अमेरिकी डेमाेक्र्याटिक पार्टीका सांसदहरूकाे समूह शुक्रवार नेपाल आउँदै

 वैशाख ६, २०७९ मंगलबार १४:१३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी, सिनेटर मार्क केली

काठमाण्डाै – अमेरिकाकाे सत्तारुढ डेमाेक्र्याटिक पार्टीका सांसदहरूको एक समूह यही वैशाख ९ गते आउँदाे शुक्रवार नेपाल आउने भएको छ । 

अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउनुहुने भएको हो । उहाँहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै हुनुहुन्छ । उहाँहरू विभिन्न देशको भ्रमण गर्ने क्रममा नेपाल पनि आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । 

नेपालसँगै उहाँहरूले पोल्यान्ड, यूएई, भारत र जर्मनीको नाै दिने भ्रमण गर्नुहुनेछ । नेपाल भ्रमणका बेला द्विपक्षीय कुटनीतिक सम्बन्ध र दुई देशका संसदबीचको सम्बन्धका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । 

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अरू विशेष भ्रमणको उद्देश्यबारे पुष्टि नभए पनि रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनको पक्षमा समर्थन जुटाउन उहाँहरू विभिन्न देशकाे भ्रमणमा निस्कन लाग्नुभएको बुझिएको छ । याे समूह वैशाख ११ गते आइतवार नेपालबाट फर्किनेछ । 

यसअघि अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाण्डाै आउँदा सिनेटर केली पनि सँगै आउनुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया