दम्पती नै दुर्घटनामा, हेमजा शोकमा

 माघ १, २०७९ आइतबार १९:५०:२६ | रासस
unn.prixa.net

कास्की – पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गर्नुभएका राजन ।

अमेरिकाबाट शनिवार काठमाण्डाै झर्नुभएका सापकोटालाई लिन उहाँकी श्रीमती आशिका हिजो नै काठमाण्डाै पुग्नुभएको थियो । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै  हुनुहुन्थ्यो । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा पर्नुभयो । 

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बन्नुभएको छ । उहाँका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डीभी परेर दुई वर्षअघि मात्र अमेरिका जानुभएका सापकोटा गएकाे वर्ष बिहे गर्नका लागि पोखरा आउनुभएको थियो । गएकाे वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आउनुभएको हो । उहाँका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवम् बिहेको एक वर्षपछिको उत्सव (ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आउनुभएको हो ।

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छाैँ’, उहाँले भन्नुभयो । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उहाँकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा पर्नुभएको छ । घरायसी कामकाजको सिलसिलामा काठमाण्डाै जानुभएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाउनुभएको थियो । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया