अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : कानूनी रूपमा अधिकार सुरक्षित, व्...
मंसिर १८, २०८१ मंगलबार
निजामती कर्मचारी भनेका स्थायी सरकार हुन् । राजनीतिक नेतृत्व आवधिक निर्वाचनबाट आउँछ । निश्चित समयसम्म शासन सत्ता सन्चालन गर्छ र फेरि चुनिएर अर्को पटक अर्को आउँछ, कहिलेकहीँ उही प्रतिनिधि आउने पनि हुन सक्छ ।
तर निजामती अर्थात प्रशासन संयन्त्र भनेको स्थायी किसिमको हो । सँधै स्थायी रुपमा बस्ने, स्थायी रुपमा काम गर्ने, स्थायी रुपमा नागरिकको सेवा गर्ने र नागरिकको पिरमर्का बुझ्ने संयन्त्र भएकाले राष्ट्रसेवकहरुको संयन्त्रलाई स्थायी सरकार भन्ने गरिएको हो ।
राजनीतिक दलको निर्वाचित सरकार होस् वा नहोस् यो चाहिँ सधैं रहिरहन्छ । यसले नियमित प्रकृतिका काम गरिरहन्छ ।
यसको उदेश्य भनेकै लोककल्याणकारी काम गर्ने हो । नागरिकलाई सहज रुपमा सरल तरिकाले जनचाहना अनुरुप सेवा पुर्याउनु नै निजामती कर्मचारीको काम हो । यसप्रति नागरिकको ठूलो अपेक्षा पनि छ । नागरिक र सरकारबीचको सम्बन्ध सेतुको काम गर्ने हुनाले निजामती सेवाको झनै ठूलो महत्व छ ।
पछिल्लो समयमा निजामती सेवाप्रति नागरिकको हेर्ने दृष्टिकोण सकारात्मक छैन भन्ने कुरो केही हदसम्म सहि हो । निजामति मात्रै होइन सुरक्षा संयन्त्रमा काम गर्ने तथा सबै राष्ट्रसेवक प्रति हेर्ने दृष्टिकोणमा केही नकारात्मक सन्देश गएकै हो । यति ठूलो संस्थामा सबै राम्रा हुन्छन् भन्ने छैन । केही कर्मचारीको काम गर्ने तौर तरिका, नागरिकलाई दिने सेवा तथा कर्मचारीमा आउने नकारात्मक अपेक्षाले गर्दा छवि केही धुमिलिन खोजेको पक्कै हो ।
अर्को कुरो भनेको सरकार स्थायी र बलियो नहुँदा र त्यसले प्रशासन संयन्त्रमा पनि फेरबदल ल्याइरहँदा कर्मचारीलाई काम गर्न पनि अप्ठेरो रहँदै आयो ।
राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र खराम काम गर्नेलाई दण्डित गर्ने व्यवस्था प्रभावकारी रुपमा लागू नहुँदा पनि कर्मचारीमा मनोपोली देखियो ।
आर्थिक र नैतिक रुपमा चुकेका, सेवा प्रवाहमा ढिलाई र नागरिकलाई झुलाई मात्र रहने प्रवृत्तिका केही कर्मचारीका कारण समग्र निजामती तथा राष्ट्रसेवकलाई हेर्ने दृष्टिकोण नै नकारात्मक अवस्थामा पुगेको हो कि भन्ने पनि रह्यो ।
तर यो भनिरहँदा सबै निजामती कर्मचारी वा राष्ट्रसेवक कर्मचारी खराब छन् भन्ने होइन । बरु केही खराब प्रवृत्तिका कर्मचारीका कारण संस्थाको गरिमामा केही धुमिल आउन खोजेको मात्र हो ।
निजामती सेवा ऐनले निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने आचरणको स्पष्ट रुपमा उल्लेख गरिदिएको छ ।
हाम्रो अहिलेको अवस्था कर्मचारीहरु विभिन्न संघसंगठन तथा कुनै राजनीतिक संगठनसँग आवद्ध हुने, निश्चित कर्मचारी राजनीतिक आवरणमा सम्पर्क बढाएर शक्तिकेन्द्रको नजिक हुने, आफ्नो जिम्मेवारी पूरा नगर्ने खालका पनि छन् ।
कतिपय अवस्थामा निर्वाचित प्रतिनिधि एवं मन्त्रीले चाहँदैमा ऐन नियम कानुनको बर्खिलाप हुन आउने काम कर्मचारीले गरिदिएन भने त्यसलाई राजनीतिक नेतृत्वले वा भनौँ जनप्रतिनिधिले असहयोगको रुपमा लिनुहुन्न ।
राजनीतिक संयन्त्रले कर्मचारीलाई काममा लगाउँदा त्यो काम नीतिगत छ कि छैन भन्ने बारेमा पहिला राजनीतिक संयन्त्र स्पष्ट भइदिए काम गर्न सहज हुन्छ । यदि साँच्चै राम्रो उद्धेश्यले काम गर्न थालिएको छ, तर कर्मचारी बाधक बन्छन भने त्यस्ता कर्मचारीलाई कारबाही गर्न सकिन्छ ।
हाम्रा काम गर्ने तौर तरिका तथा हाम्रा ऐन, नियम पनि नतिजामुखी होइन कि प्रकृयामुखी छ । कुनै काम गर्दा पहिला प्रकृया पुर्याउनु जरुरी हुन्छ । अहिले रहेको प्रकृयामुखी ऐन, कानुन सुधार गरेर नतिजामुखी बनाउनु जरुरी छ । कुनै पनि राष्ट्रसेवक कर्मचारीले चाहेर पनि सरकारको काममा असहयोग गरौं अथवा यो काम नगरौँ भन्छन् जस्तो मलाइ लाग्दैन ।
कतिपय अवस्थामा राजनीतिज्ञले नतिजा छिटो खोज्ने तर प्रकृया मिलाउँदा समय लाग्ने हुँदा सहयोग नगरेको हो कि भने जस्तो पर्न गएको हुन सक्छ । तर विकास निर्माणका काममा राष्ट्रसेवकहरुले पनि छिटो र नतिजामुखी काम नगरी अलिकति समय लगाउने अथवा व्यक्तिगत स्वार्थ जोडिने कतिपय अवस्था नरहला भन्न पनि सकिँदैन ।
तर त्यस्तो अवस्थामा सम्बन्धित निकायले काममा ढिलाई गर्नेलाई कारबाही गर्नु उपयुक्त रहन्छ । ढिलासुस्ती गर्ने, अटेर गर्ने र नीति नियम पालना नगर्ने कर्मचारीलाई कारबाही गरेर अघि बढ्दा नै निजामति संस्थाको गरिमा बढ्न जान्छ ।
हामी नागरिकको सेवक हौं । हाम्रो मुख्य ध्येय नै नागरिकलाई सेवा पुर्याउनु हो । हामीले लिएको सम्पूर्ण सेवा सुविधा भनेको नागरिकबाटै संकलित कर हो । त्यही भएर उहाँहरुको समस्या सुनिदिने, तत्कालै समस्या समाधानमा अग्रसरता भइदिने, सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्नु जरुरी छ ।
नागरिकलाई सेवा प्रवाह गर्न आएका हौँ भन्ने भावना हामीमा हुनु जरुरी छ । यसले हामी शासक पो हौं कि भन्ने भान हट्छ र नागरिकलाई पनि यिनीहरु शासक होइन रहेछन् हाम्रै सेवक रहेछन् भन्ने विश्वास हुन्छ ।
नागरिकले विगतमा पनि निजामती कर्मचारीहरु हाम्रै सेवक हुन भनेर सम्मान गर्थे । आज पनि नागरिकको उत्तिकै विश्वास र भरोसा छ । हामीभित्र रहेका केही कर्मचारीले खराब गरेको भरमै सबै कर्मचारीलाई एउटै बास्केटमा हालेर सबै खराब छन् भन्ने मूल्यांकन गर्नुहुँदैन । नागरिक प्रति उत्तरदायी बनौँ, सेवा प्रवाहमा अत्यन्त सचेत बनेर अगाडि बढौँ यसलाई नागरिकले पनि साथ दिनुका साथै सकारात्मक लिन्छन् ।
अब हामीलाई चाहिएको भनेको सुधारिएको निजामती सेवा हो । अर्थात नागरिकको हितमा काम गर्ने निजामति सेवा चाहिएको हो । परम्परागत सोचबाट माथि उठ्दै हामी नागरिकमा प्रवाह गर्ने सेवा चुस्त बनाउनतर्फ ध्यान दिनु जरुरी छ ।
सेवा चुस्त बनाउन अब डिजिटल सेवा अर्थात अनलाईन सिस्टमलाई प्रोत्साहन गर्नु जरुरी छ । यस्तै नागरिकले सेवा सुविधा पाए नपाएका बारेमा गुनासा सुन्न सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम गर्नु उपयुक्त हुन्छ । अर्को हरेक कार्यालयमा नागरिक वडा पत्र राखेर त्यसअनुसार काम गर्नुपर्ने कुरालाई प्रोत्साहन गर्नुपर्छ । सेवालाई सूचना प्रविधिमा आधारित बनाउँदै यस्ता काम राम्रोसँग भए नभएको बारेमा अनुगमन संयन्त्र बनाएर चुस्त सेवा प्रवाहमा अग्रसर हुनु पर्छ ।
अब सम्पूर्ण सेवा प्रवाह स्थानीय तहबाटै हुन्छ । नागरिकलाई सेवा प्रवाह गर्ने दायित्व अब कर्मचारीमा मात्रै निहीत छैन । जनप्रतिनिधिको दायित्व पनि उत्तिकै छ ।
त्यसैले जनप्रतिनिधिले जति राम्रो काम गर्नुहुन्छ, कर्मचारी आफै पनि राम्रो काम गर्न बाध्य बन्छन् । नागरिकलाई चुस्त सेवा दिने सवालमा नागरिकका प्रतिनिधि जिम्मेवार हुनु जरुरी छ ।
अहिले निजामती सेवामा झण्डै ९० हजार कर्मचारी कार्यरत छन् । केही दिनअघि मात्रै सरकारले यसमध्येबाट उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्यो । तर ९० हजार भित्रबाट सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न भने सकिएन । गत वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भनेर घोषणा गरिएन यो वर्ष पनि गर्न सकिएन । कर्मचारीलाई हौसला प्रदान गर्ने सवालमा, राम्रो र नतिजामुखि काम गर्नुपर्छ र यस्तो काम गर्दा पुरस्कृत भइन्छ भन्ने सन्देश दिन पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्नुपर्ने थियो । तर हुन सकेन ।
उत्कृष्ट कर्मचारी छनौट गर्दा हामी शहर केन्द्रीत मात्रै भयौँ । दूरदराजमा कर्मचारीले कसरी काम गरिरहेका छन् भन्ने बारेमा केन्द्रमा जानकारी पर्याप्त आउने संयन्त्र नै हामीसँग छैन ।
कतिपय अवस्थामा सर्वोत्कृष्ट पाउन दावी गर्ने हकदार पनि धेरै हुनु र छनौट गर्ने समितिले पनि जोखिम लिन नचाहनुले यस वर्ष पनि सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी छनौट गर्न नसकिएको हो कि जस्तो लाग्छ मलाई । निजामती कर्मचारीका लागि यो पुरस्कार पाउनु सबैभन्दा राम्रो अवसर हो ।
सर्वोत्कृष्ट कर्मचारी छानेर घोषणा गरिदिएको भए त्यसले निजामति कर्मचारीमा अत्यन्तै राम्रो सन्देस जाने थियो । यो हुन नसक्दा निजामति सेवामा योग्य कर्मचारी नै रहेनछन् कि भन्ने सन्देश बाहिर गएको छ ।
पुरस्कृत गर्न सकेको भए राम्रो काम गर्ने मान्छेको मूल्यांकन हुन्छ भन्ने सन्देश जान्थ्यो । पछिका दिनमा पनि त्यसबाट अरुलाई प्रेरणा लिने बाटो खुल्थ्यो । अहिले पनि पेशा प्रति अत्यन्तै इमान्दार, आर्थिक तथा नैतिक रुपमा इमान्दार र व्यवसायिक कर्मचारी धेरै छन् ।
हुन त २०६१ सालदेखि हामीले निजामती सेवा दिवस मनाउँदै आएका छौँ । यो १४ वर्षको अवधिमा जम्मा ४ जनाले मात्र सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार पाएको इतिहास हो हाम्रो । मैले सर्वोत्कृष्ट पुरस्कार पाउनु अघि लगातार दुई वर्ष घोषणा हुन सकेको थिएन । मपछि पनि अहिले लगातार दुई वर्षदेखि यो पुरस्कार घोषणा हुन सकेको छैन ।
अहिले पनि निजामती सेवामा अत्यन्तै सक्षम, अत्यन्त इमान्दार, अत्यन्त राम्रा कर्मचारी प्रसस्त छन् । तर उनीहरुको कामको योगदान निर्णयकर्ता माझ आइनपुगेको पनि हुन सक्छ ।
हुन त दूधले नुहाएको को नै हुन्छ र ? राम राज्य संसारमा कहीँ पनि छैन । व्यक्तिमा कुनै न कुनै सामान्य कमिकमजोरी त हुन्छन् नै । केही पनि नभएको व्यक्ति हुन्छन् भन्ने जस्तो मलाई लाग्दैन । भएकामध्येबाट राम्रो छान्ने हो । भएकामध्येबाट छानिएका र बाँकी रहेकासँग तुलना गर्दाखेरी त्यो मान्छे राम्रो देखिए त्यसलाई नेगेटिभ लिनु पर्छ जस्तो मलाई लाग्दैन ।
समृद्धि र सुशासनका लागि काम गर्ने नै प्रशासन हो । राजनीतिज्ञले सपना देख्ने हो । त्यो सपनालाई सफलिभूत पार्ने कार्म प्रशासनको हो । नीति राजनीतिज्ञले बनाउँछ, त्यसको कार्यान्वयन मात्रै प्रशासनले गर्छ । प्रशासन संयन्त्र सक्षम, गतिशील, तथा नागरिकप्रति उत्तरदायी भएर अगाडि बढ्नु पर्छ । बढिरहेको पनि छ । निरन्तर हामी अघि बढ्दै गयौँ भने हामी समृद्धिको मार्गमा सजिलै अगाडि बढ्न सक्छौँ ।
अहिले हामी केही संक्रमणीय अवस्थामा छौँ । संघीयतामा हामी भर्खरै रुपान्तरण भएका छौँ । कर्मचारीहरुको समायोजनको कुरा छ । केन्द्र, प्रदेश र स्थानीय तहमा छिटो भन्दा छिटो कर्मचारीको व्यवस्थापन टुग्याउनु जरुरी छ ।
यो मेकानिजमलाई सक्षम र सबल बनाउनलाई राजनीतिज्ञले विश्वास गर्ने र प्रशासन संयन्त्रले राजनीतिज्ञलाई सहयोग गर्ने हुनुपर्छ । राजनीतिज्ञ र प्रशासनबीचको अन्तरसम्बन्ध बलियो हुनुपर्छ । त्यो सम्बन्ध भनेको व्यवसायीक, दक्षतापूर्ण हुनु पर्छ । यस्तो हुन सक्यो भने अवश्य नै हामी समृद्धिको मार्गमा अगाडि बढ्छौँ ।
(२०७३ सालमा सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारबाट सम्मानित हुनुभएका पूर्व अर्थ सचिव शान्तराज सुवेदीसँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
शान्तराज सुवेदी नेपाल सरकारका पूर्व अर्थसचिव हुनुहुन्छ ।