विदेशको ज्ञान र सिकेको सीपले बनायो नेपालमै स्वरोजगार

 असोज १६, २०७७ शुक्रबार १३:३९:८ | सुजता सुनुवार
unn.prixa.net

इलाम – विदेशमा कमाएको पैसा मात्र हैन सीप र अनुभव पनि काम लाग्छ । तर त्यसलाई प्रयोग गर्न भने जान्नुपर्छ भन्नुहुन्छ, इलामकी गंगा बस्नेत दियाली ।

कतारबाट फर्कंदा पनि उहाँलाई लागेको थिएन विदेशमा  कमाएको पैसा बाहेक सीप पनि काम लाग्छ भनेर । कमाएको पैसा त दुई चार दिनमा सकियो । तर सीप भने झन बढ्दै गएको छ । आफ्नै ठाउँमा आफ्नो साथमा मिलेर काम गर्न पाउँदा गंगा दङ्ग हुनुहुन्छ । 

२०६४ सालतिर उहाँलाई इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा भरपर्दो कमाइको काम नै छैन भन्ने लाग्यो । 

जिन्दगीमा दुई चार पैसा नभए त कसरी चलाउनु ? उहाँ काम कै लागि कतार पुग्नुभयो । 

कतारको एक कम्पनीमा उहाँले क्लिनर (सरसफाइ)को काम गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘विदेशमा अढाई वर्ष पसिना बगाउँदा धेरै ज्ञान सिकेँ, यसैलाई आधार बनाएर अहिले नेपालमै स्वरोजगार भएकी छु ।’ 

२०७६ वैशाखमा कतारबाट नेपाल आएपछि के गर्ने गर्ने ? उहाँ अन्योलमा हुनुहुन्थ्यो । यहिबेला पालिकाले उहाँलाई तालिमको लागि प्रस्ताव गर्‍यो । ढुङ्गा खोज्दा देउता मिलेझैं भयो । उहाँले च्याउ खेती सम्बन्धी तालिम लिनु भयो । 
यो तालिमको आयोजना कृषि ज्ञान केन्द्र इलामले गरेको हो । छ दिने तालिमपछि उहाँलाई गाउँमा नै च्याऊ उत्पादन गरेर बजारीकरण गर्छु भन्ने आँट आयो ।

२०७६ मंसिर १८ गते १० बलबाट च्याऊ खेती सुरु गर्नुभयो । त्यो बेला उहाँले २१ हजार लगानी मात्रै लगानी गर्नुभएको थियो । १० बलबाटै राम्रो उत्पादनभयो । पहिलो चरणमा नै  ३ मन १५ किलो उत्पादन गर्न सफल भएपछि भने झन् जाँगर चल्यो उहाँलाई । अहिले ५२ हजार लगानी गरेर ६५ बल पुर्‍याउनुभएको छ । 

उत्पादन गरेर बिक्री गर्न थालेपछि अहिले उहाँलाई स्थानीय बजारको माग नै धान्न धौ–धौ छ । स्थानीय बजार माइपोखरी, प्याङ्ग, सोयाङ्ग, नयाँबजार, माइमझुवा लगायतका स्थानबाट बढी माग आउँछ । 

‘पहिले काम थाल्दा कसैले पनि ऋण पत्याएका थिएनन्, अहिले काम थालेपछि त प्रशंसा गर्नेहरु छन्,’ गंगा भन्नुहुन्छ, ‘जस्तो परिस्थितीमा पनि हार मान्न नहुने रहेछ, दिन सबैको आउने रहेछ ।’

किलोको दुई सय रुपैयाँले सबै च्याऊ गाउँमा नै बिक्रिभइसकेको छ । अब यही व्यवसाय गंगाको आम्दानीको दिगो स्रोत बन्ने विश्वास छ । उहाँ भन्नुहुन्छ, ‘गर्दा त हुने रैछ नि त, नगरेर पो आम्दानीका स्रोत शून्य देखेका रहेछौं, यत्तिको ज्ञान र सीप भएपछि मज्जाले बाँच्न सकिन्छ ।’ 

‘पहिले काम थाल्दा कसैले पनि ऋण पत्याएका थिएनन्, अहिले काम थालेपछि त प्रशंसा गर्नेहरु छन्,’ गंगा भन्नुहुन्छ, ‘जस्तो परिस्थितीमा पनि हार मान्न नहुने रहेछ, दिन सबैको आउने रहेछ ।’

बाह्रै महिना अभाव नहोस् भन्नलाई च्याउ खेतीका लागि सन्दकपुरको मौसम बाधक छ । मागलाई उत्पादन गर्नकै लागि दुई महिना भने बहिनी मेनुका पोख्रेलको घरमा लगेरसमेत उहाँले उत्पादनलाई निरन्तरता दिने दिनुभएको छ ।

सन्दकपुरभन्दा निकै गर्मी ठाउँ हो माइजोगमाई गाउँपालिका । त्यसैले यहाँ च्याउ उत्पादनमा मौसम बाधक बन्दैन । पुस र माघका लागि भने बहिनीको घरमा च्याउ उत्पादन बिक्री गर्नुहुन्छ उहाँ ।

आफूले सिकेको सीप र अनुभवलाई प्रयोग गर्दा कमाइ हुने रहेछ भन्ने बुझ्नुभएकी गंगाको अब भने फम दर्ता गरेर नै च्याउ खेती गर्ने योजना छ । व्यवसाय गर्दा गरेरै चलाउँदा उत्पादन पनि धेरै गर्ने र त्यसलाई व्यवसायीक बनाउने उहाँको सोच छ ।

घरमा गाई, बाख्रा र सामान्य खेती त छँदैछ । च्याउसँगै लोकल कुखुराको पनि व्यवसाय सुरु गर्नुभएको छ । सुरु गरेको पहिलो वर्ष नै उहाँले १० हजार रुपैयाँको कुखुराको चल्ला मात्रै बिक्री गर्नुभयो । यसमा पनि भविष्य देखेपछि व्यवसाय थप गर्ने सोचमा हुनुहुन्छ उहाँ ।

श्रीमानकाे सहयोगले काम गर्न झन सजिलो

२०६३ सालमा मानसिंह दियालीसँग विवाह भयो गंगाकोे । मानसिंह राष्ट्रिय निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ ।

उहाँले बिहान बेलुका र छुट्टीको समय श्रीमतीलाई सघाउन छुट्याउनु हुन्छ । श्रीमानसहित अरु परिवारका सदस्यको पनि सहयोगले उहाँलाई व्यवसायी बन्न सहयोग भएको छ । सबैको साथ र हौसलाले भने उहाँलाई झन काममा जाँगर चल्छ ।

च्याउ उत्पादन गरेको परालबाट तरकारी राम्रो फल्ने भएकाले उहाँले तरकारी खेती पनि सुरु गर्नु भएको छ । 

गाउँमा माग अधिक छ । माग पूरा गर्न उत्पादनमा वृद्धि गर्नका लागि उहाँले गाउँका दुई जनालाई भने अहिलेदेखि नै काम  पनि सिकाउँदै हुनुहुन्छ । पराल धुन र काट्न सक्ने भएका छन् उनीहरु पनि । समय निक्कै लाग्ने भएकाले काम छिट्टो सक्नका लागि मेसिन किन्ने र जोड्ने योजना छ उहाँको । 

च्याउ उत्पादन गरेको परालबाट तरकारी राम्रो फल्ने भएकाले उहाँले तरकारी खेती पनि सुरु गर्नु भएको छ । 

नगर्दासम्म हो देशमै केही छैन झैं लाग्ने । तर काम काम थालेपछि एक पछि अर्को सम्भावनाहरु आफ्नै अघिल्तिर देख्न थाल्नुभयो गंगाले र कमाइको बाटो पनि समात्नुभयो । त्यसैले उहाँको सुझाव पनि सबैलाई विदेश जानुअघि एकपटक सोचौं भन्ने छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया