टुकी बालेर पढाउन सुरु गरेकाे नारायणी नमुना माध्यमिक विद्यालय देशकै उत्कृष्ट

 पुष १५, २०७९ शुक्रबार १६:६:५६ | रासस
unn.prixa.net

चितवन - साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ ।    अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा रहेकाे यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ  ।

२०२० साल जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३ दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो ।

हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाई स्कुल’ नाम राखेर यो विद्यालय स्थापना गरिएको हो । दिनभर कामले व्यस्त उमेर छिप्पिएका युवायुवतीहरूले बेलुका ५ देखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए । उहाँले भन्नुभयो, 'बिजुलीबत्तीको अभावमा लालटिन, मइन्टोल र टुकीबत्ती बालेर पढ्नुपर्ने अवस्था थियो ।'

त्यसबेला प्रौढ वा युवा अवस्थाका विद्यार्थीको पठनपाठनको नतिजा शून्य नै  थियो । रात्रिकालीन समयमा सोचेजस्तो नतिजा नआएपछि २०३७ सालमा विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गरियो । बिहानी सत्रमा विद्यालय सञ्चालन गरे पछि २०३८ सालमा पनि विद्यालयको प्रवेशिका परीक्षा शून्य प्रतिशत नै भयो । बिहानी सत्रबाट २०४५ सालमा बिहान १० देखि बेलुका ४ बजेसम्म पठनपाठन सुरु भयो ।

सञ्चालन शैलीमा केही परिवर्तन भएकाले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको प्रचार्य दवाडीले बताउनु भयाे । २०४९ सालदेखि यस विद्यालयलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सामूहिक प्रयत्न र पहल भएको थियो  । बिहान ९ बजेर ५० मिनेटदेखि बेलुका ४ बजेर ३० मिनेटसम्म पढाउने, अतिरिक्त अङ्ग्रेजी/गणित पढाउने, प्रवेश परीक्षा लिने, उत्तीर्ण अङ्क ४० गर्ने, शिक्षकलाई अध्यापनमा प्रतिबद्ध गराउने, नतिजाको विश्लेषण गरी सार्वजनिक गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायत योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठ योजना आदिको व्यवस्था गर्दै २०५७ सालमा आइपुग्दा जिल्लाकै प्रथम विद्यालयका रुपमा आउन सफल भएको तत्कालीन प्रअ टेकबहादुर थापाले बताउनुभयो । 

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, '०५७ सालदेखि अहिलेसम्म यो विद्यालय जिल्लाको उत्कष्ट स्थानमै छ र २०६८ सालदेखि राष्ट्रिय मूल्याङ्कनमा समेत विद्यालय उत्कृष्ट हुँदै आएको छ ।'

२०६८ सालमा मध्यमाञ्चल आठौँ, २०६९ सालमा रष्ट्रिय पाँचौँ, २०७० राष्ट्रिय छैटौँ, २०७१ मा राष्ट्रिय २१औँ,  २०७२ मा राष्ट्रिय दोस्रो तथा मध्यमाञ्चल प्रथम, २०७३ मा राष्ट्रिय दोस्रो तथा ३ नं प्रदेशको प्रथम र २०७४ मा राष्ट्रिय चौथोका साथै २०७५ को कक्षा १२ को परीक्षामा ३ नं प्रदेशको प्रथम हुन यो विद्यालय सफल भएको उहाँले बताउनु भयाे । 

२०७८ सालको कक्षा १० को एसईई परीक्षामा सर्वाधिक जीपीए (तीन दशमलव छ भन्दा माथि चार जीपीएसम्म) ल्याउने ९३ विद्यार्थी यसै विद्यालयका थिए भने एकजनाले चार जीपीए प्राप्त गरेका थिए ।

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डीआईटी, प्री–डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ । अहले दृष्टिविहीन र बौद्धिक अपाङ्गता भएका गरी दुवै अपाङ्ग एकाइसमेत सञ्चालित छन् । दृष्टिविहीन ३२ र आवासीय ३४ जना बौद्धिक अपाङ्ग डे–बोडर्सका रुपमा अध्ययनरत छन् ।
 
भौतिक व्यवस्थापनमा विद्यालय सबल छ । हरियाली, फूलबारी, सरसफाइलगायतमा विद्यालयले निकै ध्यान दिइएको पाइन्छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमुना महानगरका रुपमा विकास गर्ने काममा यो विद्यालय कोसेढुङ्गा साबित भएको बताउनुभयो । यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतका कारण विद्यालय उत्कृष्ट बनेको भन्दै उहाँले थप गुणस्तर विकासमा जुट्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया