सुदूरपश्चिमबाट एनपीएल खेल्न न्युजिल्यान्डका कुगेलेइन र इङ्ग्ल्यान्...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ ।
वार्ताका क्रममा नेपाली सेनाको जिम्मेवारी र सम्पादन गर्दै आएका कार्यबारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो ।
त्यसअघि भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले आफ्नाे सम्मानमा नेपाली सेनाद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा भारतीय सेनाध्यक्षले जङ्गी अड्डा परिसरमा वृक्षरोपण गर्नुभएको थियो । यस क्रममा भारतीय स्थल सेनाध्यक्षले टुँडिखेलमा रहेकाे सैनिक मञ्च वीर स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । गएकाे असार १६ गते सेनाध्यक्ष नियुक्त हुनुभएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । उहाँले भोलि प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सन् १९५० देखि नेपाल र भारतबीच एकअर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ । यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ साल कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।
त्यस्तै भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गर्नुभएको थियो ।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्त्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ । प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणका क्रममा हिजाे काठमाण्डाै आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।