झापाकाे चारआलीमा मृत भेटिएका दम्पतीको पहिचान खुल्याे

 पुष ५, २०७९ मंगलबार १०:८:३८ | रासस
unn.prixa.net

झापा - झापाको मेचीनगरमा रहेकाे चारआली जङ्गलमा भेटिएका दम्पतीकाे शवको पहिचान खुलेको छ । शव अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उहाँकै श्रीमती सन्जुकाे रहेको प्रहरीले पुष्टि गरेको हो ।

लिम्बू दम्पतीको कुहिन लागेको शव हिजाे सोमवार दिउँसो भेटिएको थियो । दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार इङ्नामकाे  शव झुन्डिएको र सञ्जुकाे शव भुइँमा लडेको अवस्थामा भेटिएकाे थियाे। शवको प्रकृति हेर्दा करिब १० दिनअघि ज्यान गएकाे हुनसक्ने उहाँकाे अनुमान छ। प्रहरीले घटनास्थलबाट एउटा दाउ, दुई जोर चप्पल, डाेरी फेला पारेको छ । 

सोमवार दिउँसो साढे २ बजे जङ्गलभित्र घाँस, दाउरा टिप्न गएका स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रनाउ महतोका नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । लिम्बू दम्पती करिब १० दिनदेखि डेराबाट बेपत्ता रहेका जनाइएको छ । उनीहरु मेचीनगर–१२ मा डेरा बस्दै आएका थिए । नेत्रकुमारले सन्जुसँग दोस्रो विवाह गरेका थिए । सम्बन्धविच्छेद भइसकेको नेत्रकुमारको पहिलाको श्रीमतीपट्टि सन्तान रहेको जनाइएको छ । 

नेत्रकुमारको घाँटीमा डोरी भेटिएकाले उनले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । 'घटनास्थलमा हतियार भेटिएकाले हत्यापछि आत्महत्याको आशङ्का गरिएको हो', उहाँले भन्नुभयोे, 'शव परीक्षण रिपोर्टले मात्र यसको पुष्टि हुनसक्छ ।'

घटनास्थलमा भेटिएको दाउ नेत्रकुमारले घरबेटीको घरबाट मागेका थिए । दुवै शवको कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि हिजाे बेलुका धरान घोपा पठाइएको प्रवक्ता पाठकले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया