तिहार : फेरिँदै देउसीभैलोको स्वरूप

 कात्तिक १७, २०८१ शनिबार १८:३३:११ | रासस
unn.prixa.net

    ‘आहै चिप्लोमा बाटो,  देउसी रे । 
    आहै अँध्यारो रातमा, देउसी रे ।
    आहै लड्दै र पड्दै,देउसी रे । 
    आहै केराको थम्बा, देउसी रे । 
    आहै १० भाइ जम्मा, देउसी रे ।’

हिन्दू धर्मावलम्बीको दशैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।

तिहारको आकर्षणमध्येको एक मानिएको देउसीभैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसीभैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उहाँले परम्परा हराउनेमा चिन्ता व्यक्त गर्नुभयो ।

हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसीभैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उहाँले उल्लेख गर्नुभयो ।

बेनीका नैनकुमार श्रेष्ठले भन्नुभयो, ‘पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।’ केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताउनुभयो । बेनीका लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गर्नुभयो । 

कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्त्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोकसंस्कृतिका जानकार श्रेष्ठले बताउनुभयो ।

भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्दछन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया