नेप्सेमा नकारात्मक सर्किट ब्रेक, साढे ४ घण्टामा ६ प्रतिशतको गिरावट

 मंसिर २१, २०७७ आइतबार १४:३९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । यस्तै एक महिनामा ४ सय अङ्क बढीले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री चाप बढाएकाले पनि बजार ओरालो लागेको हो ।

आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अङ्कले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अङ्कमा बन्द भएको छ । नेप्सेमा याे गिरावट अहिलेसम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात् २१ दशमलव ६२ अङ्कले घटेर ३ सय ७० दशमलव ६७ अङ्कमा बन्द भएको छ । आइतबार नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो । 

दिनभर एक सय ९७ कम्पनीका सात अर्ब २० करोड ९१ लख ८० हजार दुई सय १३ रुपैयाँको एक करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद/बिक्री भएको छ । त्यस्तै कारोबार सङ्ख्या ६१ हजार आठ सय ५८ रहेको छ । 

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह ९ दशमलव १३ प्रतिशतले घटेको छ । त्यसपछि जीवन बीमा समूह ८ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन ७ दशमलव ५९ प्रतिशत, व्यापार समूह ७ दशमलव ४२ प्रतिशत, लघुवित्त ७ दशमलव ०३ प्रतिशत, निर्जीवन बीमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत् ५ प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटल ४ प्रतिशत, विकास बैंक ३ दशमलव ४४ प्रतिशतले घटेका छन् ।

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बीमा कम्पनीको एक अर्ब १६ करोड रुपैयाँ बढीको भएको छ । बजारमा उच्च गिरावट आए पनि नौ वटा कम्पनीका शेयरधनीले कमाएका छन् । रिलायन्स फाइनान्सका शेयरधनीले २ दशमलव २९ प्रतिशतले कमाएका छन् । यस्तै हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्सलगायतका कम्पनीका शेयरधनीले कमाएका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस्तै पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीलगायतका कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशतले गुमाएका छन् ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया