एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
रातको नौ बजिसकेको थियो । कार्यालयबाट फर्कंदा कोटेश्वरमा सामान्य जाम थियो । रोकिएको गाडी अगाडि आएर एक जना बालक कराए, ‘पानी लैजानुस् न एउटा मात्र बाँकी छ ।’ जाम खुल्यो, पानी चाहिँदैन भन्दै अघि बढ्यौं ।
७-८ वर्षका जस्ता देखिने बालक कराउँदै थिए, ‘एउटा मात्र बाँकी छ लैजानुहोस् न, रात पर्यो साहुले कराउँछ’, भर्खर कार्यालयबाट निस्किएको, घर पुग्नै लागेको अनि रातको समय पानी आवश्यक थिएन ।
पर पुग्दा मसिनो स्वरमा सुनिएको शब्द, ‘साहुले कराउँछ’ले चसक्क बनायो । साहुले नै बेच्न पठाएको हो त? सोच्दै थिएँ । ड्राइभर दाइलाई पनि त्यही शब्दले छोएछ, भने, ‘साहुले कराउँछ भन्छ, कसका छोराछोरी हुन्, कसले जम्मा गरेर राखेर सामान बेच्न पठाउँछ क्या हो, नत्र त घरमा बा-आमा वा आफन्तको नाम लिनुपर्ने ।’
घटना सामान्य छ । तर यस देशको चित्र झल्किएको छ । छिप्पिएको रातमा सानो बालक साहुको पिर गर्दै सडकमा पानी बेच्छ । सडकमा जे पनि हुन सक्छ । जोखिमकाबीच कराइरहेको बालक पनि त यही देशको नागरिक हो नि ।
खै उसको भविष्यको चिन्ता ? हरेक दिन समृद्धिको भाषण गरेर नथाकेका प्रधानमन्त्रीका आसेपासेले प्रधानमन्त्रीलाई यस्ता चित्र देखाउलान् ? राति अबेरसम्म मनमा कुरा खेलिरह्यो ।
दिनमा दुई पटक त्यही बाटो हिँड्छु । दिउँसो थुप्रै बालबालिकासँगै, किशोरकिशोरी, युवायुवती वा अधबैंशेहरु पनि कोटेश्वर चोकमा सामान बेचिरहेका हुन्छन् । गाडीको चापका हिसाबले काठमाण्डौ उपत्यकाकै चर्चित कोटेश्वरमा जाम भएको मौकामा सामान बेच्न धेरैको तँछाडमछाड हुन्छ ।
गाडी पुछ्ने टालोदेखि खानेकुरा पनि यात्रुको हातमै आइपुग्छ । बालबालिका लोभ्याउने मिठाइदेखि जंकफुड भनेर चिनिने प्याकेटका विभिन्न खानेकुरा बोकेर गाडी-बाइकलाई पछ्याउनेहरु धेरै छन् । कतिलाई लाग्ला व्यस्त जिन्दगी भएका शहरबासीलाई यसले सजिलो बनाएको छ । केहीले तर्क गर्लान्, मानिसहरु स्वरोजगार भएका छन् । काम पाएका छन् ।
तर यी सबै तर्क भावनाका कुरा हुन् । महत्वपूर्ण कुरा व्यस्त सडकको बीचमा गएर व्यापार गर्न हुँदैन र पाइँदैन ।
नेपालको संंविधानमा मौलिक हक अन्तर्गत कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भन्ने व्यवस्था गरेको छ । गाडी गुडिरहेको अत्यन्तै व्यस्त चोकमा बालबालिकाहरु दौडधुप गरिरहनु निकै जोखिमपूर्ण हुन्छ, त्यसैले जसले लगाएको भए पनि यो काम संविधान विपरीत छ ।
कानुनको कुरा एकातिर छ, बालबालिकालाई जोखिममा लगाउने वा लगाएको हेरेर बस्नेहरुले कम्तिमा मानवीय संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ । जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने भएकोले त्यस्ता ठाउँमा बालबालिका पठाइनु हुँदैन ।
बालबालिका मात्र हैन, व्यस्त सडकको बीच भागसम्म पुगेर व्यापार गरिरहनेका कारण सडक दुर्घटना हुने जोखिम निकै हुन्छ । गाडी गुड्ने सडक र मानिस हिँड्ने फुटफाथमा व्यापार गर्न नपाईने भए पनि काठमाण्डौ उपत्यकामा यस्ता व्यापार धरै हुने गरेका छन् ।
