इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँको जीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् ।
उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताउनुभयो ।
‘नागरिकता बनाउन छिटपुटरुपमा सेवाग्राही आएकै छन् । चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ,’ उहाँले भन्नुभयो, ‘चिसोबाट बच्ने उपायबारे पनि स्थानीयलाई सूचना गरिएको छ ।’ हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको प्रजिअ केसरीले जनाउनुभयो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले भारी हिमपातका कठ्याङ्ग्रिने चिसो बढेको बताउनुभयो । ‘हुम्लाको आजको तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ । चिसो निकै बढेकाले हामी प्रशासनमा आगो बालेर बसेका छौँ तर सेवाग्राही एकजना पनि आएका छैनन् । हिमपातकै कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको निमित्त प्रजिअ सुवेदी जनाउनुभयो ।
चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् । हिउँ पर्दा भने किसान हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसान भने पहिलोपटक हिउँ परेपछि खुसी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताउनुभयो ।
हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस र माघमा हिमपात हुनुपर्ने यहाँका किसान बताउँछन् । चन्दननाथ नगरपालिका–३ जुम्लाका मन्नु बुढ्थापाले हिमपातले बढेको चिसोका कारण स्थानीयलाई हिँडडुल गर्न र पशु चौपायालाई दाना पानी दिन भने समस्या भए पनि अन्नबालीका लागि राम्रो भएको जानकारी दिनुभयो । हिमपातले गहुँ, जहुँ बाली सप्रिने र स्याउका बिरुवालाई फाइदा हुने बुढ्थापाले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भोलिसम्म हिमपातको सम्भावना रहेको सूचनाबमोजिम यहाँका नागरिकलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।