एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

 मंसिर १९, २०७९ सोमबार १६:३१:३७ | रासस
unn.prixa.net

पर्वत – वनको माझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाइ हुने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरूका लागि बनाइएका डेस्क–बेन्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरू कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ ।  

पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय विसं २०४० मा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । 

विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै हुनुहुन्छ । विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो ।  त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गएको वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै हुनुभएको हो । 

‘गत वर्षसम्म १०/१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उहाँले भन्नुभयो, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’ 

विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाउनुभयो । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो  चाहना रहेको उहाँले सुनाउनुभयो । विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरू एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । 

विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीयवासी शेरबहादुर केसीले भन्नुभयो, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’

गाउँपालिकाले अरू विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ । ‘एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट वञ्चित हुनु हुँदैन’, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भन्नुभयो, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया