विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
हुम्ला – हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गराउन ल्याइएको सुधारिएको चुलो नौ महिनादेखि बेवारिसे हुँदै आएको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै तीन सय ५७ थान सुधारिएको चुलोमध्ये एक सय १७ थान नौ महिनादेखि बेवारिसेरूपमा राखिएको हो ।
गएको वैशाखमा सल्लिसल्लाबाट खच्चरमा ढुवानी गरी नल्ला पुल नजिकै ल्याएर अहिलेसम्म बेवारिसे छोडिएको सिमकोट गाउँपालिकाकी सदस्य जसमती शाहीले जानकारी दिनुभयो ।
दुई सय सय ४० थान चुलो ट्र्याक्टरबाट सदरमुकाम सिमकोटमा लगिएकोमा एक सय १७ थान चुलो भने खार्पुनाथमै बेवारिसे छोडिएको छ । ट्र्याक्टरबाट सिमकोट पुर्याइएको भाडा सम्बन्धित निकायले नदिएपछि दुई सय ४० वटा चुलो ट्र्याक्टर मालिक कूल रावतको घरमा थन्क्याइएको बताइएको छ ।
आफ्नो घरमा सुरक्षित राख्दाको घरभाडा नपाएको उहाँले गुनासो गर्नुभयो । ती चुलो नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत लक्षित वर्गलाई वितरणका लागि भनी लेखिएको छ । गाउँपालिकाको कुन वडाले उक्त चुलो खरिद गरेको भन्ने पहिचानसमेत हुन सकेको छैन ।
बेवारिसे छोडिएको चुलो घामपानीका कारण खिया लागेका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक रणबहादुुर थापाले गएको आर्थिक वर्ष २०७७÷७८ मा सिमकोट गाउँपालिकाका लागि छनोट भएका घरधुरीका लागि बोलपत्रद्वारा कम्पनी छनोट गरी ती चुलो खरिद गरिएको बताउनुभयो । सिमकोटसम्म पुर्याउन जिम्मा लिएको कम्पनीले लक्षित वर्गलाई ती चुलो वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
एउटा चुलो आठ हजार पाँच सय रुपैयाँमा खरिद भएको बताइएको छ । एक हजार एक सय १६ घरधुरीका लागि चुलो वितरणको जिम्मा गाल्भा निर्माण सेवा कम्पनीले लिएको तथ्य फेला परे पनि बाँकी सात सय ५९ चुलोको अत्तोपत्तो छैन ।
चौरानब्बे लाख ९४ हजार पाँच सय रुपैयाँ लगानी गरी खरिद गरिएको चुलो अलपत्र अवस्थामा छन् । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यस विषमा आफूलाई थाहा नभएको तर फाइल खोज्ने क्रममा ती चुलो वितरण कार्य सम्पन्न भइसकेको थाहा पाएको बताउनुभयो ।
दुई वर्षअघि नै पाइसक्नुपर्ने चुलो अझैसम्म कसैले पनि नपाएको देखिएको उहाँले जानकारी दिनुभयो । खरिद तथा ढुवानीको जिम्मा पाएको संस्थाका प्रतिनिधि कृष्ण केसीले भौगोलिक विकटता र हिमपातका कारण सबै चुलो हुम्लामा पुर्याउन नपाएको उल्लेख गर्दै थप कुरा गाउँपालिकाको कार्यालयमा गएर बुझ्न आग्रह गर्नुभयो ।
अब यस विषयमा छानबिन गरिने सिमकोट गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।