एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – कोरोनाले भन्दा पनि अरु रोगका कारण मानिसको ज्यान गएको खबरहरु दैनिकजसो पढिन्छ र सुनिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा कोरोनाको जोखिम बढी हुने भन्दै विभिन्न सङ्घ संस्थाले सचेत गराउँदै आएका छन् । तर नेपालमा भने अन्य विभिन्न रोगका बिरामीले नियमित औषधि र उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।
सरकारको ध्यान कोरोनामा मात्र केन्द्रित हुँदा लकडाउनको समयमा धेरै गर्भवती तथा सुत्केरीको ज्यान गयो । यतिमात्र नभइ स्वास्थ्यका अरु क्षेत्रले झनै नकारात्मक परिणाम दिन थालिसकेको भन्दै विज्ञले चिन्तासमेत व्यक्त गरेका छन् ।
स्वास्थ्यका अरु क्षेत्रलाई ध्यान नै नदिइ एक्कासी गरिएको लकडाउनको कारण कतिपय क्यान्सरका बिरामी उपचारबाट बञ्चित भएका छन् । मिर्गौलाको डायलासिस र प्रत्यारोपणसँग सम्बन्धित आकस्मिक शल्यक्रिया गर्न नपाएका बिरामी पनि उत्तिकै छन् । यस्तै अवस्था रहे एचआईभी, क्षयरोग, औलो र हैजाजस्ता महामारीको कारण ज्यान गुमाउनेको सङ्ख्या कोभिड १९ कै परिमाणमा हुने आशङ्का विज्ञले व्यक्त गरेका छन् । मुख्य रुपमा खोप अभियानबारे चिन्ता बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस महामारीको कारण बालबालिकामा दादुरा, भ्यागुते र पोलियोजस्ता रोगको जोखिम बढेको चेतावनी दिइसकेको छ ।
नियमित उपचार र औषधिको अभाव
विश्व स्वास्थ्य सङ्गठनका अनुसार श्वासप्रश्वास, मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप र क्यान्सर तथा दीर्घ रोगबाट पीडित बिरामीहरु कोरोनाको उच्च जोखिममा छन् । नियमित औषधि र उपचार नपाउँदा यस्ता बिरामी थप जोखिममा छन् । सङ्गठनका अनुसार विश्वमा कोभिड–१९ बाट ज्यान गुमाएकामध्ये १३ दशमलव २ प्रतिशत मुटु रोग, ९ दशमलव २ प्रतिशत मधुमेह, ८ दशमलव ४ प्रतिशत उच्च रक्तचाप, ८ प्रतिशत श्वासप्रश्वास र ७ दशमलव ६ प्रतिशत क्यान्सर पीडित छन् ।
नियमित उपचार र औषधि नपाएर यस्ता बिरामीको जीवन झन् जोखिममा परेको छ । स्वास्थ्य सेवा विभागको एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमार्फत देशभरका अस्पतालबाट प्राप्त तथ्याङ्क अनुसार ११ लाख ५३ हजार दुई सय ५३ दीर्घ रोगी छन् । आर्थिक वर्ष ०७५/७६ मा चार लाख १२ हजार दुई सय ३० गर्भवती भएको तथ्याङ्क छ । देशभर उच्च रक्तचापको समस्या भएका बिरामी मात्रै पाँच लाख ७५ हजार १२ जना छन् । तर लकडाउनको कारण उनीहरूले नियमित सेवन गर्नुपर्ने औषधि नै पाउन छोडेको छ । लकडाउन खुकुलो नहुँदा अधिकांश औषधि पसल बन्द भएकोले समस्या भएको थियो । अहिले पनि बिरामीलाई स्वास्थ्य संस्था वा औषधि पसल पुग्न यातायातको समस्या छ । सुविधा भएकाहरु पनि कोरोनाको डरको कारण अस्पतालसम्म पुग्न सकेका छैनन् ।
कमजोर स्वास्थ्य रणनीति
कोरोनाको कारण नेपालमा अहिलेसम्म २२ जनाको ज्यान गएको छ । ज्यान गएकाहरुमध्ये पनि अरु विभिन्न स्वास्थ्य समस्या भएका धेरै छन् । लकडाउनको अवधिमा गर्भवती, सुत्केरी, क्यान्सर, मिर्गौला, उच्च रक्तचापलगायतका रोगका कारण ज्यान जानेको सङ्ख्या तुलनात्मक रुपमा धेरै छ । यसो हुनुमा कमजोर चिकित्सकीय प्रणाली दोषी भएको जनस्वास्थ्यविद् डाक्टर पुष्प पन्त बताउनुहुन्छ । राजनीतिमा समानुपातिक भएजस्तै कोरोनाविरुद्ध लड्नको लागि पनि सरकारले समानुपातिक रणनीति बनाउन आवश्यक थियो । तर त्यसो हुन सकेन । अस्पतालमा कोरोनाका बिरामी मात्र होइनन्, अरु बिरामी पनि आउन सक्छन् भन्ने ध्यान हुनुर्थ्याे, त्यो पनि हुन नसकेको पन्त बताउनुहुन्छ । जसको कारण अरु रोगका कारण धेरै बिरामीको ज्यान गयो ।
जता बजेट, त्यता काम
जता जता बजेट छ, त्यता त्यता काम गर्ने परिपाटी भएकोले समस्या भएको जनस्वास्थ्यविद् पन्त बताउनुहुन्छ । अहिले कोरोनातर्फ बजेट भएकोले सबैको ध्यान कोरोनामा मात्र केन्द्रित छ । यसले स्वास्थ्यका अरु क्षेत्र ओझेलमा परेका छन् । कोरोना सङ्क्रमितकै हकमा पनि पर्याप्त काम हुन नसकेको गुनासो पनि आइरहेकै छन् । क्वरेण्टीनको हालत उस्तै दयनीय छ । एम्बुलेन्सहरु बिरामी बोक्न मान्दैनन् । यी विभिन्न कारणले अरु रोगका बिरामीमा थप जोखिम निम्तिएको पन्त बताउनुहुन्छ ।
सरकारले कोरोनाका बिरामी मात्रै बोक्ने छुट्टै एम्बुलेन्स र अरु बिरामी बोक्ने छुट्टै एम्बुलेन्सको व्यवस्था गर्नुपथ्र्यो । यस्तै अस्पतालहरुमा पनि एउटा वार्डमा कोरोना सङ्क्रमित र अर्को वार्डमा अरु बिरामी राख्नुपर्थ्याे । त्यसको लागि छुट्टाछुट्टै डाक्टर र नर्सको व्यवस्था हुनुपथ्र्यो । त्यो पनि हुन सकेको छैन । एउटै डाक्टरले कोरोनाका बिरामी र अरु बिरामी पनि हेर्नुपर्दा सङ्क्रमणको डरले कतिपय बिरामी उपचार गर्न जान डराउने गरेका छन् । सङ्क्रमित कम हुँदैमा सरकारले लकडाउन गरेर राम्रो कदम त चाल्यो । तर लकडाउन लम्बिँदै गर्दा कोरोना नियन्त्रणको लागि गरेको काम प्रभावकारी हुन सकेन ।
लकडाउनको बेला उपत्यका भित्रने र बाहिरिनेको होडबाजी नै चल्यो । सोर्सफोर्समा सवारी पास बनाउने र पास भएकालाई त कोरोना नै लाग्दैन जस्तो गरी डुल्ने गर्नाले पनि कोरोनाको जोखिमसँगै अरु जोखिम पनि थपिएको उहाँ बताउनुहुन्छ ।
स्रोत साधनको कमी
सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर अनुप बास्तोला बिरामी बढेको तर अस्पतालहरुमा स्रोत साधनको कमी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाका बिरामीले अस्पताल भरिएका छन् । धेरैजसो डाक्टर तथा नर्स त्यसैमा केन्द्रित हुनुपर्ने अवस्था छ । अस्पतलमा उपकरण तथा औषधिको अभाव छ ।’
निमोनिया, मानसिक स्वास्थ्य, मुटु, मिर्गौलालगायतका स्वास्थ्य समस्या भएका बिरामी बढ्ने क्रममा छन् । स्वास्थ्य सेवा खुम्चिँदा र बिरामी बढ्दा समस्या भएको उहाँ बताउनुहुन्छ । बास्तोलाका अनुसार चार घण्टा डाइलासिस गर्नुपर्ने बिरामीलाई दुई घण्टामै गरेर पठाउनुपर्ने अवस्था छ भने क्षयरोगीलगायतका बिरामीहरुले पनि नियमित औषधि खान पाएका छैनन् । खोप सेवा प्रभावित भएको छ । दीर्घ रोगीहरुलेसमेत नियमित औषधी खान पाइरहेका छैनन् । यसले पनि स्वास्थ्य क्षेत्र जटिल बन्दै गएको बास्तोला बताउनुहुन्छ ।
अहिले कोरोना मात्रै नभइ डेङ्गी, झाडापखालालगायतका बिरामी पनि बढेका भन्दै त्यसतपर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।