही ब्वाँसो रेबिजबाट ग्रस्त भएकाले आक्रमण बढेको हुन सक्ने अनुमान छ ।
ब्वाँसोले मानिसलाई मार्नु निकै अनौठो मानिन्छ । उत्तर अमेरिकामा ७० हजार वटा ब्वाँसो हुँदा पनि पछिल्लो ५० वर्षमा मानिसलाई आक्रमण गरेका जम्मा दुई वटा मात्रै घटना भएका छन् ।
उत्तर प्रदेशमा ब्वाँसोको आक्रमणको अहिले चौथो लहर चलेको छ । यसअघि सन् १९८१–८२ मा ब्वाँसोले १३ जना बालबालिकाको ज्यान लिएको थियो । सन् १९९३ देखि १९९५ सम्म ८० जना बालबालिकामाथि आक्रमण भएको थियो । सबैभन्दा घातक घटना सन् १९९६ को आठ महिनामा भएको थियो, त्यति बेला ५० वटा गाउँमा कम्तीमा ७६ जना बालबालिकामाथि आक्रमण भएको थियो भने ३८ जनाको ज्यान गएको थियो । सरकारले त्यति बेला ११ वटा ब्वाँसो मारेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।