एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – गएको आर्थिक वर्ष नेपालको समग्र आर्थिक क्रियाकलापको लागि औसत रह्यो । लक्ष्य अनुसारको राजश्व उठेन, खर्चको प्रगति पनि राम्रो देखिएन । विकास निर्माणका हिसाबले पनि गएको वर्ष उत्कृष्ट हुन सकेन । तर कुशल नेतृत्वका कारण गएको वर्ष नेपाल विद्युत प्राधिकरणले भने उत्कृष्ट काम गर्न सफल भएको छ ।
विद्युत प्राधिकरणले वर्षौंदेखि अलपत्र परेका कयौं सवस्टेशन निर्माण, मर्मत तथा क्षमता बृद्धि गरेको छ । बिजुली उत्पादन गरेर मात्रै उपभोक्ताले गुणस्तरीय बिजुली बाल्न नपाउने भएकाले पुराना सवस्टेशनको मर्मत तथा नयाँ सवस्टेशन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।
‘हामीले बिजुली उत्पादन गरेर र तार टाँगेर मात्रै हुँदैन, गुणस्तरीय भरपर्दो बिजुलीको लागि गुणस्तरीय सवस्टेशन हुनुपर्छ, त्यसैले गएको वर्ष हामीले बृहत रुपमा सवस्टेशनको मर्मत र निर्माणलाई अघि बढाएको हो’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो ।
प्राधिकरणले गएको वर्ष कठिन मानिएका प्रशारण लाइनको निर्माण पनि सम्पन्न गरेको छ । प्राधिरकणले दार्चुलाको खलंगामा पहिलोपटक नेपालकै बिजुली पुर्याउन पनि सफल भएको छ ।
७ सय ७ मेगावाट क्षमताका ३० वटा सवस्टेशन निर्माण, २९ वटा सवस्टेशन मर्मत
गएको वर्ष नेपाल विद्युत प्राधिकरणले ७ सय ७ मेगावाट क्षमता धान्ने ३० वटा नयाँ सवस्टेशनको निर्माण सम्पन्न गरेको छ । ४ सय ४ मेगावाट क्षमताका २९ वटा सवस्टेशनको मर्मत तथा स्तरोन्नति गरिएको छ ।
मर्मत तथा क्षमता विस्तार भएका सवस्टेशन
प्राधिकरणले गएको आर्थिक वर्षमा २९ वटा सवस्टेशनको मर्मत तथा क्षमता विस्तार गरेको छ । त्यसमध्ये २३ वटा ३३ केभी क्षमताका सवस्टेशन मर्मत तथा स्तरोन्नति भएको छ । ८ मेगावाटको फिक्कल, रंगेली, औरही, हरिपुर र सिन्धुली सवस्टेशन मर्मत गरिएको छ । यस्तै १६ दशमलव ६ मेगावाट क्षमताको खनार सवस्टेशन, भैरहवा, यदुकुवा, बुटवल, नेपालगञ्ज, जरे र मिर्चैयाका सवस्टेशन पनि मर्मत भएको प्राधिकरणले जनाएको छ ।
यस्तै प्राधिकरणले गएको वर्ष ६६ केभीका ३ वटा सवस्टेशन निर्माण गरेको छ । यी सवस्टेशनको क्षमता ५८ मेगावाट रहेको छ । प्राधिकरणले न्यूपाताल १८ मेगावाट क्षमता, इन्द्रावती १० र भरतपूर ३० मेगावाट क्षमताका सवस्टेशन मर्मत तथा विस्तार गरेको छ ।
यस्तै १३२ केभीका १५६ मेगावाट क्षमताका ३ वटा सवस्टेशनको मर्मत तथा क्षमता विस्तार भएको छ । गण्डक सवस्टेशन ६३ मेगावाट क्षमता, लेखनाथ सवस्टेशन ३० मेगावाट र कोहलपुर सवस्टेशन ६३ मेगावाटकोको मर्मत तथा क्षमता विस्तार गरिएको हो ।
३० नयाँ सवस्टेशन निर्माण, ७ सय ७ मेगावाट बिजुली आपूर्तिमा सहज
विद्युत प्राधिकरणले गएको वर्ष ३० वटा नयाँ सवस्टेशन निर्माण सम्पन्न गरेको छ । यी सवस्टेशनको क्षमता ७ सय ७ मेगावाट रहेको छ ।
प्राधिकरणले ३३ केभीका घैलाडब्बा, कटहरी, बोदेवर्साइन, हसुलिया, महाराजगञ्ज कपिलवस्तु, विपीनगर, पालुङटार, कोइलाचौर, राजापुर बसन्तपुर, छप्कैया, दाना लगायतका २१ वटा स्थानमा नयाँ सवस्टेशन निर्माण सकेको छ । यी सवस्टेशनको क्षमता १२८ दशमलव ५ मेगावाट रहेको छ ।
यस्तै, प्राधिकरणले १३२ केभीका ८ वटा नयाँ सवस्टेशन सम्पन्न गरेको छ । यी सवस्टेशनको क्षमता २ सय ५९ मेगावाट रहेको छ । प्राधिकरणले गत वर्ष १३२ केभीका फिदिम, भुरिगाउँ, पहलमानपुर, स्याउले, मार्किचोक, घोराही, हापुरे र रुपन्देहीमा नयाँ सवस्टेशन बनाएको छ ।
यस्तै २२० केभीको ढल्केवर सवस्टेशन पनि गएको वर्ष पनि सम्पन्न भएको छ । भारतसँगको विद्युत ब्यापारको लागि निकै महत्वपूर्ण मानिएको यो सवस्टेशनको निर्माणले प्राधिकरण निकै उत्साहित भएको छ । सवस्टेसन चार्ज भएपछि भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत आयात सुरु भएको छ । ढल्केबर सवस्टेसन निर्माण नभएकाले यसअघि १३२ केभीमार्फत विद्युत आयात भइरहेको थियो ।
७ सय ७७ किलोमिटर प्रसारण लाइन बन्यो
गएको आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १५ वटा प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । यी प्रसारण लाइन लम्बाइ ७ सय ७७ किलोमिटर रहेको छ । प्राधिकरणका अनुसार दाङको लम्कीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म १३२ केभी डबल सर्किटको १ सय १ दशमलव ६ किलोमिटर लामो प्रसारण लाइन बनेको छ ।
यस्तै १३२ केभीकै मस्र्याङदी–मध्यमर्स्याङदी ४० किलोमिटर लामो प्रसारण लाइन पनि गएको वर्ष नै सकिएको छ ।
भक्तपुर–चाबहिल–बालाजुमा पनि १३२ केभीको ३६ किलोमिटर लामो नयाँ प्रसारण लाइन बनेको छ भने कुसुम–हापुरे २० किलोमिटर लामो प्रसारण लाइनको पनि काम सकिएको छ । न्यू चाबेल–लैनचौर ६ किलोमिटर भूमिगत प्रसारणलाइन पनि सम्पन्न भएको छ ।
यस्तै चमेलिया–स्याउले–अत्तेरिया प्रशारण लाइन पनि गएको वर्ष नै सम्पन्न भएको छ । सूदूरपश्चिम क्षेत्रको लागि यो प्रसारण लाइन निकै महत्वपूर्ण भएको विद्युत प्राधिकरणले जनाएको छ । यो प्रसारणलाइनको लम्बाइ १ सय ३१ किलोमिटर रहेको छ ।
यस्तै गत वर्ष नै डुम्रे–दमौली ४६ किलोमिटर, लमही–घोराही २५ किलोमिटर, कुश्मा तल्लो–तल्लो मोदी ६ किलोमिटर प्रशारण लाइनको काम पनि सकिएको छ ।
निकै ढिलाई भैरहेकोमध्ये कावेली करिडोरको गोदक–फिदिम ८५ दशमलव ५ किलोमिटर लामो प्रसारणलाइन पनि गएको वर्ष नै सम्पन्न भएको छ । विद्युत उत्पादन भैसक्दा पनि प्रसारण लाइन नबनेको भनेर निजी क्षेत्रले आपत्ती जनाइरहेका बेला गोदक–फिदिम खण्डको काम सकिएपछि प्राधिकरणलाई केही राहत भएको छ ।
आयोजनाको तेस्रो खण्ड निर्माणमा पेटी ठेकेदारले बेला बेलामा अवरोध गरिरहेका छन् । प्रसारण लाइनको फिदिम थापाटार–अमरपुर (पाँचथर) तेस्रो खण्डमा पर्ने १३ किलोमिटर प्रसारण लाइनमा झण्डै दुई किलोमिटर मात्रै तार तान्न बाँकी छ । यो आयोजनाको लखनपुर–गोदक पहिलो र सोयाक–फिदिम दोस्रो खण्ड सञ्चालनमा आइसकेको छ ।
यस्तै रसुवा र नुवाकोटमा निर्मार्णाधीन जलविद्युत आयोजनाको बिजुली काठमाण्डौ ल्याएर राष्ट्रिय प्रशारण लाइनमा जोड्न महत्वपूर्ण मानिएको त्रिशुली–काठमाण्डौ ९८ किलोमिटर लम्बाइको प्रसारण लाइन पनि गएको वर्ष नै सम्पन्न भयो । उत्पादनको अन्तिम चरणमा रहेको त्रिशुली थ्री ए जलविद्युत आयोजनाको बिजुली यही प्रसारणलाइन हुँदै काठमाण्डौ आउनेछ ।
यस्तै भारतसँग बिजुली आयात–निर्यातको लागि निकै महत्वपूर्ण मानिएको खिम्ती–ढल्केवर ७५ किलोमिटर लामो प्रसारणलाइन निर्माण पनि सम्पन्न भएको छ । २ सय २० केभी क्षमताको खिम्ती–ढल्केवर प्रशारण लाइनमार्फत भारतसँग बिजुली आयात निर्यात गर्न र देशका अन्य भागका बिजुली पुर्याउन सजिलो हुनेछ ।
३ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न
गएको वर्ष ३ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि सकिएको छ । यी प्रशारणलाइनले अन्तरदेशीय बिजुली ब्यापारमा ठूलो टेवा पु¥याउनेछन् । गएको वर्ष १६ किलोमिटर लामोे रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारणलाइन पनि निर्माण सम्पन्न भएको छ ।
यस्तै, कुशहवा–कटैया १३ किलोमिटर लामो प्रशारण लाइन पनि गएको वर्ष नै सम्पन्न भयो ।
यस्तै, ढल्केवर–मुजफ्फरपुर २२० केभी प्रसारण लाइन पनि गएको वर्ष नै सम्पन्न भएको छ । नेपालमा बिजुली आयात हुने सबैभन्दा ठूलो प्रसारण लाइनमार्फत नेपालको बिजुली भारत निर्यात गर्न पनि सकिनेछ ।
दार्चुलामा पहिलोपटक नेपालकै बिजुली
वर्षौंदेखि भारतीय प्रसारण लाइनमार्फत बिजुली बाल्दै आएका दार्चुलाको खलंगाबासीले गएको वर्ष नेपालकै प्रसारण लाइनमार्फत बिजुली बाल्न पाए । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी जेठ १ गतेदेखि यो लाइन सञ्चालनमा ल्यायो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्याएर आफ्नो उत्पादनबाटै विद्युत आपूर्ति सुरु गर्नुु ठूलो उपलब्धि भएको बताउनुभएको थियो । त्यसअघि खलंगामा भारतको उत्तराखण्डबाट बिजुली आपूर्ति हुँदै आएको थियो ।
हरेक आयोजनाको फिल्डमा कुलमान
वर्षौंदेखि अलपत्र परेका आयोजनाले पछिल्लो समय गति लिएका छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेकजसो आयोजनाको फिल्डमै पुगेर निर्देशन दिएकाले विद्युत उत्पादन, प्रशारणलाइन र सवस्टेशनको कामले तिव्रता पाएको हो ।
गएको जेठमा नुवाकोटको किस्पाङमा स्थानीयबासिन्दाले नियतवश त्रिशूली ३ बी २२० केभी हब सबस्टेशन निर्माणमा अबरोध गरेका थिए । तर कुलमान घिसिङ फिल्डमै गएर चेतावनी दिएपछि काम सुरु भयो । यो सबस्टेशन एक भित्रमा बन्न नसकेमा रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशलमलव ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउने भएकाले कुलमान आक्रोशित हुनुभएको थियो । त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेशनको निर्माण गरिँदैछ ।
यस्तै ९ वर्षसम्म अल्झिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना सम्पन्न भएर गत वर्ष विद्युत्त राष्ट्रिय प्रणालीमा जोडियो । आयोजनाको ३० मेगावाट पहिलो युनिट विद्युत जेठ २ गतेदेखि राष्ट्रिय प्रणालीमा जोडिएको हो । यसको लागि कार्यकारी निर्देशक घिसिङ पटक पटक फिल्डमा पुग्नुभएको थियो । २०७१ सालमै निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई पटक पटक चेतावनी दिएपछि १४ मेगावाटको कुलेखानी तेस्रोले पनि उत्पादन थालेको छ । वैशाख २९ गते आयोजनास्थलमै पुगेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा थप ढिलाइ भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिनुभएको थियो ।
गएको वर्ष प्राधिकरणले काम नगर्ने ठेकेदारलाई जरिवाना तिराएर ठेक्का पनि तोडेको छ । कामको प्रगति सन्तोषजनक नभएपछि नेपाल विद्युत प्राधिकरणले हेटाैँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौडा–भरतपुर खण्डको ठेक्का गएको जेठ १३ गते तोड्यो । कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरेबापत झण्डै १६ लाख डलर विलम्ब जरिवाना तिराउने पनि लगाउने निर्णय गरेको थियो । यसको लागि पनि घिसिङ फिल्डमै जानुभएको थियो ।
यस्तै विद्युत प्राधिरकण अन्तरगत विभिन्न कार्यालयका हाकिमसँग कार्यकारी निर्देशक घिसिङले सम्बन्धित कार्यालयमै पुगेर कार्यसम्पादन सम्झौता गर्नुभएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी पनि आउँदो चैतभित्र सम्पन्न गर्न घिसिङ हरेक महिना माथिल्लो तामाकोशी आयोजना जाने गर्नुभएको छ ।
यस्तै लक्ष्मीपूजाको दिन देशैभरी लोडसेडिङ हुन नदिन पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ हरेक वर्ष फिल्डमै खटिँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।
PBK PAUL
July 28, 2019, 7:22 p.m.कुलमान घिसिङ जस्ता सच्चा कर्मचारी हुने हो भने देश बन्न समय लाग्दैन / नेपालको नेत्रित्व कुलमानलाई दिएर हेर्दा कस्तो होला ?