एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
जीवनलाई अगाडि बढाउँदा बढाउँदै म धेरै टाढा पुगिसकेछु । कहिलेकाहीँ पुराना दिनहरु याद बनेर मेरो मस्तिष्कमा घुम्छन् । जहाँ म अभावमा बाँचेको थिएँ तर जति नै अभाव भएता पनि मीठो निन्द्रा थियो । आफूलाई माया गर्ने मान्छे र सम्झाउने सिकाउने जमात थियो ।
उफ् ! यो भोगाइ अहिले आएर फगत एउटा कथा बन्यो । रेडियोमा मेरो पहिलो दिन अन्तर्वार्ता थियो । त्यहाँका म्यानेजरले कति तलब लिन्छौ भन्दा मेरो आवाज निस्किएको थिएन । किनकी जति दिए पनि लिनु पर्ने परिस्थिति थियो त्यो बेला । कस्तो कस्तो अवस्था आइदिन्छ जीवनमा । यति पढेर पनि कस्तो कठिन यात्रा गर्नुपर्ने । कहिलेकाहीँ सोच्छु मलाई पढेर पनि जीवन अगाडि बढाउन अप्ठ्यारो भएको छ तर पढ्दै नपढेका हजुरबुवा, बुवाले कसरी आफ्नो जीवनमा त्यति धेरै प्रगति गरे होलान् ?
हेटौंडामा बसेर म बीबीएस पढ्दै थिएँ । सहरको बसाइ, खर्च धेरै हुने । घरबाट पठाएको पैसाले कोठा भाडा, खाना खर्च, कलेज शुल्क नै ठिक्क हुन्थ्यो । साथीभाइसँग हिँड्यो, पैसा हुन्नथ्यो । बुवालाई पैसा मागिरहन पनि मनले मानेन । त्यसैले पनि मैले जति तलब दिए पनि रेडियोमा काम गर्न लागेको थिएँ । सुरुसुरुमा त त्यहाँको तलबले धानेको थियो । समय बितदै गएसँग आवश्यकता पनि बढ्न थाले । त्यो तलबले पुगेन । विस्तारै साथीहरु टाढिन थाले । त्यसपछि एक दिन मेरो मनमा विदेश गएर धेरै पैसा कमाउने सपनाले घर बुन्न थाल्यो । बीबीएसको अन्तिम परीक्षा दिएर म घर गएँ । पासपोर्ट बनाउनको लागि सिफारिस बोकेर काठमाण्डौ गएँ ।
गाउँकै दाइ गएको म्यानपावरबाट जानुपर्यो भनेर त्यहाँ कागज बुझाएर म घर आएँ तर भिसा आएन । त्यहाँ ७ महिना कुरेपछि अर्को म्यानपावरमा पासपोर्ट बुझाएँ । एक वर्ष त्यत्तिकै बित्यो । अन्ततः भिसा आयो । गाउँघरमा सबैसँग बिदा लिएर म काठमाण्डौ आएँ ।
पाँच/छ दिनमा उडाउँछु भनेको म्यानपावरले २१ दिनपछि बल्ल उडाउने तय भयो । मेरो उडान भएको दिन मलाई भेट्न बुवा पनि काठमाण्डौ आउनुभएको थियो र मलाई छाेड्न एरपाेर्टसम्म पुग्नुभयाे । म चढेको जहाज उड्यो । विमानको गति सँगै मेरो मनको गति पनि दौडिरहेको थियो । जीवनको २२ औं वसन्तमा म परदेशको भूमिमा जाँदै थिएँ, त्यो पनि राेजगारीकाे लागि ।
त्यो बेला मलाई दुबई सहर सपनाको सहर जस्तै लागेको थियो । हिँड्दा चिप्लेर लडिएला जस्ता मार्बल, गाडीनै नदेखिने गरि कुदाउने फराकिला सडक । आकाश छुन बनाइएका जस्ता सडकमाथिका पुल । यी दृश्यले मलाई मेरो देशको विकासको अवस्थाबारे एकैछिन सोचमग्न बनायो ।
हामी विमानस्थलबाट बाहिर निस्किएर कम्पनीको मान्छेलाई पर्खिरहेका थियौँ । केही समय अगाडि एउटै सिटमा बसेका, छुट्टी सकेर नेपालबाट दबुई फर्किनुभएका एकजना नेपाली साथीले घरमा फोन गर्नु भनेर आफ्नो मोबाइल दिनुभयो । नेपालबाट हिँड्दा पुग्ने वित्तिकै फोन गर है भनेकी दिदीलाई सुरुमै फोन लगाएँ । उहाँसँग कुरा भयो । त्यतिकैमा केही समयमै हामीलाई लिन भनेर कम्पनीको गाडी आइपुग्यो । निन्द्राले आँखा पोलिरहेको थियो । गाडीले हामीलाई कम्पनिको क्यापमा पुर्यायो । त्यो राति साथीहरुसँग पसल गएर पाउरोटी र जुस लिएर आएँ र त्यही खाएँ ।
परदेशमा घरको यादले पिरोल्दोरहेछ । यहाँको फरक नियम कानुन तथा जीवनशैलीले मलाई सुरुमा केही गाह्रो भयो । पछि बिस्तारै सबै सामान्य लाग्न थाल्यो । विदेशमा नेपालीले दुःख पाएको भन्ने सुनिन्थ्यो । यहाँ आएर मैले यसबारे बुझेको कुरा भनेको यहाँ रक्सी खाएर हल्ला गर्ने र भाषा नआउने नेपाले दुःख पाउने रहेछन् । मजस्ता सोझा सिधालाई त केही फरक नपर्ने रहेछ ।
नेपालबाट आएको पहिलो दिन घाममा हिँडेरै बित्यो । त्यो दिन सिम लिने, घुम्ने आदि काम गर्यौं । साँझ १० जना मिलेर पैसा उठाएर खाने सामान किनेर ल्यायौं । खाना पकाएर खान लाग्दा एक जना साथी बेहोस भएर लड्नुभयो र नाकबाट रगत बग्न थाल्यो । दिनभरिको घामले उनलाई त्यस्तो भएको रहेछ । क्याम्पको मान्छेले साथीलाई अस्पताल लिनुपर्छ भने । एम्बुलेन्समा हालेर अस्पताल लगियो । साथमा म गइदिएँ ।
सुरुमा अस्पतालमा १ घण्टा राख्ने भनेको थियो । तर पछि पुरै रात राख्ने भयो । न साथमा पैसा बोकेको थियो, न त खाना नै खाएर आएका थियौं । रातभरि भोकै बसेको देखर त्यहाँका एकजना दयालु अरबिकले २० दिर्हाम दिनुभयो । केही किनेर ल्याउनको लागि बाहिर सबै पसल बन्द भइसकेका रहेछन् । म भोकै भित्र सोफामा बसिरहेको थिएँ । एकजना नेपाली महिला आउनुभयो । उहाँ त्यही अस्पतालमा काम गर्नुहुँदो रहेछ । आफ्नै दिदी भेटे जस्तो लाग्यो । उहाँले नै आफ्नो लागि भनेर ल्याएको जुस, ब्रेड, स्याउ हामीलाई दिनुभयो । विदेशमा पहिलोपटक नेपाली दिदीले गरेको त्यो सहयोग मेरो जीवनको मिठो पल थियो ।
दुबई पुगेको दुई चार दिन त घरको यादले निकै सतायो । एक हप्तापछि बल्ल हामीलाई ल्याएको रोजगारदाताले हाम्रो तालिम सुरु गरायो । तालिम गरेपछि लिखित मौखिक परीक्षा भयो । त्यसमा म सबैभन्दा पहिलो भएँ । दुबई आएको १७ औं दिनबाट काम सुरु भयो । त्यसपछि न कसैलाई सम्झिने फुर्सद भयो न त रुन नै मन लाग्यो । त्यसपछि बढी पैसा कसरी कमाउने र बचाउने भन्नेतिर ध्यान जान थाल्यो ।
विस्तारै काम पनि सजिलो लाग्दै गयो । सुरुसुरुमा त खान पनि रुचदैनथ्यो । अहिले त मिठो गरी खाना खान पाइएको छ । तर हरेक छाक मासु खाँदा भने घरको याद आउँछ । म सानो छँदा दशैंको मुखैमा बिरामी भएको थिएँ र घरको सबै पैसा मेरो उपचारमै सकिएको थियो । त्यतिबेला घरमा पैसा नहुँदा बुवाले छिमेकीकोबाट उधारो पाँच किलो मासु ल्याउनुभएको थियो र हामीले दशैं मनाएका थियौं । परदेशमा यस्तै यस्तै कुराहरु दिमागमा घुम्ने रहेछन् ।
नेपालमा वर्षमा एक पटक दशैं आउँछ, तर परदेशमा यहाँ हरेक महिनाको तलब आउने दिन दशैं आउँछ । धरैले रक्सी र मनोरञ्जनमा पैसा खर्च गर्छन् । तर मजस्तै केहीलाई भने आएको तलब घर पठाउनै ठिक्क हुन्छ ।
जिन्दगी यसैगरी चलिरहेको छ । सोचे भन्दा राम्रो काम पाइएको छ । नेपाली, भारतीय पाकिस्तानी, श्रीलङ्कन, अफ्रिकन लगायत विभिन्न देशका निकै मिल्ने साथीहरु पाएको छु । घरमा पनि हरेक दिनजसो कुरा भइरहन्छ । त्यता पनि सबै राम्रै चलिरहेको छ । असल सङ्गत र राम्राे बानी व्यवहार भए विदेशमा दुःख पाइदैन भन्ने उदाहरण हुँ म ।
यहीँबाट पुरा गर्नुपर्ने केही सपनाहरु छन् । त्यसपछि म पनि आफ्नै देशमा फर्किनेछु । नेपाल गएर परदेशमा सिकेको ज्ञान सीपको प्रयोग गर्दै आफ्नै व्यवसाय गर्ने सोचेको छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।