हराउँदै गए हातले गाँसेका दुनाटपरी

 मंसिर १९, २०७९ सोमबार १३:२५:४१ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँसेका दुनाटपरी हराउँदै जान लागेका छन् । 

मेसिनबाट बनेका दुनाटपरी  तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमीका कारणले पनि यसको प्रयोग हराउँदै गएको हो । 

धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका भाँडाको प्रयोग बढ्न थालेपछि पाका पुस्ता चिन्तित हुन थालेका छन् ।

पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन रही आएको छ । पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै जिल्ला सहर, बजारमा मात्र नभइ गाउँ घरबाटै हराउँदै जाँदा चिन्ता लागेको कावासोती–११ का ७५ वर्षीय फेमनारायण पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, 'गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो । आफ्नै घरपरिवार तथा समाजले दुनाटपरी गाँसिन्थ्यो । अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत दुनाटपरी हराउने अवस्थामा पुगेको छ ।'

उमेरले ८२ वर्ष पुग्नुुभएकी देवचुली–१५ की हरिमायाँ भट्टराई विवाह, पूजाआजामा समेत गाउँलेले वनमा गएर सालको पात टिपेर ल्याएर दुनाटपरी गाँसेर प्रयोग हुने गरे पनि अहिले युवापुस्ताले चासो नदिँदा बिस्तारै दुनाटपरी हराउँदै गएको बताउनुहुन्छ । चाडपर्वमा घरमा आउने  पाहुना तथा आफन्तलाई सालको पातको दुनाटपरीमा खानाका परिकार राखेर दिने गरे पनि अहिले आफ्नो पुस्ताले नसक्ने र युवापुस्ताले बेवास्ता गर्दा यस्ता सामग्री हराउन थालेको उहाँको गुनासोे छ । 

कावासोती–१२ की ९२ वर्षीया मनरुपा चापागाईँलाई पनि दुनाटपरी हराउँदै जान लागेपछि चिन्ता लागेको छ । 'पहिला पहिला सालको पात टिपेर ल्याए। बाँसको सिन्काले सालको पातको दुनाटपरी गाँसिन्थ्यो, त्यतिबेला अहिलेको जसरी प्लास्टिकका भाँडा पनि हुँदैन थियो, पूजाआजामा प्रसाद यसैमा राखेर खाइन्थ्यो, बाँडिन्थ्यो, आजकल मेसिनबाट बनेका दुनाटपरी र प्लास्टिकका भाँडाको प्रयोग बढ्न लाग्यो हामी पछिकाले त दुनाटपरीनै नदेख्ने हुन कि भन्ने पिर लाग्छ', उहाँले भन्नुभयो ।

केही समय पहिले सहर बजारमा समेत दुनाटपरीको प्रयोग बढ्दो थियो । पहिले दुनाटपरी बनाएर पुर्याउने गरिएको भए पनि आजकल गाउँघरमा समेत हातले बुनेका दुनाटपरी हराउँदै गएको १२ वर्षदेखि कर्मकाण्ड गराउँदै आउनुभएका पण्डित रिमप्रसाद आचार्य बताउनुहुन्छ । दशैँ, तिहारलगायतका चाडपर्व, विवाह व्रतबन्ध विभिन्न पूजामा समेत मेसिनले बुनेका दुनाटपरी  र प्लास्टिकका भाडाको प्रयोग बढेको पण्डित आचार्य बताउनुहुन्छ । उहाँले भन्नुभयो  'नयाँ पुस्तालाई पनि पात गाँस्न सिकाउनुपर्छ । '

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया