परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – सत्तारूढ दल नेकपा एमालेले आज काठमाण्डौको दरबारमार्गमा जागरण सभा गरेको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको भ्रष्टाचार र ठगी सैह्य नहुने बताउनुभएको छ । उहाँले अपराध गर्नेलाई सरकारले अनुहार नहेर्ने बताउनुभयो । तथ्य र प्रमाणको आधारमा मात्रै बहस गर्नुपर्नेमा उहाँको जोड छ ।
अहिले अनेक फल्तु कुरा आइरहेका भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘कम्बोडियामा ३२ हजार करोड, स्वीस बैंकमा २१ हजार करोडका कुरा गर्नुको अर्थ छैन । तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्नका लागि त भन्देउन त ।’
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ लागिपरेको बताउनुभएको छ । उहाँले वर्तमान गठबन्धन आउँदो चुनावसम्म रहने दोहोर्याउनुभयाे । अब २०८३ साल असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उहाँको भनाइ छ । ओलीले दुई दल कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुँदाहुँदै पनि देशको अवस्था हेरेर सहकार्य भएको दाबी गर्नुभयो ।
आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री ओलीले यो भ्रमण सफल हुने बताउनुभयो । उहाँले आफू चीन घुम्न जान नलागेकोसमेत बताउनुभएको छ । चिनियाँ परियोजना बीआरआईलाई सङ्केत गर्दै उहाँले अहिले देशको अवस्था कसैसँग ऋण लिने नरहेको पनि बताउनुभयो ।
सभामा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताउनुभएको छ । उहाँले आवश्यक परेमा छानबिन गर्न सकिने र छानबिन गर्दा कुनै फरक नपर्ने बताउनुभयो । दरबारमार्गमा एमालेको सभा अघि दिउँसो विभिन्न ठाउँबाट र्याली निस्किएको थियो ।
काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्ला कमिटीले आज दरबारमार्गमा जागरण सभाको आयोजना गरेका हुन् । राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले यो जागरणसभा आयोजना गरिएको एमालेले जनाएको छ । तर मुख्य सडक दरबारमार्ग नै बन्द गरी आयोजना भएको जागरण सभाका कारण सर्वसाधारणले भने निक्कै सास्ती भोग्नु परेको छ । एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनभर अस्तव्यस्त भयो ।
काठमाण्डौको कोटेश्वरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन् । यस्तै माइतीघरमा सहकारी पीडितले आन्दोलनलाई आज पनि निरन्तरता दिए । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् । एमालेको सभा, कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थक र माइतीघरमा सहकारी पीडितको आन्दोलनका कारण आज काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।