कोटेश्वरसँगै, गौशाला, कलंकी, नयाँ तथा पुरानो बसपार्क, रत्नपार्क लगायत मानिसको जमघट तथा सवारी चाप बढी हुने धेरै ठाउँमा हात र काँधमा सामान राखेर दौडनेहरुको भिड नै हुन्छ । उनीहरुको व्यापारका कारण गाडी र यात्रुहरुले निकै सास्ती भोग्ने गरेका छन् । यस्तो कामलाई रोक्नुपर्छ ।
धेरैलाई लाग्ला सडक व्यापारबाट धेरैले आम्दानी लिइरहेका छन् । सडक सामान्य व्यवसाय गर्नेहरुको आधार त हो, तर यो सुरक्षाका दृष्टिले ठिक हैन । सडकछेउ तथा सामान्य व्यवसायका लागि केही खुला ठाउँको व्यवस्था राज्यले गर्न सक्छ । तर मानिस र गाडी हिँड्ने सडकमा व्यापार गर्ने छुट दिनु हुँदैन । त्यसमा आश्रितलाई सरकारले विकल्प खोज्नु कर्तव्य हो । तर विकल्प खोज्दासम्म बसून् भन्न पनि मिल्दैन ।
सडक छेउमा फलफूल काटेर खुल्ला रुपमा राखिएको हुन्छ । औषधि भन्दै विभिन्न बस्तु बेचिएकै हुन्छ । हावा र धुलो चलिरहेको खुला ठाउँमा खानेकुरा पनि बेचिएकै हुन्छ । विभिन्न मिठाइहरु सडकमै बेचिएका छन्, त्यसको गुणस्तर के भन्ने थाहा छैन । यस्ता खानेकुराले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्, तर रोकिएको छैन ।
स्मार्ट सिटी, सहज आवागमन, स्वस्थ वातावारण यी सबैलाई काठमाण्डौको सडकछेउ मात्र हैन, सडकको बीच भागमै पुगेर गरिने व्यापारले गिज्याइरहेको छ । अझ बढी त भोलिको देशका खम्बा बालबालिकालाई व्यापारका लागि बीच भागमा दौडाइरहेको छ । जुन कार्य स्वयं बालबालिकासँगै यात्रा गर्ने सबैका लागि खतराको संकेत हुन् ।
साहुले कराउँछ भन्ने अघि शुरुमा चर्चा गरिएको विषय झनै गम्भीर हो । कोटेश्वर चोकमा पानी र मिठाइका केही पोका लिएर बेच्दै गरेका एकजना बालकसँग मैले छोटो कुराकानी गरें :
तिम्रो नाम के हो ?
रवीन तामाङ ।
घर कहाँ हो ?
त्रिशुलीतिर ।
कहाँ बस्छौं ?
उता, (बालकुमारीतिर देखाउँदै) ।
को को बस्छौं ?
हामी सामान बेच्ने धेरै छौं ।
सामान कहाँबाट ल्याउँछौं ?
साहुले दिन्छ ।
पैसा दिएर ल्याएको ?
हैन, अहिले साहु लिन आउँछ ।
कति नाफा हुन्छ ?
खै सबै साहुलाई दिन्छु (पानी किन्नु न, गफ गरेर बसेको देख्यो भने साहुले कुट्छ) ।
खै कहाँ छ साहु ?
अहिले आउँछ नि । काम कस्तो गर्छ भनेर हेर्न आउँछ (यति भन्दै बालक बीच सडकतर्फ दौडिए ।)
चिन्ता यहीँनेर हो । केही पहिले सडकमा मगन्ते परिचालन गर्ने गिरोहका बारेमा समाचार पढेको थिएँ । बालबाालिकालाई माग्न बाध्य बनाउने र उनीहरुले मागेको रकम लैजाने गरेको पीडादायी समाचार जस्तै बालबालिकाहरुलाई सडकमा सामान बेच्न खटाउने पनि समूह त छैन ? यदि त्यस्तै हो भने त्यो निकै खतरनाक हो । यसको अनुसन्धान प्रहरीले गर्नुपर्छ ।
मगन्ते हटाउने, फुटपाथको व्यापार हटाउने जस्ता प्रयास प्रभावकारी हुनुपर्यो । व्यस्त हुने सडक तथा चोकमा हातमा सामान लिएर दौडिनेहरुलाई रोक्नुपर्छ । यो मानिसको स्वास्थ्यदेखि सडक सुरक्षाका दृष्टिले पनि खतरा हो । अनि गम्भीर हुनुपर्ने विषय त, त्यसरी सडकमा हुने व्यापारमा बालबालिकाको सहभागिता रोक्न ढिलाई गर्नुहुन्न ।
बालबालिकाको अधिकार संविधानमा मौलिक हकको रुपमा छ । अभिभावक छैनन् भने बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्ने जिम्मा सरकारको हो । सरकार यो काम गर्न तयार हुनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।