चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता

 माघ ९, २०७९ सोमबार १२:४६:१९ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ ।  यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो ।

निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्तर्गत रहेका चोरी शिकारी नियन्त्रण इकाईलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको छ ।  

उहाँले भन्नुभयो, 'चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाईलाई सक्रिय बनाइएको छ ।' निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ । गैँडा संरक्षणसँग आबद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउँदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

गैँडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र त्यस क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैँडा मरेका छन् । जसमध्ये ८ गैँडा कालगतिले मरेका हुन् भने दुईवटा चोरी शिकारीले मारेका छन् । एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिनुभयो ।

गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ । निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोष्ट छन् । ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन् । निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ । तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ । तस्करले गैँडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उहाँले बताउनुभयो ।

सशस्त्रद्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । पछिल्ला वर्षमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । पुनः तस्करी सुरु भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा छन्,  जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन्।  

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया