एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
कैलाली – सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासको राम्रो सम्भावना रहेको मानिन्छ तर आवश्यक पूर्वाधारको कमीका कारण पर्यटन विकासले गति लिन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा तराईका दुई तथा पहाडका सात जिल्लामा धार्मिक, पुरातात्विक, हिमाल आरोहण, र्याफ्टिङ, प्याराग्लाइडिङ ग्रामीण पर्यटनलगायतको पर्यटनको राम्रो सम्भावना रहेको चर्चा हुने गर्दछ । पर्यटन व्यवसायीहरु आवश्यक पूर्वाधारको कमीका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउँछन् ।
सुदूरपश्चिम प्रदेश सरकार, पालिका तथा सङ्घीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायीहरुको गुनासो रहँदै आएको छ । पर्यटन व्यवसायी किशोर खड्का भन्नुहन्छ, ‘प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन । तर प्रदेश सरकारले त्यसमा ध्यान दिएको छैन । यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहे पनि पर्यटकलाई खाने बस्ने, यातायातलगायतका सुविधा कसरी पुर्याउने भन्ने चुनौती रहेको छ ।’
सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भूभाग समेटिएको प्रसिद्ध खप्तड रहेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा र्याफ्टिङको निकै सम्भावना रहेको छ ।
टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, गोदावरीधाम, कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा-चाँदनीको झोलुङ्गे पुल, अछामको रामरोशन, बाजुराको बडीमालिका सुर्मालगायतका पर्यटकीयस्थल रहेका छन् ।
प्रदेशका पहाडी जिल्लामा पूर्वाधार विकास हुन नसकेकाले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एसाेसिएशन (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउनुहुन्छ ।
नीतिमा पर्यटन, बजेट सधैँ कम
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाकाे आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा पर्यटन शीर्षक उल्लेख छ । उपमहानगरपालिकाले पर्यटन विकासका लागि आर्थिक वर्ष २०७६/०७६ को नीतिलाई निरन्तरता दिने गरि २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
उपमहानगरपालिकाका पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखाका प्रमुख टेकराज भट्ट भन्नुहुन्छ, ‘नीतिमा पर्यटन क्षेत्रको विकासका राम्रा कार्यक्रम छन् तर बजेट विनियोजन गरिएको छैन ।' उहाँले उपमहानगरपालिकाले पर्यटन क्षेत्रका नाममा पाँच लाख रुपैयाँ मात्र विनियोजन गरेको बताउनुभयो ।
धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्ने योजना आर्थिक वर्ष २०७६/०७७ मा अघि सारेको थियो । तर त्यस समयमा कुनै पनि काम अघि बढेन । उहाँले आर्थिक वर्ष २०७६/०७७ मा पनि बजेट नहुँदा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्र्याक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सामुदायिक वनभित्र भएर बग्ने कैलाली खोलासहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्र्याक निर्माण गर्ने याेजनामा जनाइएको छ ।
'वडा नम्बर ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हुँदै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्र्याक निर्माण गरिने उल्लेख छ’, उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भन्नुभयो ।
धनगढी उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ती, सार्वजनिक जग्गामा रहेको वनलाई बृहत धनगढी पार्क निर्माणका लागि अघि बढाइने याेजनामा उल्लेख छ ।
त्यस्तै, उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार भ्यु टावर तथा घण्टाघर निर्माणलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । नेतुवा ताल, जोखर ताल, तिल्के ताल, बेला ताल, वेहडाबाबा ताल, चौफेरी ताल, सुन्दरी ताल, नथनी ताल, कथनी ताललगायत विभिन्न वडामा रहेका तालहरुलाई पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई पनि निरन्तरता दिएको छ ।
धनगढी उपमहानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि होमस्टेको नीति प्रवर्द्धन गर्ने, भएका होमस्टेलाई थप प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक केन्द्रको रुपमा विकास गर्ने लगायतका नीतिलाई निरन्तरता दिएको छ ।
लकडाउन खुकुलो भएसँगै पर्यटन स्थलमा चहलपहल
लकडाउन केही खुकुलो भएपछि विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्न थालेको छ । कोरोनाको कारण बन्द भएको घोडाघोडी ताल क्षेत्र लकडाउन केही खुकुलो भएपछि अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो ।
कोरोना कहरका बीच पनि अहिले दैनिक रुपमा एक सयको हाराहारीमा पर्यटकले घोडाघोडीको अवलोकन गरिरहेका छन् । पछिल्लो समय घोडाघोडी तालको पर्यटन प्रवर्द्धन हुन थालेपछि आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको घोडाघोडी संरक्षण तथा जनजागरण मञ्च नेपालले जनाएको छ ।
कोरोना भाइरसका कारण लामो समयदेखि बन्द भएका घोडाघोडी ताल क्षेत्र असोज १ गतेदेखि अवलोकनको लागि खुला गरिएको छ । पर्यटकको लागि घोडाघोडी ताल क्षेत्र असोज १ गतेदेखि खुला भएपछि अहिलेसम्म नौ सय पर्यटकहरुले अवलोकन गरेको मञ्च नेपालका संरक्षक दीपक शाहले जानकारी दिनुभयाे ।
घोडाघोडी नगरपालिकाले पर्यटन बोर्ड गठन गरी काम गर्न थालेपछि वार्षिक रुपमा ८० हजार बढी पर्यटक घोडाघोडी भित्रिरहेका जनाएको छ । घोडाघोडी तालको छेउमा रहेको ओजूवा तालमा पर्यटकका लागि डुङ्गा र रिसोर्ट सञ्चालन ल्याएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको नगरपालिकाले जनाएको छ ।
विश्व रामसार सूचीमा सूचीकृत नेपालको तालमध्ये कैलालीको घोडाघोडी धार्मिक र पर्यटकीय हिसाबले सुन्दरस्थल मानिन्छ । पूर्वपश्चिम राजमार्ग भएर कैलाली पुग्नेमध्ये घोडाघोडी नपुग्ने कमै हुन्छन् । नाममात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिच्ने गरेको छ ।
चार मिटर औसत गहिरो रहेको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । ताल आसपास रहेका अन्य १३ स–साना तालसमेत गरेर घोडाघोडी सिमसार क्षेत्रका रुपमा रहेको छ ।घोडाघोडीमा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ । तालछेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडाघोडी ताल र मन्दिरको अवलोकन दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।
घोडाघोडी घुमघाम गर्न पर्यटकहरुलाई कुनै असुविधा हुँदैन । घोडाघोडी तालनजिक सुखड गाउँमा आधुनिक होटेलहरु सञ्चालनमा छन् । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ ।
यो क्षेत्रमा बढीभन्दा बढी पर्यटक भित्र्याउन गुरुयोजना तयार गरेको नगरपालिकाले जनाएको छ । घोडाघोडीमा दुर्लभ वनस्पति र चराहरुका प्रजाति संरक्षित छन् । त्यस्तै रैथाने प्रजातिका माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल पनि घोडाघोडी ताल बनेको छ । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जङ्गली धानसमेत पाइन्छ ।
घोडाघोडीमा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजाति घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।
घोडाघोडीमात्र नभइ कैलालीका अन्य पर्यटकीय स्थलमा अहिले आन्तरिक पर्यटकको चहल पहल भइरहेको जनाइएको छ । नाटा सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले पर्यटकीय क्षेत्रमा स्थानीय मानिसहरु पिकनिक, अवलोकन गर्न अहिले केही मात्रामा गइरहेका छन् ।
उहाँले लकडाउनका कारण पर्यटन व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयाे । 'अहिले अन्तर्राष्ट्रिय पर्यटकभन्दा पनि स्थानीय तथा आन्तरिक पर्यटकलाई भित्र्याउने गरी योजना बन्नुपर्छ’, पर्यटन व्यवसायी किशोर खड्का बताउनुहुन्छ ।
कैलालीका पर्यटकीय स्थल
कैलाली सामुदायिक वन, तालतलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाति, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो ।
कैलालीमा १३ वटा पालिकाले ताल, पार्क तथा मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइरहेका छन् । जिल्लामा थारु समुदायको कला-संस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहँदै आएको छ । जिल्लाका हरेक पालिकामामा पर्यटनको प्रचुर सम्भावना रहेको छ । पालिकाहरुले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन् ।
घाेडाघोडी नगरपालिकामा रहेकाे विश्व सिमसार सूचीमा सूचीकृत घोडाघोडी ताल रहेको छ । भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ ।
तीनवटै पालिकाले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने नीति लिइने उल्लेख गरेका छन् । कैलालीको लम्किचुहा नगरपालिकाले कर्णाली नदीमा र्याफटिङलाई जोड दिएको छ । बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रित गरेको छ ।
कैलारी गाउँपालिकाले वनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोईलही ताल, सामरचौरा गाउँमा होमस्टे सञ्चालन र शिव मन्दिर खरेटी गाउँमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ । जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरबार, कम्पासे धुरा, राति पहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।