एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
दैलेख - निधारमा रातो टीका लगाएका नेत्रविक्रम चन्द 'विप्लव'ले काठमाण्डौको सभागृहमा हात हल्लाउँदै गर्दा नौमूलेका चन्द्रमणि खनाल उस्तै रातो ठाडो टीका लगाएर आँगनमा हातले बाँसको चोया मिलाउँदै हुनुहुन्थ्यो ।
विप्लवको रातो टीकाभित्र सरकारसँगको वार्ता सफल भएर भूमिगत जीवन त्यागेको उत्साह झल्कन्थ्यो भने खनालले लगाउनुभएको रातो टीकाभित्र नित्यपूजाको एउटा सामान्य अंशमात्र । तर विप्लवले त्यो दिन लगाएको टीकाभित्र शान्तिपूर्ण राजनीतिको उत्साह छचल्किँदा चन्द्रमणिको मुहार पनि पूर्णिमाको चन्द्रमाजस्तै धपक्क बल्यो ।
सुरक्षाकर्मी र आफ्नै कार्यकर्ताको बाक्लो घेराभित्र प्रधानमन्त्री र मन्त्रीहरूसँगै उभिएर सभागृहबाट हात हल्लाउने विप्लवको उत्साहमा काठमाण्डौबाट निकै टाढा पर्ने नौमूलेका सामान्य किसान चन्द्रमणिको खुसी मिसिनुको अर्थ के छ त ? ‘हामी यहाँका बासिन्दाले उबेला झेलेको कहानी भन्न थाल्ने हो भने दिनभरमा पनि भ्याइँदैन’, चन्द्रमणिले कारण खोतल्दै भन्नुभयो, ‘विप्लवले विद्रोहको बाटो छाडे रे भन्ने सुन्दा अरूलाई कस्तो भएको छ कुन्नि, हामीलाई त अलिअलि बाँकी रहेको डर पनि मेटियो भनेर खुसी लागेको छ ।’
यसो भनिरहँदा उहाँका आँखा अघिल्तिर २० वर्ष अगाडिको कहालीलाग्दो घटना सिनेमाको दृश्य जसरी घुम्न थाले ।
२० वर्षअघि २०५७ सालको चैत महिना । गाउँमा एकाएक गोली पड्केको आवाज सुनियो । प्रायः सबैको घरमा केटाकेटी, महिला र बूढाबूढीमात्रै । कहाँ के भयो, अब के हुने हो भन्ने डरले सबैकोे मुटुमा ढ्याङ्ग्रो ठोक्यो । सबैका ओठतालु सुके । पछि थाहा भयो, तत्कालीन विद्रोही माओवादीले नौमूले प्रहरी चौकीमा आक्रमण गर्दा ३२ जना प्रहरी ठाउँको ठाउँ मारिएछन् । मारिनेमा गाउँकै मान्छे पनि थिए।
आफ्नै अगाडि त्यो कहालीलाग्दो क्षण देखेका नौमूलेका बासिन्दालाई शान्तिको सास फेर्न त्यसको झण्डै ६/७ वर्षसम्म कुर्नुपर्याे । माओवादीको डरले कैयौँ विस्थापित भए । विद्यार्थीले पढ्न पाएनन्, शिक्षकले पढाउन पाएनन् । गाउँमा खेतीपाती गरेर बस्न पनि डर भयो । घरबाट हिँडेको मान्छे नफर्कँदासम्म सबैको मुटु ढुकढुक हुन्थ्यो । नेपालकै इतिहासमै द्वन्द्वको सबैभन्दा ठूलो घटना बेहाेरेका नौमूलेका बासिन्दाले वर्षौँसम्म कष्टपूर्ण र कहालीलाग्दो जिन्दगी बेहाेर्नुपर्याे ।
२०६५ सालमा शान्ति सम्झौता भएपछि बल्ल शान्तिको सास फेर्न पाइयो । गाउँ छाडेर गएकाहरू बिस्तारै फर्कन थाले । भत्किएका संरचना ठडिन थाले । केटाकेटी ढुक्क भएर स्कुल जान थाले । पहिले माओवादीले परेड खेल्ने ठाउँमा विद्यार्थी खेल्न थाले । द्वन्द्वको घाउ बिस्तारै पुरिन थाल्यो।
तर शान्ति सम्झौतामा आएको माओवादीकै एउटा समूह विप्लवको नेतृत्वमा फेरि विद्रोहकै बाटोमा लाग्दा नौमूलेका बासिन्दाको मन बेलाबेला झस्कन थाल्यो । फेरि द्वन्द्व बढेर अशान्ति मच्चिने हो कि भन्ने चिन्ता बढ्यो ।
‘विप्लव समूहको प्रभाव नौमूलेमा पनि देखिन थालेको थियो, चन्दा माग्ने र एकछिन काम छ भनेर बोलाउने गर्थे’, नौमूले गाउँपालिका ५ का वडाध्यक्ष भविराम बुढामगरले भन्नुभयो, ‘फेरि अवस्था पहिलेजस्तै हुने हो कि भन्ने डर हुन थालेको थियो ।’
सशस्त्र द्वन्द्वको बेलामा उहाँ पनि गाउँ छाडेर विस्थापित हुनुभएको थियो । शान्ति सम्झौतापछि गाउँ फर्कनुभयो । स्थानीय चुनावमा भाग लिनुभयो र जनप्रतिनिधिमा निर्वाचित पनि हुनुभयो ।
‘हामी निर्वाचित भएपछि द्वन्द्वले छियाछिया भएको गाउँलाई हराभरा बनाउने अभियान अगाडि बढाउँदैछौँ । यही बेला विप्लवको विद्रोहले अशान्ति मच्चाउने हो कि भन्ने डर थियो, अब ढुक्क भइयो’, भविरामले खुसी साट्नुभयो ।
द्वन्द्वले चिनिएको गाउँलाई विकास र समृद्धिले चिनाउन गाउँपालिकाले विभिन्न योजना ल्याएको छ । हाइड्रोपावरको हबसँगै युद्ध पर्यटन क्षेत्र बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य छ । ठूला योजना पूरा हुन समय लागे पनि बितेका २० वर्षमा नौमूलेमा धेरै परिवर्तन भएको छ । हरेक वडालाई सडकले जोडेको छ । खनीखोस्री गर्न सकेमा गाउँमै तरकारी फल्छ, दुई/चार पैसा कमाउन बाहिर जानुपरेको छैन ।
‘केटाकेटीले ढुक्क भएर स्कुल पढ्न पाएका छन्, बिरामी हुँदा गाउँमै प्राथमिक स्वास्थ्य चौकी छ, ठूलो बिमार भएर कतै जानुपर्दा गाउँपालिकामै एम्बुलेन्स छ, हेर्दाहेर्दै गाउँ फेरियो, शान्ति आयो’, ५० वर्षीया धनसरी खनालले फुरुङ्ग हुँदै भन्नुभयो, ‘विप्लवको डर बाँकी नै थियो, अब वार्ता सफल भयो रे भन्ने सुनेपछि खुसी लागेको छ ।’
स्थानीयबासिन्दाको आशा र उत्साहमा गाउँपालिकाका अध्यक्ष भदे बुढामगर पनि खुसी साट्नुहुन्छ । ‘नौमूलेलाई शान्त र समृद्ध बनाउने हाम्रो अभियानमा विप्लव समूहको अवरोध होला कि भन्ने थोरै चिन्ता थियो, त्यो पनि मेटियो । सरकार र विप्लव समूह दुवैलाई बधाई र धन्यवाद ।’
विप्लव नेतृत्वको पार्टी र सरकारबीचको वार्तालाई आशङ्काको रूपमा हेर्नेहरू पनि छन् । हतियारको बारेमा प्रष्ट नहुँदा के हो के भन्ने अन्योल पनि छ । वार्ताभित्र स्वार्थ छ भन्नेहरू पनि छन् । नौमूलेकी धनसरी खनाललाई यी सबै कुरा थाहा छैन, मात्र विप्लव र यसपछि अर्को समूह फेरि पनि बन्दुक बोकेर नहिँडोस् भन्ने कामना छ ।
‘जति दुःख भोग्नुपर्ने थियो, हामीले भोगिसक्यौँ’, धनसरीले हात जोड्दै भन्नुभयो, ‘अब फेरि हतियार बोकेर अशान्ति मच्चाउने काम कसैबाट नहोस्, हाम्रा सन्ततिले हाम्रो जस्तो अवस्था भोग्न नपरोस् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।