नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना परीक्षण र उपचारको लागि नागरिक आफैंले पैसा तिर्नुपर्ने निर्णय गरेर सरकारले नागरिकप्रतिको दायित्वबाट हात झिकेको छ । भत्ता र बोनस बाँड्ने, नचाहिने ठाउँमा आफ्ना व्यक्तिलाई नियुक्त गर्ने, अनावश्यक खर्चमा हतारो गर्ने लगायतमा उदार हुने सरकार नागरिकको उपचारमा चाहिँ कठोर बनेको भन्दै आलोचना भइरहेको छ । सरकारले अहिलेसम्म घोषणा त गरेको छैन, तर मन्त्रीहरुले अनौपचारिक रुपमा सरकारलाई खर्च धान्न मुश्किल परेकाले परीक्षण र उपचारको खर्चबाट हात झिकेको बताएका छन् ।
सरकारसँग ढुकुटीमा पैसा नभएर कोरोना परीक्षण र उपचारबाट हात झिकेको भनिएको छ, तर सरकारले अहिले भइरहेका फजुल खर्च रोक्न पटक्कै पहल गरेको छैन । सरकारले दशैँ भत्ता र बोनस बाँडेकै छ । अनावश्यक निकायमा कार्यकर्ता भर्ना गरेकै छ । मितव्ययिताको कुरा भाषणमा मात्रै सीमित भएको छ । सरकारी कार्यालयको मनोमानी खर्च घट्नुको साटो बढिरहेको देखिन्छ । महँगा सरकारी गाडी किन्ने क्रम रोकिएको छैन । कुन स्तरका कर्मचारीलाई कस्तो सवारी सुविधा दिने भन्ने मापदण्ड पालना भएको छैन ।
अचम्मलाग्दो कुरा त के भने यस्तो महामारीको बेलामा पनि संघदेखि पालिकासम्मका सरकारले भ्यू टावर, मठमन्दिर, मस्जिद, मिनी ग्रेट वाल, पार्क लगायतका संरचनामा बजेट विनियोजन गरेका छन् ।
अर्थविद् तथा संघीयताका विज्ञहरुले देशभर भ्यू टावर र मठमन्दिर बनाउन विनियोजन भएको रकम कोरोनाको परीक्षण र उपचारमा खर्च गर्न सकिने बताएका छन् । चालू आर्थिक वर्षको लागि भ्यू टावर र धार्मिक संरचना बनाउन छुट्याइएको बजेट रकमान्तर गरेर कोरोना महामारी नियन्त्रण लगाउने र नागरिकबाट धन्यवाद पाउने अवसर सरकारसामु छ ।
देशका विभिन्न ठाउँमा अहिले साढे २ अर्ब रुपैयाँ बराबरका भ्यू टावर बनिरहेका छन् । संघीय सरकार, प्रदेश सरकार र पालिकाहरु भ्यू टावर बनाउने प्रतिष्पर्धामा छन् । कोरोनाको महामारीका बीचमा आएको बजेटमा पनि भ्यू टावर बनाउने योजना राख्न सरकारहरु पछि परेनन् ।
संघीय सरकारको झण्डै डेढ अर्ब रुपैयाँको लागतमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापामा भ्यू टावर बनिरहेको छ । २०७५ सालको असारदेखि झापाको दमक नगरपालिका–३, ढुकुरपानीमा निर्माण भइरहेको टावरको लागत १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । भ्यू टावर १८ तलाको हुनेछ ।
वाग्मती प्रदेश सरकारले काभ्रेको भुम्लुमा २ करोड ९६ लाख रुपैयाँको लागतमा भ्यू टावर निर्माण गरिरहेको छ । यो बहुवर्षीय ठेक्का आयोजना हो । वाग्मती प्रदेश सरकारले नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा १ करोड रुपैयाँ खर्च गरेर भ्यू टावर बनाउँदैछ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा ७८ लाख र महाकाली नगरपालिकामा ३ करोड ५० लाख रुपैयाँको लागतमा भ्यू टावर बन्दैछन् ।
बाजुरोको बुढीगंगा नगरपालिकामा ५० लाख रुपैयाँको लागतमा, गोदावरी नगरपालिका कैलालीमा एक करोड ७० लाख रुपैयाँको लागतमा, रोल्पा नगरपालिकामा ६ करोड ३५ लाख रुपैयाँको लागतमा, रुपन्देहीको तिलोत्तमामा १३ करोड ५८ लाख रुपैयाँको लागतमा र कोहलपुरमा ७ करोड ८ लाख रुपैयाँको लागतमा भ्यू टावर बनिरहेका छन् ।
यस्तै वीरेन्द्रनगर सुर्खेतमा १ करोड ५३ लाख रुपैयाँ लागतमा, वीरेन्द्रनगर ११ मा ४५ लाख रुपैयाँ लागतमा अर्को भ्यू टावर र वीरेन्द्रनगर १४ मै १० लाख रुपैयाँको भ्यू टावर बन्दैछ । कर्णाली प्रदेश सरकारले पनि सुर्खेतमा २० लाख रुपैयाँमा भ्यूटावर बनाउँदैछ ।
वाग्मती प्रदेशका विभिन्न ठाउँमा २६ करोड रुपैयाँ हाराहारीका भ्यू टावर कतै बन्न सुरु भएका छन्, कतै शिलान्यासको चरणमा छन् । प्रदेश एकमा पनि झण्डै पाँच करोड रुपैयाँ बराबरका भ्यू टावर बनिरहेका छन् ।
भ्यू टावरमा पैसाको खोलो बगाएको सरकारले मठ मन्दिरमा पनि साढे २ अर्ब रुपैयाँभन्दा धेरै रकम विनियोजन गरेको छ । महामारीको बजेट आए पनि मन्दिर बनाउने र मर्मत गर्ने होडबाट संघीय र प्रदेश सरकार पछि हट्न सकेनन् । चालू आर्थिक वर्षको लागि मात्रै संघीय र प्रदेश सरकारले १ हजार ३ सय ३९ ठाउँमा मठ मन्दिर निर्माण र मर्मतको लागि २ अर्ब ६४ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेका छन् ।
प्रदेश १ सरकारले ३ करोड ५५ लाख रुपैयाँ, प्रदेश २ सरकारले १ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ, वाग्मती प्रदेशले ४ करोड ६७ लाख रुपैयाँ, गण्डकी प्रदेशले १ करोड ७२ लाख, लुम्बिनी प्रदेशले २२ करोड र सुदूरपश्चिम सरकारले २५ करोड ६६ लाख रुपैयाँ मठ मन्दिर, गुम्बा, मस्जिद लगायतको संरचनाको निर्माणको लागि छुट्याएका छन् ।
पालिकाहरुले विनियोजन गरेको रकम र सम्पदा सूचीमा परेका ऐतिहासिक धरोहर, सांस्कृतिक महत्व बोकेका पुराना सांस्कृतिक तथा धार्मिक स्थल यसमा समावेश छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मात्रै चालू आर्थिक वर्षको मठमन्दिर निर्माण तथा मर्मतको लागि ४२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
संघीयताका विज्ञ डाक्टर खिमलाल देवकोटा संघीयदेखि पालिकासम्मका सरकार आवश्यकता अनुसार बजेट बनाउने र बजेट संशोधन गर्ने काममा चनाखो हुनुपर्ने बताउनुहुन्छ । सरकारले नागरिकको उपचार र परीक्षणबाट हात झिक्नुको साटो अनावश्यक खर्च कटाउने अथवा अत्यावश्यक नरहेको क्षेत्रमा विनियोजन भएको बजेट रकमान्तर गर्नुपर्ने देवकोटाको भनाई छ ।
‘यो बेला धेरै ठाउँमा भ्यू टावर र मठमन्दिर तथा धार्मिक संरचनाको लागि छुट्याएको बजेट रकमान्तर गर्ने या बजेट संशोधन गर्ने बेला हो, नागरिकको उपचार गर्न पैसा नहुने तर भ्यू टावरमा लगानी गर्नु उपयुक्त हँुदै होइन’ देवकोटाले भन्नुभयो ।
भ्यू टावर र मठमन्दिर पनि बनाउनुपर्छ, तर अहिले भ्यू टावर र मठ मन्दिर भन्दा पनि नागरिकको ज्यान बचाउनु अत्यावश्यक काम भएकाले सरकारले बजेटमा राखिएका त्यस्ता योजनाको बारेमा पुनर्विचार गर्नुपर्ने देवकोटाको भनाई छ ।
‘राजश्व कम उठेको छ, चालु खर्च बढ्दो छ, यो वर्ष कोरोनाको उपचार र रोकथाममा धेरै रकम खर्च गर्नुपर्ने बाध्यता भएकाले सरकार अफ्ठेरोमा होला, तर यस्तो बेलामा वैकल्पिक उपायबाट भए पनि नागरिकको उपचार सरकारले नै गर्नुपर्छ’ संघीयताका विज्ञ देवकोटाको भनाई छ ।
‘सरकारलाई अफ्ठेरो नै परेको भए कोरोना उपचारको लागि सक्नेलाई पैसा तिर्न र नसक्नेलाई हामी उपचार गरिदिन्छौं भन्नुपर्छ’ देवकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।