नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ उपत्यकामा रहेका धेरैजसो सार्वजनिक शौचालय भित्र पस्दा सबैले नाकमुख थुनेर भन्छन् : ‘छिः’ । ह्वास्सै आउने दुर्गन्ध, टेकी नसक्नुको हिलो, प्यानमा भएको दिसा–पिसाब। यी सबै कुराका बाबजुद नाकमुख र आँखा चिम्लेर शौच गर्नुपर्छ ।
तर स्वयम्भूको बुद्धपार्क पछाडि रहेको सार्वजनिक शौचालय भित्र पस्दा भने भन्न मन लाग्छ ‘आहा !’ सफा परिसर हुँदै चिटिक्क परेको भवन भित्र पस्दा यो शौचालय सार्वजनिक नै हो र भन्ने लाग्छ । नाक थुन्नु पर्दैन । चुकुल नभएर ढोका ठेलिरहनु पर्दैन ।
शौच गरेपछि खन्याउने पानी छैन कि भन्ने चिन्ता छैन । हात धुनलाई साबुनपानी छ । धाराको टुटीमा हात देखाएपछि पानी झर्छ । अर्को भाँडो अघि हात देखाएपछि साबुन झर्छ । अर्को ठाउँमा हात देखाएपछि तातो हावाले हात सुकाइदिन्छ । कुनै भाँडा तथा धाराहरु नछोइकन हात सफा पारेर फर्कन सकिन्छ ।
सार्वजनिक शौचालयमा सबैभन्दा धेरै चिन्ता महिलालाई हुन्छ । तर स्वयम्भूमा रहेको सार्वजनिक शौचालयमा समस्या झेल्न पर्दैन । ढोकाको चुकुल राम्रोसँग लाग्छ । साथमा रहेको झोला झुण्ड्याउने ठाउँ छ । महिनावारी भएको भए प्याड फेर्न पर्याप्त ठाउँ छ ।
६ रुपैयाँमा एउटा प्याड किन्न पाइन्छ । सिक्का राखेर मेसिनबाट झिके पनि हुन्छ, सँगै रहेको पसलमा किने पनि हुन्छ । फेरेको प्याड नष्ट गर्ने मेसिन छ । साथमा बालबालिका छन् भने उनीहरुको डाइपर फर्ने ठाउँ र फ्याँक्ने भाँडो पनि छ ।
विश्वको उत्कृष्ट ५ मा पर्न सफल
स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जङ्गलको बाटोमा बायाँपट्टि रहेको यो सार्वजनिक शौचालयलाई संयुक्त राष्ट्रसङ्घले सन् २०२० मा ‘साइन्स टेक्नोलोजी इनोभेसन’ अवार्ड प्रदान गरेको छ ।
यस्तै सन् २०२१ को अगष्टमा स्वीडेनमा भएको विश्व पानी सम्मेलनका क्रममा आयोजित ‘सरफाती सेनिटेसन च्यालेञ्ज’ मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय उत्कृष्ट ५ मा पर्न सफल भएको छ । नोभेम्बर अन्तिम सम्ममा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ ।
यो शौचालय बनाउँदा पूर्वाधार, वातावरणमैत्री र व्यवस्थापनलाई जोड दिइएको एराेशन सस्टेनेबल स्यानिटेशनका कार्यकारी प्रमुख एवम् स्मार्ट शौचालयका अभियन्ता प्रकाश अमात्य बताउनुहुन्छ । गुथि नामक संस्थामा आबद्ध अमात्यकै सक्रियतामा गुथि, काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ लगायतको सहयोगमा यो शौचालय निर्माण गरिएको अमात्यले बताउनुभयो ।
लैङ्गिक, अपाङ्गमैत्री र आधुनिक पूर्वाधार
शौचालयमा स्वचालित फ्लस प्यान, स्वचालित धारो, साबुनको भाँडो, हात सुक्खा गर्ने मेसिन, प्याड निकालिने मेसिन, प्याड नष्ट गर्ने मेसिन, सुधारिएको प्यान लगायत आधुनिक प्रविधि प्रयोग गरिएको शौचालयमा झोला झुन्ड्याउँने ठाउँ, डाइपर परिवर्तन गर्ने ठाउँ लगायतका पूर्वाधार छन् जसले शौचालय प्रयोगलाई सहज र सुरक्षित बनाइदिएको छ ।
छत र दुईतर्फका झ्यालमा राखिएको भेन्टिलेसनले शौचालयमा हावा गुम्सिन दिँदैन त्यसैले दुर्गन्ध हुँदैन । ह्विल चियर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्ति पनि सजिलै शौचालयसम्म पुग्न सक्छन् ।
पानी प्रशोधन र लेदो व्यवस्थापन गर्ने प्रविधि
शौचालयबाट निस्कने फोहोर ढलमा पठाइँदैन । चर्पी परिसरमा बनाइएको ट्याङ्कीबाट बायोग्याँस निकालिन्छ । चर्पीबाट महिनामा झण्डै दुई सिलिन्डर बराबर ग्याँस निस्कने र त्यो ग्याँस शौचालय परिसरमा रहेको चिया पसलमा चिया पकाउने प्रयोग गरिने अमात्यले बताउनुभयो ।
शौचालयमा हात धुँदा तथा भुईँ सफा गर्दा निस्किएको पानी प्रशोधन गर्ने प्रविधि छ । फिल्टर तथा सिमसार प्रविधिबाट फोहोर पानीलाई पुनः प्रयोग गर्न मिल्ने पानी बनाइन्छ । यसरी झण्डै ८० प्रतिशत पानी पुन प्रयोग हुने अमात्यले बताउनुभयो ।
चर्पीको छतबाट अकासे पानी सङ्कलन गरेर ट्याङ्कीमा जम्मा हुन्छ । यसरी आकासे पानी सङ्कलन र फोहोर पानी प्रशोधनबाट शौचालयमा आवश्यक पानी प्राप्त हुने र सुक्खाहुने केही महिना मात्र पानी किन्नु पर्ने उहाँले बताउनुभयो । दिसाजन्य लेदो व्यवस्थापन, फोहोर पानी प्रशोधन, बायोग्याँस लगायतका प्रविधिहरु वातावरणमैत्री संरचना हुन् ।
काम गर्नेहरु आफैँ व्यवस्थापक
शौचालयको सञ्चालनका लागि स्वाभिमानी सरसफाइ नामको समूह छ । जसमा सरसफाइलाई पेसा बनाएकाहरु नै सदस्य रहेका छन् । उनीहरुले स्वयम्भूमा रहेको सार्वजनिक शौचालयसँगै काठमाण्डौ उपत्यकामा रहेका अरु स्मार्ट शौचालयको पनि व्यवस्थापन गर्छन् ।
शौचालयमा दिसा गरेको १५ रुपैयाँ र पिसाब गरेको १० रुपैयाँ शुल्क लाग्छ । तर अमात्य भन्नुहुन्छ ‘पी फ्रि, टी अफर’ अर्थात दिसा पिसाब सित्तैमा चिया किन्नुपर्ने व्यवस्था रहेको छ । दिसा पिसाब गरेर १५ रुपैयाँ तिर्नेहरुले कालोचिया सित्तैमा पाउँछन् । शौचालय बाहिर बसेर चिया खान शान्त वातावरण छ ।
सङ्कलन भएको रकम समूहको खातामा जान्छ । समूह गैह्र नाफामूलक हो । तीन वटा सिफ्टमा गरी तीन जना मानिस खटिन्छन् । उनीहरुको पारिश्रमिक, सरसफाइका लागि सामग्री खरिद, मर्मतसम्भार लगायतको काम त्यही समूहले गर्छ ।
समूहले विभिन्न ठाउँको शौचालय व्यवस्थापन गर्ने भएकाले एक ठाउँमा घाटा भए पनि अर्को ठाउँमा भएको नाफाले व्यवस्थापन हुने अमात्य बताउनुहुन्छ । ५५ लाख हाराहारी खर्च भएको शौचालय निर्माणका लागि अन्यत्रबाट लगानी जुटाइएको छ । सञ्चालन खर्च समूहले सङ्कलन गर्ने शुल्कबाट धानिरहेको छ ।
शौचालयभित्रै सानो क्यान्टिन पनि छ । जहाँ चिया, तरकारी, चिउरा, चाउचाउ, बिस्कुट, पानी, जुस लगायतका खानेकुरा पाइन्छ । शौचालयभित्रै फोहोर हुँदैन भन्ने लाग्न सक्छ तर शौचालय सफा छ भने बाहिर बसेर खान मिल्ने ठाउँ छ ।
यो शौचालय शौच गर्ने मात्र नभएर सिक्ने ठाउँ पनि रहेकोले केहीबेर शौचालय परिसरमै बसेर हेर्न पाउन् भनेर चियाको व्यवस्था गरेको अमात्य बताउनुहुन्छ । यसले शौचालय सञ्चालनका लागि समूहलाई भरथेग पनि हुन्छ । शौचालयमा रहेको पसलमा बाहिरभन्दा सस्तोमा महिनावारी प्याड र दस रूपैयाँका दुई वटा मास्क पनि किन्न पाइन्छ ।
शौचालय भित्र पस्दा मास्क अनिवार्य छ । कोरोना भाइरस लगायत विभिन्न रोगको जोखिमप्रति शौचालय व्यवस्थापन सचेत छ ।
सिक्न लायक प्रविधि
शौचालयमा प्रयोग भएको प्रविधि सिक्न लायक छ । त्यहाँ प्रयोग भएका प्रविधि घरका शौचालयमा पनि प्रयोग गर्न सकिन्छ भने अरु ठाउँमा बनाउने सार्वजनिक शौचालयमा पनि यस्ता प्रविधि र व्यवस्थापनका सीपहरु प्रयोग गर्न सकिन्छ । अभियन्ता अमात्य यसमा सिकाइकै लागि बढी जोड दिइएको बताउनुहुन्छ ।
यसलाई हेरेर विशेष गरी सहरी क्षेत्र भएका पालिकाहरुले यस्तो शौचालय बनाउन सक्छन् । सफा शौचालय, प्रयोगमैत्री प्रविधि, वातावरणमैत्री संरचना अनि काम गर्नेहरुकै व्यवस्थापन, स्वयम्भूमा रहेको शौचालयका सिक्न लायक कुरा हुन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।