एनपीएल खेल्न न्युजिल्यान्डका मार्टिन गप्टिल नेपाल आइपुगे
मंसिर १३, २०८१ बिहिबार
‘साउनमा त खिर पो खाँदा रैछन् है ममी ! हाम्रोमा कहिले बनाउने ?’ अनलाइन पढ्दै गरेकी छोरी मोबाइल हेर्दै भान्छाभित्र पसिन् ।
‘कसरी थाहा पाइस् नि ?’ तरकारी बसालेर मोबाइल नै खेलाउँदै गरेकी आमाले सोधिन् ।
‘टिकटकमा हेरेर नि । टिकटकमा पल्लोघरकी अन्टीले कस्तो मिठो खिर बनाएर राख्नुभएको थियो ।’
‘टिकटकमा देखेको खिर मिठो थियो कि नमिठो कसरी थाहा हुन्छ ? जे पनि भन्छे !’
‘अघिल्तिर टेबलमा खिर राखेर मस्कँदै कम्मर मर्काउँदै हुनुहुन्थ्यो । मिठै भएर त होला नि त्यसरी कम्मर मर्काएको ।’
‘ए त्यसो भए त्यो मोरीले टिकटकमा खिर राख्न भ्याइसकी है ! असारमा त त्यसले भन्दा पहिले टिकटकमा दही चिउरा खाएको मैले राखेथेँ । खिरमा त्यसले जितिछ । ठिकै छ ।’
‘यहाँ हेर्नुस् न, हाम्री मिसले पनि खिर खाएर तीजको गीतमा नाच्दै गरेको फोटो राख्नुभएछ ।’
‘कति टिकटक मात्रै हेरेर बस्छेस् हँ ? तेरो मिसलाई पनि पढाउनु पर्दैन कि क्या हो, खाली टिकटक बनाएर मात्रै बस्ने रैछिन् त ।’
‘अनलाइन क्लास पढाउन थालेपछि त सरमिस, हामी सबैले टिकटक बनाउन सिक्यौँ नि ।’
‘ल ल धेरै बाठो हुने होइन । खाली टिकटक भन्या छ मोबाइल क्याचक्याच थिच्या छ । मस्केको छ, उफ्रेको छ । पढ्ने लेख्ने होइन । खुरुक्क पढेर बस्ने त्यहाँ ।’ छोरीलाई टिकटक नहेर्न भन्दै आमा मोबाइलमा टिकटक हेर्दै पल्लो कोठामा पसिन् । श्रीमान पनि टिकटकमा दोहोरीको टुक्का हेरेर हाँस्दै थिए ।
‘ल हेर खिरको कति धेरै टिकटक । यसपालि म मात्रै पछि परेँ । सुन्नुस् त पसल गएर दुई लिटर दूध लेराउनुस् त । खिर बनाएर टिकटकमा राख्नुपर्यो ।’
‘खिर बनाएर टिकटकमा राख्ने हो कि खाने हो ?’
‘पहिले टिकटक बनाउने, अनि खाने । टिकटक नबनाइ खाएको पनि पच्छ र ?’
‘ल ल लेराउँला कति लिटर ल्याउने नि दूध ?’
‘लेराउनु न, तीन चार लिटर ।’
‘ममी ममी दूध चाहिँ कहाँबाट आउँछ ?’ त्यहीँ कोठामा अनलाइन पढिरहेको सानो छोरोले सोध्यो ।
‘डेरीबाट आउँछ नि ।’
‘अनि डेरीमा चाहिँ कहाँबाट लेराउँछन् नि दूध ?’
‘खै पहिलेपहिले त गाईभैँसी दुहेर ल्याउँथे के रे । अहिले त खै कहाँबाट लेराउछन्, मलाई पनि थाहा छैन ।’
‘गाईभैँसी चाहिँ कस्तो हुन्छ ?’
‘किताब हेर न त्यहीँ छ त गाईभैँसीको फोटो ।’
‘तपाईंले पनि किताबमै हेरेर थाहा पाएको हो ?’
‘तिमीहरुले जस्तो कहाँ किताबमा मात्रै हेरेर बस्न पाइयो र ? उबेला गाईभैँसी चराउनुपर्थ्यो, घाँस भकारो गर्नुपथ्र्यो । दूध दुहुनुपर्थ्यो । एकचोटी गोबर सोहोर्दा महिना दिनसम्म हात गन्हाउँथ्यो । अहिले त सम्झँदा पनि घिन लाग्छ ।’
‘अहिले चाहिँ कसले सोहर्छ त गोबर ?’
‘खै तेरै हजुरबा, हजुरआमाहरुले सोहोर्नुहुन्छ होला नि गाउँमा ।’
‘अस्ति हजुरआमाले गाउँबाट घिउ पठाउनुभएको हाम्रै घरको गाईको हो ?’
‘खै होला त ।’
‘घिउ त मिठो थियो है ममी । तर घिउ खाँदा त गोबर गन्हाएन नि !’
‘दूध, दही, घिउ, खिरमा त कहाँ गोबर गन्हाउँछ त ?’
‘अनि हजुरआमाले पनि हातले गोबर सोहोर्नु भएको हैन र ? गोबर सोहोर्दा हात गन्हाउनुपर्ने, अनि त्यही हातले बनाएको घिउ पनि गन्हाउनुपर्ने हो नि ?’
‘आ...यो केटो पनि के के मात्रै सोध्छ ? गोबर सोहोर्दा गन्हाउँछ, घिउ खाँदा गन्हाउँदैन !’
‘अनि नि ममी......’
‘ल ल अब चुप लाग । बरु एउटा भिडियो खिच त यो तरकारी र मेरो आउने गरी । खिरभन्दा पहिले तरकारी राख्नुपर्यो टिकटकमा ।’
‘ममी तरकारी चाहिँ गमलामा फल्छ हो ?’
‘हो हो गाउँमा खेतबारीमा फल्छ । सहरमा चाहिँ गमलामा ।’
‘अनि गाउँमा त कसैले पनि तरकारीको फोटो र भिडियो फेसबुक र टिकटकमा राख्दैनन् त । सहरमा चाहिँ जसले पनि भिडियो र फोटो बनाएर राखिहाल्ने किन होला ?’
‘खेतबारीमा फलेको पनि के भिडियो र फोटो बनाउनु त ? गमलामा फलाएको फोटो राम्रो हुन्छ, त्यसैले नि । ल ल यो घिरौँलाको फूल र मेरो कपालको फूलसमेत देखिने गरी भिडियो बनाउ है ।’
‘उ बाबाले दूध लेराउनुभयो ।’
‘के हो बाबा डेरीको साहुनीसँग दूध किनेको पनि भिडियो बनाएर टिकटकमा हाल्नुपर्छ’ छोरी मोबाइल हेर्दै आइपुगिन् ।
‘यो मान्छेको काम छैन, जहाँ पुग्यो त्यहीँ टिकटक’ श्रीमतीले आँखा तरिन् ।
‘अँ तिमी नि तिमी.....कहिले भोगटे बोकेर टिकटक बनाएको छ, कहिले सुन्तला समातेर टिकटक बनाएको छ । कहिले कुनि के जाति यसपालिको तीज पुतली भनेर नाचेको छ।’
‘बनाउँछौँ त के। हैन त छोरो ? ल ल दूध दिनुहोस् अब खिर बनाउनुपर्छ’ भन्दै श्रीमती भान्सामा पसिन् ।
‘साउनमा खिर खानुपर्छ हो बाबा ?’
‘त्यसै भन्छन् । गाउँमा हुँदा असार साउनमा दूध पाउनै मुश्किल । गाउँका सबैले पालैपालो हरेक घरबाट दूध जम्मा पारेर खिर खाने चलन थियो । अहिले सहरमा आनन्द छ । खल्तीमा गाँठ भए जतिखेर पनि भने जति दूध पाइन्छ । त्यसैले खानुपर्छ नि । टिकटक बनाउन पनि पहिले खिर बनाउनुपर्छ ।'
‘ल ल ममी खिर पाक्यो हैन ? खाउँ न त’ छोरी भान्सामा पसिन् ।
‘पहिले खाने कि टिकटक बनाउने ?’
‘टिकटक बनाउने नि !’
‘ल म पस्केर टेबुलमा राख्छु । अनि भिडियो खिच्ने है त !’
‘खै यहाँबाट त राम्रो आएन...म टेबुलमै बसेँ है । ल खिच्नु त पहिले मेरो’ भन्दै श्रीमती मोबाइलतिर हेर्दै टेबुलमा बस्न मात्रै लागेकी थिइन्, टेबुलको एउटा खुट्टा कोल्टे परेर खिर र मान्छे गर्ल्यामगुर्लुम भुइँमा !
‘थुक्क...सत्यानाश नै भइहाल्यो नि....हेर त खिर त राजाको माल खरानी भयो । लौ तिम्रो हातमा पनि तातो खिरले पोलेजस्तो छ’ श्रीमानले हत्तपत्त उठाए ।
‘भिडियो त बन्यो नि हैन....ल ठिक छ, टिकटकमा झन् धेरै भ्युज आउँछ’ श्रीमती हात सुम्सुम्याउँदै उठिन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
प्रदिप पौडेल
Aug. 2, 2021, 8:16 p.m.अहिलेको समसमायिक बिषयमा र नेपाली हरुले दुरुपयोग गरेका प्रविधिको बारेमा राम्रो ब्यङ गर्नुभयो। मलाइ सार्है मन पर्यो।