पालिका उपचुनावको अन्तिम परिणाम : कहाँ, कुन पार्टीले जिते ? ...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ - देशमा लकडाउन (बन्दाबन्दी) को कारण धेरैजसो व्यापार व्यवसाय ठप्प छन् । जसको कारण हजारौँ मानिस प्रभावित भएका छन् । तर काठमाण्डौैको सामाखुसीकी कल्पना प्रधानको अचार बनाउने व्यवसायलाई लकडाउनले छुन सकेको छैन । यसको मुख्य कारण उहाँको अनलाइन व्यापार हो । उहाँले अनलाइनमार्फत् ‘अर्डर’ लिएर घरघर पुर्याउनुहुन्छ ।
लकडाउनअघि काठमाण्डौ उपत्यकाका विभिन्न स्टोरबाट अचारको व्यापार गर्नुहुने उहाँले लकडाउन सुरु भएपछि नयाँ उपाय सोच्नुभयो । अनलाइनको माध्यमबाट व्यापार गर्ने । आफ्नो सोच र ग्राहकको चाहना साँच्चै मिल्न गएको कल्पना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘लकडाउन सुरु भएपछि अनलाइन अर्डर गर्नेहरुको सङ्ख्या बढ्न थाल्यो ।’ सरकारले लकडाउन घोषणा गरेपछि कल्पनालाई केही समय पिरोलेको थियो । त्यसपछि मानिसहरुले अनलाइनबाट अचारको माग गर्न थालेपछि आफ्नो व्यवसाय सुरक्षित छ भने महसुस भएको उहाँले बताउनुभयो ।
महिनाको १ लाखभन्दा धेरै आम्दानी
बि.स. २०७३ सालदेखि अचार बनाउन थाल्नुभएकी कल्पनाले अचार बिक्री गरेर महिनाको १ लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्नुहुन्छ । लकडाउनभन्दा अगाडि पनि यसकै हाराहारीमा अचार बिक्री हुने गरेको उहाँको भनाइ छ । उहाँ हाँस्दै भन्नुहुन्छ, ‘पहिला स्टोरहरुबाट धेरै व्यापार हुन्थ्यो भने अहिले स्टोरहरु बन्द छन् । तर अनलाइन व्यापार बढेको छ ।’ ‘केमिकल’को प्रयोग नगरी परम्परागत तरिकाले उहाँले अचार बनाउने गर्नुभएको छ । उहाँको अचार काठमाडौ उपत्यकाभर बिक्री हुन्छ ।
उहाँको दैनिकी हिजोआज पनि उस्तै छ । बिहान सबेरै उठेर आफ्नो नित्यकर्म सकेपछि अचार बनाउने काम सुरु गर्नुहुन्छ । पहिले नै अर्डर आएका अचारलाई उहाँले प्राथमिकता दिनुहुन्छ । त्यसपछि आफ्नो योजनाअनुसार अचारका परिकार बनाउन थाल्नुहुन्छ । आफनै घरमा खोलिएको उद्योगको नाम गृहिणी अचार इन्ड्स्ट्रीज राख्नुभएको छ । उहाँले अचार बनाउनका लागि दुई जना सहयोगी पनि राख्नुभएको छ । उहाँको श्रीमानले पनि बिहान बेलुका सहयोग गर्नुहुन्छ ।
कल्पनाले १४/१५ थरीका अचार बनाउनुहुन्छ । खुर्सानी, लप्सी, कागती, तामा, लसुन, अदुवा, मुला, गुन्द्रुक, मेथी र मासुका विभिन्न अचार बनाउँदै आउनुभएको छ । मौसमअनुसार अरु तरकारी र फलफुलको अचार पनि बनाउने गरेको उहाँको भनाइ छ । त्यसमध्ये लप्सी र मासुको परिकारबाट बनाइएका अचार धेरैजसो ग्राहकको रोजाइमा पर्ने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले मौसमी अचार मात्रै बनाउनुहुन्छ । ‘केमिकल’को प्रयोग नगर्ने भएकोले उहाँले बनाएका अचार धेरै समय राख्न गार्हो हुन्छ । उहाँ भन्नुहुन्छ, ‘घाममा सुकाएर बनाउने अचार एक वर्षसम्म पनि राख्न सकिन्छ । तर घाममा नसुकाई बनाइने अचार १ महिनादेखि ६ महिनासम्म मात्रै टिक्छ । उहाँले एक बट्टा अचारको मूल्य २ सयदेखि ११ सय रुपैयाँसम्म लिने गर्नुभएको छ । अचार बनाउन त्यति गार्हो नभएपनि टुक्र्याउन, काट्न र सुकाउन अलि समय लाग्ने भएकोले झन्झटिलो भएको उहाँ बताउनुहुन्छ ।
सामग्री जुटाउन गार्हो छैन
अहिले लकडाउनको समय भएपनि बजारमा तरकारी र फलफुलको अभाव छैन । त्यसैले अचार बनाउन आवश्यक पर्ने सामग्री जोहो गर्न गार्हो नभएको उहाँ बताउनुहुन्छ । तुलनात्मक रुपमा तरकारी र फलफुल कम भित्रिएपनि उपत्यकाबाट धेरै मानिसहरु बाहिरिएकाले समस्या नभएको उहाँको भनाइ छ । तरकारी र फलफुलको भाउमा पनि खासै फरक भएजस्तो उहाँलाई लाग्दैन । त्यसैले पहिलाकै मूल्यमा अचार बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
अचार बनाउनको लागि काठमाण्डौका विभिन्न तरकारी बजारबाट तरकारी र फलफुल किन्ने गर्नुभएको छ । अहिले अचारको माग गर्नेहरु उहाँका नियमित ग्राहकहरु नै छन् । नयाँ ग्राहकलाई अचार चाहिएमा फोन गरेर ‘अर्डर’ गर्न सकिने उहाँ बताउनुहुन्छ । उहाँले आफ्नो सहयोगीमार्फत मोटरसाइकलमा ग्राहकको घरमै अचार पुर्याउनुहुन्छ । घरघरमा जानका लागि उहाँले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुभएको छ । लकडाउन सुरु हुनुभन्दा पहिला उहाँले शनिबार काठमाण्डौका विभिन्न ठाउँमा रहेका स्टलमा पनि अचार राखेर बेच्ने गर्नुहुन्थ्यो ।
तर अहिले त्यसलाई निरन्तरता दिन सक्नुभएको छैन । अचार बनाउन कुनैपनि औपचारिक तालिम नलिएपनि आमा र हजुरआमाले बनाएको देखेर सिकेको उहाँ बताउनुहुन्छ । सुरुवातका केही महिना ग्राहक बनाउन समस्या भएपनि अहिले भने उहाँका अचारका पारखी धेरै भएको उहाँको सुनाउनुहुन्छ । काम गर्न चाहयो भने थोरै लगानीबाट पनि धेरै उपलब्धि लिन सकिने उहाँको अनुभव छ ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ आफूसँग भएको स्रोत र साधनको प्रयोग समय र परिस्थितिअनुसार गर्न सक्ने उहाँ उदाहरणीय पात्र हुनुहुन्छ । उहाँले न आफ्नो व्यवसायमा लकडाउनको असर पर्न दिनुभयो न अचार रुचाउनेहरुलाई अचार खानबाट वञ्चित गर्नुभयो । विश्वव्यापी रुपमा फैलिएको कोराना महामारीको बारेमा उहाँ सचेत हुनुहुन्छ । अरुलाई पनि सुरक्षित रहन उहाँ आग्रह गर्नुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।