एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
शरीर र कपडामा अलिकति फोहोर देखियो भने धेरैले भन्छन् कस्तो खलासी जस्तो । अनि बोलीमा केही रुखोपन सुनिए पनि त्यही खलासी शव्दले पालो पाउँछ । खलासी अर्थात् सार्वजनिक यातायातका सहचालक । जुन कामलाई समाजले तल्लो दर्जाको रुपमा हेर्दै खिल्ली उडाउने शब्द बनाएको छ ।
अझ सार्वजनिक यातायातमा देखिएका दृष्यले त खलासी गाली र हेपाई खानकै लागि जन्मिएको प्राणी जस्तो लाग्छ । हेर्दा शिक्षित र सभ्य जस्ता देखिने मानिस पनि खलासीलाई तल्लो तहमा झरेर गाली गरिरहेका हुन्छन् ।
नक्कली बिद्यार्थी कार्डको झमेला होस वा बस बिसौनीको लफडा अनि भाडादरको किचलो यी सबै खलासीले गाली खाने माध्यम हुन् । हरेक बस बिसौनीमा खलासीले कसै न कसैबाट गाली खाएकै हुन्छ ।
अलि पर सर्नुस् न, पछाडि त्यत्रो ठाउँ छ, अलि मिलेर बस्नुस् न, खलासीले जतिसुकै मिठास स्वरमा यि शव्द बोले पनि यात्रुलाई चिढ्याईहाल्छ । त्यहीं सुरु हुन्छ किचलो । कहाँ छ ठाउँ, नजिकै झर्ने हो, कति कराउँछ जस्ता शव्द बर्सिन थालिहाल्छन् ।
हाम्रो देशको सार्वजनिक यातायात भद्रगोल छ, गुन्द्रकझैं कोचिएर यात्रा गर्नुपर्छ । उभिएरै यात्रा गर्नुपर्छ । यो सुधार हुनैपर्छ । तर सुधार नहुञ्जेल त यात्रु केही सजग भईदिए ती खलासीको मुख निकै कम सुक्थ्यो होला नि । बसभित्र पस्नासाथ लाईन मिलेर उभिन यात्रुलाई के ले छेक्छ र ? तर गाली गरिन्छ उही खलासीलाई ।
भाडा तिर्ने बेलामा खलासीसँग रीस उठिहाल्छ । हुन त केहीले बढी भाडा पनि असुुल्छन्, त्यस्तालाई कारबाही गर्नुपर्छ । तर बसभित्र झुण्ड्याइएको भाडादरमा उल्लेख गरिएको भाडा माग्दा पनि खलासीले गाली खान्छन्, त्यो पनि सूचनामा उल्लेख शब्द पढ्न सक्नेबाट नै । यात्रुको व्यवहार देख्दा लाग्छ खलासीले बसमा चढे बापतको भाडा असुलेको हैन कचौरा लिएर माग्न बसेको छ ।
खलासीलाई धेरैजसो भाइ भनेर सम्बोधन गरिन्छ । चाहे कपाल फुलेकै किन नहोस् । खलासीभन्दा दशक कान्छा देखिनेहरुले पनि भाइ भन्दा खलासीको मन कस्तो हुँदो हो । उमेरले दाजु वा काका नै भए पनि भाइ भन्दै हेपिनुपर्दाको पीडा खलासीले लुकाईरहेकै हुन्छन् ।
कसैले त खलासीजस्तो अशिक्षित प्राणी कहीँ देखेकै हुँदैनन् । कस्तो खलासी जस्तो । नपढेपछि खलासी बन्लास्, खलासी बन्ने मति झिक्यो जस्ता गालीका शव्द हामी यत्रतत्र सुन्छौं । तर धेरैले सोचेकै हुँदैनन् कि स्नातक गरिसकेकाहरु पनि गाडीमा झुण्डिएर यात्रु चढाईरहेका हुन्छन् ।
फोहोर लुगा लगाएको देख्नासाथ खलासी भनेर गाली गरिन्छ । तर खलासीले बिहान घरबाट लगाएर निस्किएको सफा कपडा बेलुकी उही अबस्थामा घर पुग्ला ? हाम्रा सडकको धुलो त्यही हो । गाडी मर्मत गर्न घिस्रिएर गाडीको पाँग्रा मुनी पस्नै पर्छ । कपडा मात्रै हो र उसको कपालदेखि आँखीभौं समेत धुलाम्मे हुन्छन् त उसको के दोष । जतिसुकै सफा हुँ भन्नेहरु पनि एक दिन खलासी बनेर हेरौं नतिजा आईहाल्छ ।
खलासीले राम्रो बोली वचन गर्दैनन् भन्ने सबैजसोको बुझाई छ । आखिर हजुर तपाई भन्दै राम्रो बोल्यो भने कसले पूरा भाडा दिन्छ ? अनि को ढोका छेउबाट एक पाईला पछाडि जान्छ ? राम्रो बोलीकै कारण त्यहाँ खलासी आफ्नो काममा असफल सावित हुन्छ । भोलिपल्टै जागिर गुमाउन को राम्रो बोल्छ ?
खलासीको रुखो शव्द र मैलो कपडा परिस्थितिको उपज हो । उसलाई खिसिट्यूरीको विषय बनाईनु हुँदैन । बोली, व्यक्तित्व भनेको कामअनुसार हुने हो । सबै किसिमका कामलाई सम्मान गर्ने वातावारण नहुञ्जेल सुधार कठिन छ । जसका लागि सोच परिवर्तन आवश्यक छ र त्यो पनि शिक्षित भनेर चिनिएका र राम्रो पेसा गर्छु भन्नेहरुबाट नै ।
खलासी पेसा रहरले अँगालेको अवस्य हैन होला । उनीहरुका भित्रका बाध्यता बुझ्ने कसले ? दलवाद, नातावादमा रुमल्लिएको हाम्रो देशको राजनीति, रोजगारको अवसर सिर्जना नै गर्न नसक्ने सरकार, यी सबैका कारण रोजीरोटीकै लागि खलासी बनेका हुन् । आखिर त्यो पनि त पेसा नै हो । किन अपमान ?
खलासी विना सार्वजनिक यातायात चल्दैन । कि त स्वचालित यातायात सेवा हुनु पर्याे । वा तोकिएको ठाउँमा चढ्ने र ओर्लने, लाईन मिलेर बस्ने, तोकिएको भाडा चुपचाप तिर्ने यात्रु र त्यही अनुसारको स्मार्ट सेवा चाहियो । हैन भने अहिलेकै अवस्थामा खलासी चाहिन्छ नै । तपाई हामी, हाम्रै सन्तान वा अरु जो कोही त्यहाँ भएपनि कमसेकम खलासीको सम्मान गर्न सिकौं ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।