नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
दैनिकीलाई चलायमान बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्छ । निषेधाज्ञाकै कारणले मात्र सङ्क्रमणको जोखिम रोकिन्छ भन्ने पनि होइन । सरकारले बिस्तारै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने नीति लिएको छ । अहिले सार्वजनिक गाडी, पसल तथा कार्यालयहरु सञ्चालनमा आएका छन् । निषेधाज्ञा खुकुलो भएर गाडी, पसल र कार्यालयहरु सञ्चालनमा आउनुलाई सङ्क्रमण मुक्त भयौँ भन्ने बुझ्नु जोखिमपूर्ण हुन्छ । निषेधाज्ञा खुकुलो बन्दै जाँदा हामीले अझै धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ ।
सार्वजनिक यातायात, कार्यालय र पसल भीडभाड हुने क्षेत्र हुन् । यसले कोरोनाको सङ्क्रमण बढ्न सक्ने चुनौती थपिदिएको छ । जीवन चलायमान बनाउँदै लैजान र सङ्क्रमणको जोखिम हुन नदिन स्वास्थ्य मापदण्डको पालना गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । अबका दिनमा जनस्वास्थ्यको मापदण्डको पालना गर्ने अभ्यास प्रभावकारी रुपमा गर्नुपर्छ ।
सार्वजनिक गाडीमा अपनाउनुपर्ने सावधानी
सार्वजनिक यातायातको हकमा सरकारले भनेको मापदण्ड अनुसार नै यात्रु राख्नुपर्छ । मापदण्डको उल्लङ्घन गर्नु हुँदैन । काठमाण्डौ उपत्यकामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने, सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा गाडी निसङ्क्रमित गर्नुपर्ने भनिएको छ । यी कुराहरु अवलम्बन गर्नै पर्छ ।
विभिन्न कारणले सार्वजनिक गाडी चढ्नुपर्ने बाध्यता हुन्छ। हाम्रो आवश्यकताका कारण गाडीमा भीड बढ्न सक्छ । आवश्यकता छ भन्दैमा मापदण्ड बाहिर जानु हुँदैन । यात्रु र यातायात व्यवसायी यसप्रति सचेत हुनुपर्छ । कोरोनाको सङ्क्रमणबाट जोगिन गाडीमा बस्दा दूरी कायम गर्ने र एक–अर्कोको सम्पर्कमा सकेसम्म आउनु हुँदैन । मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ । गाडीमा यात्रा गर्दा हातले जताततै छुनु हुँदैन । सतहमा जति धेरै छोयो, त्यति नै धेरै कोरोनाको जोखिम हुने सम्भावना रहन्छ ।
महँगाे स्यानिटाइजर किनेर प्रयोग गर्न नसके पनि सजिलै उपलब्ध हुने साबुन पानीले हात धुनु पर्छ । यो एकदमै जरुरी छ । हामी कोरोना सङ्क्रमणको जोखिमबाट मुक्त भइसकेका छैनौँ, त्यसैले यात्रु, चालक र सहचालकले जनस्वास्थ्यको मापदण्डको पालना गर्न अति आवश्यक हुन्छ । यसमा चालक र सहचालकले बढी जिम्मेवारी बहन गर्नुपर्छ ।
चालक र सहचालकले यात्रुहरुलाई जनस्वास्थ्यको मापदण्डको पालनाका बारेमा सम्झाउनु पर्छ । मास्क नलगाएको भए मास्क लगाउन आग्रह गर्नुपर्छ । भीड नगर्नुस् भनेर अनुरोध गर्नुपर्छ । गाडीको सरसफाइमा अलि बढी ध्यान दिनुपर्छ ।
यात्रु, चालक र सहचालकको बीचमा सहकार्य हुनुपर्छ । चालक र सहचालकले सहयोग नगरेमा यात्रुलाई मापदण्ड पालनामा कठिनाइ हुन सक्छ ।
पसलमा ग्राहक र बिक्रेताले ध्यान दिनुपर्ने कुरा
सम्भव भएसम्म एक अर्काबीचको सम्पर्कलाई घटाउनुपर्छ । पसलमा गएर पटक–पटक सामान ल्याउनुभन्दा एकै पटक अलि धेरै परिमाणमा सामान किनेर ल्याउनु उपयुक्त हुन्छ । दिनदिनै पसल जानुभन्दा दुई/तीन दिनको लागि पुग्ने गरी एकै पटक सामान किनेर ल्याउनु पर्छ।
उपभोग गर्ने कुरामा अलिकति खुम्चिनु परे पनि स्वीकार गर्नुपर्छ । हिजोका दिनमा जे जस्ता सामान उपभोग गरिन्थ्यो, त्यसमा केही कमी भए पनि स्वीकार गर्नसक्ने बानी बसाल्नुपर्छ । र छिटो र भीड नहुने तरिकाले खाद्यान्न वा तरकारी किनेर ल्याउने कोशिस गर्नुपर्छ ।
उदाहरणका लागि तरकारी पसलमा आलु किन्न जाँदा हामी आलु छान्नमै पाँच मिनेट लगाउँछौँ । त्यसरी धेरै बेर समय लगाउँदा एकातिर समयको बर्बाद हुन्छ भने अर्कोतिर भीड बढ्छ । समयको बर्बाद नहोस् र भीडभाड नहोस् भन्नका लागि तरकारी बेच्नेहरुले एक किलो, दुई किलो पहिले नै जोखेर राख्न सक्छन् । ग्राहक किन्न आएपछि पहिले नै जोखेर राखेको दिँदा धेरै भीडभाड पनि हुँदैन र छिटो हुन्छ । ग्राहकले पनि पहिला नै जोखेर राखेको आलु किनेर ल्याउँदा एक, दुई वटा नराम्रो आलु परेमा चित्त बुझाउनुपर्छ ।
आलु छानुञ्जेल, जोखुञ्जेल र प्लाष्टिकमा राखुञ्जेल एक अर्काबीचको सम्पर्क बढ्छ । त्यो जोखिमपूर्ण हुन्छ । पसलहरुमा पनि हामीले सुरक्षाका विधिहरु अपनाउन सक्छौँ । ग्राहक र बिक्रेताबीच सहकार्य हुनु अति नै आवश्यक छ । बिक्रेताले ग्राहकको अप्ठ्यारालाई बुझिदिनुपर्छ र ग्राहकहरुले सुरक्षाका विधि अपनाउन भूमिका खेल्नुपर्छ । एक/दुई वा पाँच मिनेट ढिला भएर खासै फरक पर्दैन ।
कार्यालयहरुमा टोकन प्रणाली ठिक हुन्छ
कार्यालयहरुमा गएर धेरैबेर कुर्नुपर्ने वातावरण सकेसम्म बनाउनु हुँदैन । लाइन लगाएर वा भीडभाड गरेर राख्नुभन्दा टोकनको व्यवस्था गर्न सके राम्रो हुन्छ । टोकन प्रणाली लागू गर्न सके भीडभाड कम हुन्छ । भीडभाड हुन नदिने र स्वास्थ्य मापदण्डका अरु उपाय अपनाउने विषयमा सेवाग्राही सतर्क हुनुपर्छ । र सेवा प्रदायकहरु अझ धेरै सतर्क हुनुपर्छ । सेवा प्रदायकहरुले स्वास्थ्य मापदण्डको पालना गरे या नगरेको विषयमा निगरानी बढाउने र नगरेको भएमा पालना गर्न लगाउनुपर्छ ।
(जनस्वास्थ्यविद डाक्टर शरद वन्तसँगको कुराकानीमा आधारित । उहाँसँगको कुराकानीमा तयार कोरोना क्याप्सुल सुन्नुहोस् ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. शरद वन्त जनस्वास्थ्यविद् हुनुहुन्छ ।