माछापालनले युवालाई आत्मनिर्भर बनाउँदै, माछाबाटै वार्षिक २० लाख कमाइ

 माघ २५, २०७७ आइतबार १०:३४:२ | भावुक योगी
unn.prixa.net

बर्दिया - झट्ट हेर्दा हास्य कलाकार बल्छी ध्रुवे जस्तै देखिने । हल्का दाह्री पालेका, बिहानैदेखि पोखरीभित्रका माछामै भुलिने । बर्दिया ठाकुरबाबा नगरपालिका-५ वनवीरपुरका नवराज रिजाल बल्छी ध्रुवे कलाकारले बल्छीबाट माछा मार्ने अभिनय गरेझैँ नवराज भने वास्तविक रुपमा आफ्नै पोखरीका माछा निकाल्ने काममै दिनहुँजसो व्यस्त हुनुहुन्छ । 

नवराज रिजाल एकाबिहानै उठेर आफ्नो माछा पोखरीमा जानुहुन्छ । माछालाई आहारा हालेर सकेपछि सहयोगीलाई साथमा लिएर पोखरीबाट माछा निकाल्न सुरु गर्नुहुन्छ । त्यति गर्दागर्दै उहाँको आँगनमा माछा किन्न व्यापारीहरू आइसकेका हुन्छन् ।

पोखरीबाट माछा निकाल्ने, बेच्ने काममै नवराजको बिहान बित्छ । दैनिक झण्डै ५ देखि ८ क्विन्टल माछा बिक्री गर्ने गरेको नवराजले बताउनुभयो । लामो समय बेरोजगार भएर बस्नु भएका नवराज अहिले ठाकुरबाबा नगरपालिका क्षेत्रकै सफल माछापालक कृषक हुनुभएको छ । 

‘लामो समयसम्म बेरोजगार भएर त्यत्तिकै घरमा समय बिताएँ । थोरै भए पनि आफ्नै श्रम र पूँजीले केही गर्छु भन्ने अठोट गरेँ अनि माछा पाल्न थालेँ । अहिले साझेदारीमा ठूलो परिमाणमा माछापालन गरेर आत्मनिर्भर भएको छु ’ उहाँले भन्नुभयो ।

७ वर्षअघि एक लाख लगानीमा ४ कठ्ठा त्यसपछि १ बिघा जग्गामा माछापालन सुरु गर्नुभएका नवराज रिजालले ५ बिघा जग्गा भाडामा लिएर थालेको माछापालन निक्कै फस्टाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको चोरीशिकारी नियन्त्रण युवा परिचालन अभियानमा लाग्नुभएका नवराजले माछा पाल्ने सोच त्यही संरक्षण अभियानबाटै बनाउनुभयो ।

केही वर्ष अघिदेखि माछापालन गरेर सफलता हासिल गर्नुभएका ठाकुरबाबा नगरपालिका-५ वनवीरपुरका माछा उद्यमी राजेन्द्र शर्मासँग अहिले उहाँको साझेदारी छ । शर्मा पनि जिल्लाकै सफल माछापालक किसानका रुपमा चिनिनुहुन्छ । अहिले साझेदारीमै नवराज र राजेन्द्रले झण्डै ४ हेक्टर जमिन भाडामा लिएर माछापालन गर्नुभएको छ । 

वर्षमा २ सय ५० देखि ३ सय क्विन्टल माछा बिक्री गर्ने गरेको नवराज रिजालले बताउनुभयो । खानका लागि माछा मात्रै होइन, माछाका भुरा पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । माछा र माछाका भुरा बिक्रीबाट वार्षिक १५ देखि २० लाख रुपैयाँ चोखो आम्दानी हुने गरेको नवराजले बताउनुभयो । सुरुका वर्षदेखि वार्षिक ४ लाखसम्म आम्दानी हुन्थ्यो, तीन वर्ष अघिदेखि वार्षिक १५ लाखसम्म आम्दानी भएको र यसवर्ष २० लाख आम्दानी भएको उहाँ बताउनुहुन्छ । 

माछा बेचेरै आम्दानी भएको रकमबाट झण्डै ३० लाख मूल्य पर्ने ३ कठ्ठा जग्गा पनि किन्नुभएको छ । पानीको समस्यालाई समाधान गर्न ४ लाख खर्चेर सोलारपम्प पनि राख्नुभएको छ । घाम लागेदेखि घाम नडुब्दासम्म लगातार पोखरीमा पानी हाल्न सहज भएको छ । माछापालनमा जति धेरै चुनौती छ त्यत्ति नै धेरै आम्दानी पनि छ नवराज रिजालले भन्नुभयो ।

माछा पोखरीमा रहु, सिल्भर, कमन, पंगासियस, ग्रास, भाकुर जातका माछा पाइन्छन् । उहाँहरुलाई माछाका लागि बजारको पनि खासै समस्या छैन । ‘बजारको खासै समस्या नै छैन । माछा व्यापारीहरू पोखरीमै आएर माछा लिएर जान्छन् । कहिलेकाहीँ त माग पुर्याउनै गाह्रो हुन्छ ’ नवराजले भन्नुभयो । 

नवराज, राजेन्द्रसँगै गोविन्दपुर गाउँका वीरबहादुर थारु कुष्माले पनि माछापालन व्यवसाय गर्नु भएको छ । ठाकुरबाबा नगरपालिका-५ कै वीरबहादुर थारुले पनि आफ्नो व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । माछापालनबाट उहाँले पनि वार्षिक १२ लाख रुपैँयासम्म आम्दानी गरिरहनुभएको छ ।     
     
पोखरीका माछा बर्दियासँगै बाँके, कैलाली र सुर्खेत जिल्लामा समेत जाने गरेको छ । तर बेलबेला लुकीछिपी अवैध ढंगबाट छिमेकी देश भारतका माछा बजारमा आउँदा आफूहरुलाई समस्या हुने गरेको उहाँहरुको गुनासो छ ।

परिवारको साथ र सहयोगले पनि व्यवसायमा निकै सहयोग पुगेको उहाँहरुको भनाइ छ । साझेदारी व्यवसाय गर्नुभएका नवराज र राजेन्द्र दुवै जना त्यत्तिकै मेहनती हुनुहुन्छ । एक अर्काप्रतिको विश्वास पनि उत्तिकै छ । पहिला घरघरमा माछा पुर्याउँदै माछा खान सिकाउने नवराजले आफू जस्ता केही युवाहरुलाई माछापालन व्यवसाय गर्न प्रेरित गर्नुभएको छ ।

यतिखेर यी तीन जना माछापालक युवा बेरोजगार युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कमाउनका लागि विदेश जानुपर्ने युवाहरुको मान्यता गलत रहेको उहाँहरुको धारण छ । बर्दियाको बढैयातालपछि अहिले ठाकुरबाबाको बगनाह क्षेत्र माछाका लागि प्रख्यात बन्दै गएको छ । 

पछिल्लो समय लामो समयको लकडाउनका कारण माछाको दाना खरिद तथा ढुवानीमा समस्या परेको माछापालक किसान राजेन्द्र शर्माले बताउनुभयो । सरकारले कृषी ऋणको अवधारणा ल्याए पनि वास्तविक किसानसँग सहुलियत ऋण र अनुदान कार्यक्रम पुग्न नसकेको माछापालक किसान राजेन्द्र शर्माको गुनासो छ । प्रतिफलमा आधारित भएर अनुदानका कार्यक्रम सञ्चालन गर्न कृषि क्षेत्रमा लागेका बर्दियाका युवाहरुको माग छ । 

बर्दियामा केही वर्षयता व्यावसायीक रुपमा माछापालन, बंगुरपालन र तरकारी खेतीबाट मनग्य आम्दानी गर्नेहरु बढ्न थालेका छन् । यस्तै उदाहरणीय व्यवसायीहरुकै सफलतालाई देखेर विभिन्न गाउँठाउँमा यतिबेला कृषि क्षेत्रमा लागेर व्यवसायीक रुपमा माछापालन, बंगुरपालन र तरकारी खेती गर्नेहरु थपिँदै गएका छन् । 

जान्ने हो भने गरी खाने उपाय धेरै छन् । कतिपय गाउँठाउँका युवाहरु आजभोलि कमाइ गर्न विदेशिने गर्छन । तर आफ्नो गाउँमा मेहनत गरेर पनि गाउँमै मनग्गे आम्दानी गर्न सकिँदो रहेछ । हिजोआज व्यावसायीक रुपमै माछापालन गर्नेहरु पनि बढ्दै गएका छन् । बर्दिया ठाकुरबाबा नगरपालिकाका माछापालन व्यवसायीहरुले माछाबाटै वार्षिक १० लाख देखि २० लाखसम्म आम्दानी गरिरहेका छन् ।

आफ्नै पहलमा आत्मनिर्भर बन्दै गएकाहरुको अनुभवलाई हेर्दा भन्न सकिन्छ । आफैँले प्रयास गर्ने हो भने न त, सरकारको मुख ताक्नुपर्छ न त, विदेशिनु नै पर्छ । काम गर्ने प्रसस्त सम्भावना गाउँमै छन् । यत्ति हो आम्दानीको श्रोत बनाउन आफूसँग भएको क्षमतालाई चिन्नु पर्छ र आफैँले प्रयास गर्नुपर्छ । यही कुरा नवराज, राजेन्द्र र वीरबहादुरले पनि स्वदेशमै मनग्गे आम्दानी गरेर पुष्टि गरिरहेका छन् । तपाईँ हामीले पनि गाउँमै यस्तै कृषि क्षेत्रमा लागेर अरु आम्दानी हुने केही काम गर्ने पो हो कि ?

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया