तनहुँको जीपी कोइराला अस्पतालमा पहिलाे पटक हर्नियाको शल्यक्रिया सफल

 असोज १५, २०७८ शुक्रबार १४:१:४३ | रासस
unn.prixa.net

तस्बिर : रासस

तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकाे जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । 

केन्द्रले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा.परिवर्तन बरालले जानकारी दिनुभयो । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाएर लठ्याएर शल्यक्रिया गरिएको छ ।

दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरामा रहेकाे गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उहाँले जीपीमा नै शल्यक्रिया गराउनुभएको हो । 'हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपर्थ्यो, अब सर्वसाधारणलाई सहज हुन्छ', डा बरालले भन्नुभयो । 

यस अस्पतालले यसअघि भदौ पहिलो हप्ता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा. विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ । 

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा बिहान १० देखि दिउँसाे ४ बजेसम्म ओपीडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ ।  

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया