पर्सिको चन्द्रग्रहण नेपालबाट नदेखिने, ग्रहण पनि बार्नु नपर्ने

 जेठ १०, २०७८ सोमबार ९:१:४० | रासस
unn.prixa.net

काठमाण्डाै - जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । 'नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ', उहाँले भन्नुभयो ।

 यो छायाँजनित ग्रहण भएकाले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । 'पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन', सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भन्नुभयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् समेत रहनुभएका समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया