बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
भक्तपुर – नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज (बुधवार) विभिन्न जिल्लाबाट मानिसहरूको भिड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा बुधवार बिहानैदेखि सुरु भएको छ । जात्रा हेर्न भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।
जात्राको चौथो दिन चैत ३१ गते अर्थात् पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिका ५ योसिङ्खेलमा ५५ हात लामो लिङ्गो ठड्याउने परम्परा भए पनि यस वर्ष बुधवार दिउँसोसम्म पनि लिङ्गो उठाउन सकेको छैन । सोमवार (हिजो) साँझदेखि नै हजारौँको सहभागितामा लिङ्गो उठाउन खोज्दा पनि दिउँसोसम्म लिङ्गो उठाउन सकिएको छैन ।
पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ३१ गते उठाएर १ गते दिनभर जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई वटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर लिङ्गो ठड्याइने प्रचलन रहेको छ ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नास हुन्छ भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउनुहुन्छ ।
चरखण्डीमा रातिदेखि नै भिड
बुधवार नै सूर्यविनायक नगरपालिका १ सिरुटार र दधिकोटको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भइ गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो ।
किंवदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण फेरि जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ भने यही विश्वासले मङ्गलवार यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भिड लागेको छ ।
प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरूले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास रहिआएको वडा नम्वर १ का वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीन वटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराइ बिहानै ल्याइएको खट फेरि मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।
त्यसैगरी दधिकोटको चित्रपुरमा रहेको छुमा गणेश मन्दिरमा पनि बुधवार बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार, बालकोट र ललितपुरको टीकाथली जोड्ने दोभानको गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।
यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोलटोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
थिमिमा चान्हेसिया अर्थात् रात्रिको जात्रा मनाइयो
चैत मसान्तको दिन साँझबाट सुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा बुधवार बिहान थिमिमा सम्पन्न भएको छ । मध्यपुरथिमिका बासिन्दाले मनाउने यस जात्रामा मङ्गलवार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराइ चान्हेसिया जात्रा सुरु गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा रहेका दिगु भैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।
जात्रामा थिमिका अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाइ दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि फेरि बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेँको दक्षिणबाराही मन्दिर परिक्रमा गराएको थियो ।
त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराइ बालकुमारी मन्दिरमा ल्याइ पुर्याएर पाँच पटक परिक्रमा गराएपछि त्यही ठाउँमा आ–आफ्नो आसनमा खटहरूलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा सोमवार साँझ सुरु भइ मङ्गलवार बिहान झण्डै ४ बजे सम्पन्न भएको थियो । यहाँको जात्रा मनाउँदा प्रत्येक घरबाट चिराग बालेर हात हातमा लिएर मन्दिर परिक्रमा गर्ने गरिन्छ । यो पर्व लोप हुन नदिन नगरपालिकामा ‘चिलाख (चिराग) गुठी’ नै स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
थिमिमा आज विष्णुवीर सिद्धिकाली जात्रा
त्यस्तै मध्यपुरथिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकाली जात्रा बुधवार साँझ थिमिमा मनाउँदै छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरसमेत परिक्रमा गराइन्छ ।
विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिबाजा बजाउँदै लाने प्रचलन रहेको छ ।
त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पुर्याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराइ भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दुर चढाइ आ–आफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने स्थानीयवासी रमेश श्रेष्ठले बताउनुभयो ।
तस्बिर : रासस/रत्न श्रेष्ठ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।