सोमवारको बिदा : उटपट्याङ दिमागको उपज

 माघ २, २०७९ सोमबार १६:१५:३६ | मिलन तिमिल्सिना
unn.prixa.net

आइतवार पोखरामा यति एअरलाइन्सको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री र गृहमन्त्री हतारिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । उद्धारको काम के भइरहेको छ भनेर जानकारी लिए । पोखरा पुगेर आफैँ हेर्न पाए हुन्थ्योझैँ गरेर जाने तयारी गरे । तर उद्धारको काममा खटिएका सुरक्षाकर्मीलाई भीआईपीको सुरक्षा र सम्मानमा फुर्सद निकाल्ने समय हुँदैन भन्ने बुद्धि फिरेपछि नजाने निधो गरे । त्यसपछि हतारहतार मन्त्रिपरिषद्को बैठक बस्यो र जहाज दुर्घटनाको शोकमा साेमवार सार्वजनिक बिदा दिने र जाँचबुझ आयोग गठन गर्ने निर्णय भयो । यति ठूलो दुर्घटना हुँदा प्रधानमन्त्री र मन्त्रीहरूको यतिसम्मको चासो र सक्रियता त जायज हो । तर शोक मनाउनु सही भए पनि सार्वजनिक बिदा दिनु सरासर गलत थियो र छ । लोक रिझाउन र केही गरेको देखाउन निर्देशनमाथि निर्देशन दिन बानी परेका मन्त्री र प्रधानमन्त्रीले गरेको यो सस्तो र सजिलो तर उटपट्याङ र आवेगको हद हो ।

हतारहतार सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आमनागरिकको आक्रोश पोखिनु धेरै कारणले सही र जायज छ । पहिलो कुरा त शनिवार र आइतवार लगातार सार्वजनिक बिदा हुँदा राहदानी, नागरिकताका जस्ता काम रोकिएका थिए । सरकारी कार्यालयबाट नियमित र अपर्झट सेवा लिनुपर्नेहरूले सास्ती खेपेको दुई दिन भइसकेको थियो । बैंकहरू बन्द भएर दुई दिनमा खर्ब हाराहारीको कारोबार ठप्प थियो । सोमवार कार्यालय खुल्छ र दुई दिनको बिदामा अड्किएका काम हुन्छ भन्ने आशमा बसेकाहरूको कुर्ने खर्च अरू बढ्यो । अस्पतालका शल्यक्रियाहरू रोकिए । सेवा लिने र दिनेहरूको काम चौपट भयो । अर्थतन्त्र खस्किएको बेलामा एक दिनको सार्वजनिक बिदाले झन् कतिसम्म नोक्सानी हुन्छ भन्ने कुरामा न अर्थमन्त्रीले सोचे, न त सञ्चारकर्मी हुँदा सार्वजनिक बिदाको औचित्यमा प्रश्न गर्ने गृहमन्त्रीले । सबै मिलेर शोकका नाममा एउटा हचुवा निर्णय गरेर सरकारका सबै अङ्ग मख्ख परे । 

यो बिदाले धेरै प्रश्न जन्माएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, भविष्यमा यस्तै खालका साना–ठूला हवाई वा स्थलमार्गमा दुर्घटना भएमा सार्वजनिक बिदा दिने कि नदिने भन्ने प्रश्न उठेको छ । प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको छ महिनामा भएका गाडी दुर्घटनामा सात सय जनाभन्दा धेरै नागरिकको ज्यान गएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा मात्रै गाडी दुर्घटनामा परेर दुई हजार जनाभन्दा धेरै नेपालीको प्राण गएको थियो । आर्थिक वर्ष २०७२/०७३ देखि अहिलेसम्म सडक दुर्घटनामा परेर झन्डै १३ हजार जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ । 

अकाल मृत्युका यी डरलाग्दा तथ्याङ्क पछि दुर्घटना रोकथाम गर्ने सरकारी नीति र योजना पनि बने तर ती नीति र योजना कागजमै सीमित छन् । कागजमा ठिक्क पारेका नीति र योजना कार्यान्वयन गर्न कसैले जाँगर चलाउँदैन । त्यसैले हवाई र सडक दुर्घटना भविष्यमा निरन्तर भइरहने छन् भन्ने त घामजत्तिकै प्रष्ट छ । त्यसैले प्रश्न उब्जेकाे छ, यो बिदाको औचित्य के हो ? के भविष्यमा हवाई दुर्घटना हुँदा यसैगरी शोक बिदा दिने हो ? हवाई दुर्घटना हुँदा बिदा दिने हो भने सडक दुर्घटना हुँदा किन बिदा नदिने ? कि सडकमा ज्यान गुमाउनेहरूको हैसियत हवाई दुर्घटनामा पर्नेकोभन्दा फरक हो ? 

नेपालको आन्तरिक उडानमा आइतवार भएको जहाज दुर्घटनाले मृतक र आफन्तमात्र हाेइन, हरेक नेपालीको मन शोकले ग्रस्त छ । तर शोक र समवेदनाका नाममा सरकारले दिएको बिदा बिदाको दुरुपयोगमात्रै हो । यो बिदाले सरकार तर्क, विवेक र तथ्यका आधारमा हाेइन, उन्माद, आवेग र उटपट्याङ्गका आधारमा चल्दैछ भन्ने मात्र प्रमाणित गर्छ । 

दुर्घटनाप्रति सरकार साँच्चै संवेदनशील थियो भने दुर्घटना हुनेबित्तिकै यतिका सबै उडान रोकेर छानबिनको प्रक्रिया सुरु गर्नुपर्थ्याे । यति एअरकै जहाज असुरक्षित भएको भन्दै वर्षाैँअघि नेपालको राष्ट्र सङ्घीय कार्यालयले आफ्ना कर्मचारीलाई जहाजमा यात्रा गर्न रोक लगाएको थियो । त्यसमाथि उड्डयन प्राधिकरण र विमान कम्पनीहरूको साँठगाँठका कारण दुर्घटना बढेका आशङ्का पनि बाक्लै चल्ने गरेका छन् । भविष्यमा दुर्घटना रोकथाम गर्न जहाज कम्पनी र उड्डयन प्रधिकरणको भूमिका र योगदानको छानबिन गर्न सरकारले तटस्थ र विश्वसनीय विशेषज्ञ नियुक्त गर्न सक्थ्यो । तर सरकारले अहिले त्यही गरेको छ जुन पहिले पहिलेका सरकारले गर्थे । जाँचबुझ आयोग गठन गर्ने तथा उडानअघि प्राविधिक परीक्षण गर्न विमान कम्पनीहरूलाई निर्देशन दिने निर्णय गरेर सरकारले कर्मकाण्डमात्र पूरा गरेको छ । यो बिदा सरकारले गरेको कर्मकाण्डलाई ढाकछोप गर्ने फाटेको कम्बलमात्रै हो । यो बिदाले त राजनीति गर्नेहरूको राजनीतिक विवेक, अर्थतन्त्रप्रतिको संवेदनशीलता र दिनदिनै दुःख गरी खाने नागरिकका दुःखप्रति गैरजिम्मेवारीलाई मात्र उजागर गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Rita Sharma

    Jan. 16, 2023, 7:05 p.m.

    Bida dinu aagami dinmaa hunasakne durghatanaa laai rokne kunai samyantra hoina. Yo ta kebal yeuta dekhaaune daat Matra vanejasto ho. Government le sakxa vane udaan hunupurba harek jahaaj KO parts proactive xa xaina, Kati puraano ho check garne Ra jahaaj kinbechmaa bargening ani ghus khaana khojnelai khoji khoji kaarbaahiko daayeraa maa lyaaunuparxa Ra yesto ghusyaahaa company laai banda garaaunu parxa. Haami janta katidin dar, trasmaa Yatra garne???

  •  0 Reply

तपाईको प्रतिक्रिया